Header Ads

औ दार्जीलिङ! - नेपाली कविता


बेमौसम परेको झरीले
शहरका खाल्डाखुल्डीहरू भरिन्छन्
अनि पर्यटक बोकेर वेगसँग आएको रातो बोलेरोले

तिम्रो इन्द्रेणी रङ्गको पछ्यौरीमा छ्यापिराखेर जान्छ मैला पानी।
भन त, तिमीलाई सिकसिक लाग्दैन?

तिम्रै आँगनमा 
कञ्चनजङ्गाको क्यानभस टाँगेर 
केही भद्दा चित्रकारहरूले बनाइरहेका छन 
तिम्रो अश्लिल चित्रकला। 
औ दार्जीलिङ! 
भन त! तिमीलाई दिकमिक लाग्दैन?

महाकाल डाँडाको सिँढीहरूलाई बाडिने 
रेज्गी पैसा हो तिम्रो स्वाभिमान?
कि मालरोडको तुवाँलोभित्र साटिने 
नयाँ मायालुहरूको सस्तो चुम्बन हो तिम्रो गौरव?

तिमीलाई फूर्सत छ भने 
टाइगर हिलको कलिलो घामसँग आँखा जुधाउनू एकपल्ट
अथवा सिञ्चेल लेकको पानीमा हेर्नू 
आफ्नै कुरूप अनुहारको छाँया।
चौरस्ताको व्यस्त भीडबाट एकछिन एकलिनू 
र सुनीहेर्नू सानो रेलको कर्कश चिच्याहट। 

औ दार्जीलिङ! 
ढकमक्क सयपत्री र गुराँस फुलेको गुन्द्रीबजारको आँगनमा
इतिहासले खिँचेको बैँशालु ग्रुपफोटो हेर्ने मन छ तिमीलाई? 


(चित्र साभारः हरीश सुब्बा)
Powered by Blogger.