Header Ads

म कुजे पोखरी हुन चाहन्नँ : नेपाली कविताहरु


सुवास घिसिङ राजनैतिक नेता मात्र नभएर कवि एवं उपन्यासकार पनि हुन् । उनै कवि व्यक्तित्व भएका स्व सुवास घिसिङको कविता यहाँ प्रस्तुत छ -

म कुजे पोखरी हुन चाहन्नँ
कुजे पोखरीको पानीजस्तै
चुपचाप चुपचाप पलेटी कसेर
बसिरहन चाहन्नँ म यहाँ यसरी


मुर्दा घाटको चिहान जस्तै
चुपचाप चुपचाप हात बाँधेर
बसिरहन चाहन्नँ म यहाँ यसरी।
दापभित्रको खुकुरी जस्तै


चुपचाप चुपचाप खिया चाटेर
बाँचिरहन चाहन्नँ म यहाँ यसरी
भित्तामा झुण्डिएको नक्सा जस्तै
चुपचाप चुपचाप फाँसी जान  


चाहन्न म यहाँ यसरी
बसाइँ सरेको घरजस्तै
चुपचाप चुपचाप मुखमा ताला ठोकेर
बसिरहन चाहन्नँ म यहाँ यसरी।

 
बगरको नपुंसक ढुङ्गाजस्तै
उत्तानो परेर दिनभरि-भरि
खोलाको चिसेनीको बर्को ओडःएर
घाम तापिरहन चाहन्नँ म यहाँ यसरी।

 
बरू मलाई त जङ्गली बाघकै मुटु
एकै दिन भए पनि पैँचो मागेर
मूल सडकबीचै मेरा पाइतालाका डामहरू
छाडिराख्न मन लाग्छ 

 
ताकि नेपोलियनको घोडा तर्सियोस
हिटलरको हातबाट पिस्तोल खसोस्
चिहानभित्र सुतेको बलभद्रलाई
फेरि तिर्खा लागोस्॥

(सुवास घिसिङले भारतीय नेपाली साहित्यको भण्डारमा मोठ 17 वटा आफ्ना मौलिक कृतिहरू चढाएका छन्। यद्यपी उनी साहित्यकारका रूपमा भन्दा धेर राजनैतिक नेताको रूपमा मात्र परिचित बने। उनी साहित्यकार हुन् भनेर धेरैले चिन्दैनन्। नेपाली साहित्यको भण्डारमा उनका प्रकाशित कृतिहरू यसप्रकार छन् -


(1). कोपिला (कवितासग्रह- 1963),

उपन्यासहरू : 
(1). कालो माकुरा - 1958
(2). आलो चिहान -1960
(3) जवानीको हत्या - 1961
(4). उ मरी अरे - 1961
(5). मने - 1963
(6) नीलो चोली -1965
(7) परिस्थिति -1966
(8) आखिर रात - 1969
(9) लुङखुम क्याम - 1969
(10) कहाँ- 1970
(11) फूलमाया - 1971
(12) चोट - 1972
(13) खोक्रो मान्छे - 1972
(14) विश्वास - 1973
(15) कच्चा बाटो - 1979 अनि
(16) शुभकामना - 1980

(यदि कसैलाई थप जानकारी भए अथवा कुनै छुटेको खण्डमा जानकारी गराइदिनुहुन अनुरोध गर्द्छु।)

 (source : DK Waiba Kalaybung)
Powered by Blogger.