महाकवि लक्ष्मी प्रसाद देवकोटाको 106औं जन्म जयन्ति
गान्तोक : महाकवि लक्ष्मी प्रसाद देवकोटाको 106औं जन्म जयन्ति राजधानी गान्तोकमा भव्यताको साथमा पालन गरियो। विचार कला संगमद्वारा आयोजन गरिेको कार्यक्रममा मुख्य अतिथिको रूपमा सिक्किमका चर्चित कवि सर्जक डॉ. राजेन्द्र भण्डारी रहेका थिए भने अध्यक्षताको पदभार नेपाली साहित्यमा पद्मश्री पुरस्कारले सम्मानित भइसकेका कथाकार तथा जण्डा गीतकार सानु लामा रहेका थिए। विशिष्ठ अतिथिको रूपमा वरिष्ठ कलाकार तथा वास्तुकार किरण रसाइली रहेका थियो। राजधानी गान्तोक बाहेक डुवर्स, कालेबुङ र राज्यको अन्य प्रान्तबाट भेला भएका कला साहित्यकार र पत्रकारहरूको गरिमामय उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि भण्डारीले भने, देवकोटाको साहित्यिक कृतिहरूको कतिठाउँमा अपव्याख्यान भएको छ। त्यसलाई सुधार गर्नुपर्ने छ। उनले देवकोटाको अन्तिम कविता मृत्युशैय्यामा लेखिको केही हरफमा उटलफेर गरिएको कुरा उनले बताए। यसबारे निकट भविष्यमा आफूले रचना तयार पार्ने कुरा पनि उल्लेख गरे। अर्कोतिर उनले सिक्किममा विगत केही वर्षयता शुरु गरिएको देवकोट जयन्ति पालन गर्ने परम्परालाई सकरात्मक प्रयासको संज्ञा दिँदै आयोजक पक्षलाई उनले आभार प्रकट गरे।
अर्कोतिर सभाध्यक्ष सानु लामाले देवकोटाको अप्रकाशित कृतिहरूमाथि कार्य हुनुपर्ने बताए। जसमा अंग्रेजी भाषामा लेखिएको पुस्तक र कृतिहरूको चर्चा उठाए। उनले देवकोटा नेपाली भाषा र राष्ट्रप्रेमी व्यक्ति रहेको विभिन्न उदाहरणहरू पेश गर्दै उनीबाट भाषा प्रतिको माया गर्ने कुरा सबैले सिक्नुपर्ने बताए। अर्कोतिर अझै पनि विद्यार्थीहरूमा देवकोटाको मुनामदन खण्डकाव्य सर्वप्रिय रहेको कुरा दार्जीलिङ र कालेबुङतिरका विद्यार्थीहरूले आफ्नो प्रिय पुस्तकको रूपमा बताउँदै आएको कुरालाई उनले उल्लेख गरे। यसैगरि कार्यक्रममा प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउतले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। रूपेश शर्माद्वारा सञ्चालित कार्यक्रममा प्रवीण खालिङले आभार प्रकट गरे भने उपस्थिति कवि विणाश्री खरेल, चुन्नीलाल घिमिरे, डीएन नेपाल, दीपा राई, प्रवीण खालिङ, रिपन रोसुरी, शिव दर्नालले कविता वाचन गरेका थिए। यसका साथै कार्यक्रममा लक्ष्मिप्रसाद देवकोटाको तस्वीरमा श्रद्धा सुमन अर्पण पछि उनको चर्चित खण्डकाव्य मुनामदनबाट अजय ख़डकाले केही पद गाएर उपस्थित जनमानसलाई काव्यरसको मोहमा बाध्न सफल भएका थिए।


Post a Comment