Header Ads

नोबल शान्ति पुरस्कार रासायनिक हतियार निरीक्षकलाई

यस वर्षको नोबल शान्ति पुरस्कार सिरियामा विषालु ग्याँसको भण्डारलाई नष्ट गर्ने कामको सुपरिवेक्षण गरिरहेको रासायनिक हतियारमाथि प्रतिबन्ध लगाउन स्थापित संगठलाई प्रदान गरिएको छ। नोबल समितिले भनेको छ, सो संगठन, अर्गनाइजेशन फर द प्रोहिबिशन अफ केमिकल वेपन्स (ओपिसिडब्लु) ले रासायनिक हतियारहरूलाई पूर्ण रूपमा निमिट्यान्न पार्न धेरै काम गरेकोले त्यसको सम्मान स्वरूप सो पुरस्कार दिइएको हो। द हेगस्थित सो संगठन सन् १९९७ को रासायनिक हतियार सम्बन्धि ‌अभिसन्धी लागु गर्न स्थापित गरिएको थियो। ओपिसिडब्लुले हालै सिरियाको रासायनिक हतियारको भण्डारलाई नष्ट गर्न निरिक्षकहरूको टोली पठाएको थियो। सो संगठनका निरीक्षकहरूले यूद्धरत ठाउँमा काम गरेको यो पहिलो पटक हो। नोबल पुरस्कारहरूमध्ये सबैभन्दा महत्वपूर्ण मानिने शान्ति पुरस्कारका लागि चुनिएको सो संगठनले एउटा स्वर्ण पदक र साढे बाह्र लाख अमेरिकी डलर प्राप्त गर्दैछ।

विश्वलाई रासायनिक हतियाररहित बनाउन ओपिसिडब्लु गत १६ वर्षदेखि कार्यरत छ। पुरस्कारको घोषणा गर्दै नर्वेली नोबल समितिका अध्यक्ष थोर्ब्योर्न याग्ल्याणडले भने, “रासायनिक हतियार सम्बन्धि ‌अभिसन्धी र ओपिसिडब्लुले अन्तर्राष्ट्रिय जगतमा रासायनिक हतियारलाई नराम्रो कुराको रूपमा परिचित गर्न सहयोग पु-याएका छन्।“ एकसय उनानब्बे राष्ट्रहरू मिलेर बनेको सो संगठनका ५०० कर्मचारीहरूको मूख्य काम रासायनिक हतियारहरूको अनुगमन गरी तीनलाई नष्ट गर्नु रहेको छ। गत दश वर्षमा ओपिसिडब्लुका निरीक्षकहरूले पच्चीस हजार टन रासायनिक हतियार नष्ट गरीसकेका छन्। तर सो संगठन सिरियामा रासायनिक हतियार प्रयोग भएपछि हालै मात्र चर्चामा आएको थियो। सन् २०१३ सम्म विश्वको ८० प्रतिशत जति रासायनिक हतियार नष्ट पारी सकिएको बताइएको छ। संयुक्त राज्य अमेरिका र रूससित अझैपनि हजारौं टन त्यस्ता हतियारहरू रहेका छन्।


Powered by Blogger.