Header Ads

अमेरिका र रुसबीच सिरियाबारे सहमति

जिनिभा : अमेरीका र रुसबीच सिरियाका सबै रासायनिक अस्त्रसम्म निरिक्षणकर्ताहरुलाई पहुँच दिने र सन् २०१४ को मध्यसम्म ती अस्त्रहरु नष्ट गरिसक्ने सहमती भएको छ। जिनिभामा जारी दुई देशका विदेशमन्त्रीको बैठकमा सिरियाको रासायनिक अस्त्र संकट समाधान गर्नेवारे समझदारी कायम भएको हो। अमेरीकी विदेशमन्त्री जोन केरीले ६ बुँदे आधारपत्रमा प्रस्तुत गर्दै एक हप्ता भित्र सिरियाले रासायनिक हतियार भण्डारणको पुर्ण विवरण उपलब्ध गराउनुपर्ने उल्लेख गरे। उनका अनुसार अस्त्र निरिक्षकहरु आगामी नोभेम्बरसम्म सिरिया पुग्नेछन् र रासायनिक हतियारको भण्डारण सन् २०१४ को मध्यसम्म नष्ट गरिने वा हटाइने छ।

गएको महिना सिरीयाली सरकारले रासायनिक अस्त्र प्रयोग गरी हजारौं व्यक्तिको हत्या गरेको अमेरीकाले दावी गर्दै आएको छ। वसर अल असदको सिरीयाली सरकारले त्यो आरोपलाई खण्डन गर्दै विद्रोहीहरुले रासायनिक अस्त्र प्रयोग गरेको बताउने गरेको छ।आफ्ना रुसी समकक्षी सरगेइ लावरोव सहितको संयुक्त पत्रकार सम्मेलनमा केरीले राष्ट्रपति असदलाई आफ्नो सार्वजनिक प्रतिवद्घता पालना गर्न आग्रह गरे ।
उनले भने “अव चलखेलको लागी कुनै पनि स्थान दिइनेछैन्। असद नेतृत्वको सरकारले यो सहमतिलाई पुर्ण रुपमा पालना गर्नुपर्छ।” केरी र लावरोवले यदि सिरियाले पछिल्लो सहमति पालना नगरे बल प्रयोग गर्न अनुमति दिने संयुक्त राष्ट्रसंघको च्याप्टर सात अन्तर्गतको प्रस्ताव ल्याइने उल्लेख गरे।

 यसअघि सिरीयाली संकट समाधानको लागि अमेरीकाले सैन्य कारवाहीमा जोड दिएको थियो। रुस र चीनले त्यस्तो कदमलाइ समर्थन नगर्ने भन्दै राष्ट्रसंघको सुरक्षा परिषदमा प्रस्तुत गरीएका सिरिया सम्बन्धि मस्यौदाको विपक्षमा उभिएका थिए। सन् २०११ मा राष्ट्रपति असदको विरोधमा सुरु भएका प्रदर्शनहरुमा एक लाख भन्दा बढिले ज्यान गुमाइसकेका छन् र अन्य लाखौं विस्थापित भएका छन्।




Powered by Blogger.