Header Ads

धर्मराज थापाज्यूका नेपाली लघुकथा - "स्मृतिमा"

धनवीर खड्का सन् १९४७ मा देशको विभाजन हुँदा दिल्लीको शरणार्थी क्याम्पमा सहायताको लागि खटिएका थिए | गोर्खा बटालियन रिलिफ क्याम्पमा शरणार्थीहरुलाई दवाई पानी र लुगाफाटा लगायत खाने कुरा र तम्बुको बन्दोबस्त गर्नु उनको प्रमुख कार्य थियो |
हवल्दार मेजर धनवीर खड्का र पाँच - छजना सिपाहीहरुचाहिँ आनन्द पर्वतको क्याम्पमा जाँदा त्यहाँनेर एकजना वृद्ध अनुहारमा विरक्ति र नैराश्यभाव साथै अश्रुसित आँखामा अथाह वेदना र व्यग्रता बोकेर विलाप गरिरहेका थिए |
पछि तिनलाई सोध्दा थाहा भयो कि प्रथम र द्वितीय विश्वयुद्धमा भाग लिने सुबेदार मानवीर छेत्री पो रहेछ |

पेन्सनपछि क्वेटा शहरस्थित छावनी मै सानोतिनो हुटेल खोलेर आफ्नो परिवारको भरण - पोषण गरिरहेको तर हाल पुरै परिवार बेपत्ता, र कुनै समाचार नपाउँदा बुदो मानवीर भक्कानो छोडेर रोइरहेका थिए | हजारौं परिवार बेपत्ता भएको छ | चारैतिर नैराश्य, कोलाहल र चित्कार मात्र सुनिन्छ |

शरणार्थी क्याम्प कस्तो हुन्छ | भय, रोग,भोक, विलाप, तिरस्कार, मानसिक उत्पीडन र फोहोर छ यो क्याम्प सुँगुरको खोर जस्तो छ |खापैखाप नानीहरु केटाकेटीहरु सुतिरहेका छन् | हजारौं शरणार्थीहरुमा १०/१२ घर गोर्खा परिवारको पनि थाहा लाग्यो | कोही आसाम(नेफा) का कोही देहरादुन, कोही हिमाचल , सिक्किम र दार्जीलिंगकाहरु थिए | सबै अवकाशप्राप्त सिपाहीहरु सबैले क्वेटा छावनीलाई नै आफ्नो कर्मभूमि बनाएर अहिलेसम्म त्यहीं नै बसोबास गरिरहेका थिए | सबैका सपना र भावी भविष्यको कल्पना चकनाचुर भयो | हठात देश विभाजन र त्यसपछिको त्रासदीले सम्पूर्ण विश्वमा नै भुइँचालो आए झैँ भएको छ |

चारैतिर काटमार, चारैतिर भागाभाग, रुवाबासी,बर्बरता र रगतको नदि बगिरहेको छ | सारा शहरमा घरिघरि कर्फ्यु लगिबस्छ | बल्लबल्ल सेना र पुलिसको मदतले चारैतिर वातावरण शान्त भएको छ | अस्पतालहरु घाइते र रोगीहरुको ओइरोले दिनदिनै भरिएको छ | समाजसेवीहरुले पनि अब शरणार्थी क्याम्पको चक्कर काट्न थाले | जनश्रमदानले क्याम्प,बाटोघाटो र शौचालयहरु पनि बनिन थाले |

यसैबीच मानवीर छेत्रीकी स्वास्नी र छोराछोरी सबैजना क्याम्पमा असाध्य दु:ख पाएर फर्के | मनवीरले आफ्नो परिवारलाई जिउँदो, सही सलामत आफ्नो अघि देख्दा, उसको हर्षको सिमा नै रहेन | एका अर्कालाई आँखाभरि आँशु लिएर अंकमाल गरिरहेका थिए | कतिजनाको परिवार अहिलेसम्म पनि बिछोडिएकोले गर्दा मन अमिलो पारेर एकाअर्कालाई पर्खिरहेका थिए | जिउँदो छ कि छैन भन्ने सोचाईले सबैजना भयभित थिए | एकै छिनमा नराम्रो दु:खद खबरले क्याम्पको वातावरणमा हर्ष र विषाद, दु:ख र सुखका लहर देखिन थाल्यो | एकातिर राष्ट्र स्वाधीन भएकोमा पुरा राष्ट्र नै खुशीयाली मनाइरहेका बेलामा हजारौ परिवारहरु आफन्तहरुका मृत्यु , विछोड र बेपत्ता भएकोमा दु:खी भइरहेका थिए |
एक वर्षपछि चारैतिर वातावरण शान्त भएपछि एक दिन धनवीर र मानवीर करोलबागमा भेटेर एकाअर्काको भलोकुसारी सोधपूछ गरिसकेपछि पो धनवीरले सोध्छ  - " बाबा कतातिर लाग्नु भएको ? "
" उही त हो नानी ! मुल्लाको दौड मस्जिदतक, पेन्सन थाप्नु बैंक गएको | "
" नानीहरुको पल्टन कहिलेसम्म यहाँ बस्छ ?"
"यसै वर्षभित्र राजस्थान जानेवाला छौ |" - भनेर धनवीर विदा माग्छ |
"नानी ! आइतबार छुट्टि भए यसो गरिबको घरमा पनि आउनु नि !" - भन्दै मानवीर अघि बढ्छ |
समय कति छिटो बित्छ | आखिरी एक दिन धनवीर मिठाइको डिब्बा र दुई बोतल रम बोकेर मानवीरको घरमा जान्छ | घर सानै भए तापनि सफा - सुग्घर र सुसज्जित हुन्छ | देवलमा खुकुरी झुन्डिएको हुन्छ |
अलिक अघिल्लो देवलमा चाहिँ सुबेदार मानवीरको मेडल लगाएको फोटो देखेर धनवीरले त्यसबारे जान्न चाहंदा मनवीरले भन्छ - " यो फर्स्ट वर्ल्ड वारको र अर्को सेकेन्ड वर्ल्ड वारको मेडल हो |"
यसै प्रसंगलाई विस्तार गर्दै मनवीरले कसरी पानीजहाजमा चडेर अरबसागरबाट मिश्र हुँदै युरोप पुगेको कथा सुनाउँछ | धनवीर पनि एक अवोध बालक झैँ लट्टीएको झैँ भएर बुडाको बात सुनिरहन्छ | खानापिना सबै सकेपछि तथा रात छिप्पिसकेपछि धनवीर बिदा लिएर बाहिर निस्कन आँटदा मनवीरले दुवै हात जोडेर धनवीरलाई भन्छ - " नानीले अन्यथा नमान्ने हजुरसित एउटा बिन्ति छ | त्यो के हो भने मेरी कान्छी छोरी मनमायाको हात हजुरलाई दिउँ भनेर सोचेको छु |"
धनवीरले अर्को हप्ता आउनेछु भनेर त्यहाँबाट बिदा लिए | धनवीर बाटोमा हिड्दा मनमा नाना किसिमको कल्पना गर्दै आफ्नो क्याम्प पुगे , लखतरान भएर सुतेपछि एकैचोटि बिहान पी० टी० - मा हाजिर भए |आफू एक त लाहुरे, त्यही माथी टुहुरो , आमाबाबु तथा शाखा - सन्तानको टुंगो छैन | आफ्नो बिहे गर्ने उमेर भइसक्यो र रहर पनि छ |साथीभाइको सर- सल्लाह कहिले टेरपुच्छर लगाएन | सबै साथीहरुले उसलाई भन्थे - " नडराउनु  साथी ! कि पदेर जानिन्छ कि परेर | बिहे भएपछि सबै थोक आफै ठीक हुन्छ |"
एक  महिना भित्र नै धनवीर र मनमायाको बिहे भयो | एक वर्षपछि उ सरुवा भएर राजस्थान पुग्छ | मनमाया माइत मै बस्छे | धनवीर दुई महिनाको छुट्टीमा घर आउँदा , मनमायालाई दुई जिउकी छे भन्ने खबर सुनेर उ खुशीले नाच्न थाल्छ | तर एक महिना भित्र नै मनमायालाई बेथा लागेर अस्पताल पुराइन्छ | धनवीरले छुट्टी बढाउन नसकेर पल्टन फर्किन्छ | विवशतामा बाँच्नु परेको यो लाहुरे जीवन, मुटुमाथि ढुंगा राखी बाँच्नु परेको छ |
पल्टन पुगेको तीन दिनभित्रै मनमाया मरेकी तर जन्मिएकी छोरीचाहिँ जिउँदै छ भन्ने मुटु चुडाउने तार आइपुग्छ | धनवीरले कसरी यो बज्रघात सहने ! सबैले सम्झाएर, बुझाएर उसलाई स्वास्नीको अन्तिम संस्कार गर्न छुट्टी पठाए | सबैले उसको दु:खलाई र वेदनालाई बुझेको हुन्छ | लाहुरेहरु पनि सामान्य मानिसहरु झैं हुन् | उनीहरुको पनि हृदय हाम्रो झैँ हुन्छ ढुंगाको हुँदैन |
धनवीर क्रिया - कर्म सकेर हरिद्वार, बद्रीनाथ र केदारनाथ भएर पल्टनमा हाजिर हुन्छ | सबै साथीभाईहरुले उसलाई अर्को बिहे गर्नु भनेर अपहत्ते गर्थे | धनवीर बाघ झैँ गर्जेर रिसाउँथे | " मुर्ख हो ! नजाने गाउँको बाटो किन सोध्नु ? " भनेर हकार्थे | छोरीको भविष्यबारे सोद्धा उ झन विचलित हुन्थे , छोरीको भविष्य बारे सोध्नेलाई अपशब्द प्रयोग गर्दै गाली गर्थे | खर्चपात भने महिनापिछे नै ससुरालीमा पठाउँथे | मनवीरको ठुलो छोरीको जायजन्म केही थिएन | बडो खुसीका साथमा तिनीहरुले त्यो छोरीलाई अपनाए | छोरीको नाम चाहिं स्मृतिमा राखिदिएका थिए | उ सानैदेखि संस्कारी तथा पूजा पाठ गर्न रुचाउने प्रवृतिका थिई | उनलाई मास्टर मित्रसेनले गाएका सबै भजनहरु मुखस्थ थियो |
धनवीर रिटायर्ड हुने बेलामा स्मृतिमा मेडिकलको पदाई गर्दै गरेको खबर सुनेर , आफुले अवकाशप्राप्तपछि पाएको पैसा पठाएर दुई लाइन लेखेको पत्र -
अभागी छोरीलाई
अभागी बाबुको तर्फबाट
भविष्यमा डाक्टर बनेर कुनै सुत्केरी आमालाई मर्न नदिनु बस |
त्यसपछि धनवीर साधु भएर विभिन्न धामहरुको दर्शन गर्दै अनन्त: काशीमा प्राण त्याग गरे |

- डी.आर. थापा, हाल नयाँ दिल्ली, भारत 




 
Powered by Blogger.