भारतीय कांग्रेसद्वारा पराजय स्वीकार
जारी मतगणनामा निकै पछाडि परेपछि भारतीय कांग्रेसले पराजय स्वीकार गरेको छ।
बहुमत स्थानमा विपक्षी भारतीय जनता पार्टीले अग्रता हासिल गरेका बेला कांग्रेसको अग्रता करिव ५० सीटमा खुम्चिएको छ।
कांग्रेसका वरिष्ठ नेता तथा प्रवक्ता राजीव शुक्लाले भने, “पराजय स्वीकार गर्दै हामी प्रतिपक्षमा बस्न तयार छौं।”
भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी गुजरात गुजरातको बडोदराबाट बिजयी भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
उनी उतरप्रदेशको वाराणसीबाट पनि बिजयी भएको खबर पनि केही संचार माध्यमहरुले दिइरहेका छन्।
वनारसमा उनलाई आम आदमी पार्टीका अरविन्द केजरीवालले चुनौति दिएका थिए।
तर निर्वाचन आयोगले कुनै पनि क्षेत्रको परिणाम औपचारिक रुपमा घोषणा गरेको छैन।
'प्रधानमन्त्री पक्का'
भारतमा मोदी नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुने अडकलबाजीका माझ नौ चरणमा गरिएको संसदीय चुनावको जारी मतगणना भाजपाले वहुमत क्षेत्रमा अग्रता कायम राखेको छ।
मोदी मुख्य मन्त्री रहेको गुजरात राज्यमा त सबै २६ वटै क्षेत्रमा भाजपा अगाडी छ।
अहिलेसम्मको अग्रता हेर्दा मोदी प्रधानमन्त्री बन्ने पक्का देखिएको संचार माध्यमहरुले जनाएका छन्।
विश्लेषकहरुका अनुसार जारी अग्रतामा ठूलो फेर बदल आएन भने मोदीको दल भाजपा एक्लैले बहुमत प्राप्त गर्ने सम्भावना छ। चुनावपछि गरिएको सर्वेक्षणहरुमा भाजपाले नेतृत्व गरेको गठबन्धनले २५७ देखि ३ सय ४० सीटसम्म ल्याउने बताइएको थियो।
अघि-पछि
भाजपा नेताहरु लालकृष्ण आडवाणी गान्धीनगरबाट, पूर्व सेनाध्यक्ष जनरल वीके सिंह गाजियाबादबाट, फिल्म अभिनेत्री हेमा मालिनी उत्तर प्रदेशको मथुराबाट, अभिनेता परेश रावल अहमदाबादबाट अग्रस्थानमा छन्।
उक्त दलका देशैभर लहर देखिएका बेला प्रभावशाली नेता अरुण जेट्ली भने पंजावमा दोश्रो स्थानमा छन्।
रायबरेली क्षेत्रमा कांग्रेस अध्यक्ष सोनिया गान्धीको अग्रता कायमै छ।
तर उनको दलका नेता तथा केन्द्रिय गृहमन्त्री सुशीलकुमार शिंदे दोश्रो स्थानमा छन्।
अमेठी क्षेत्रमा कांग्रेस उपाध्यक्ष राहुल गान्धी पहिलो स्थानमा उक्लिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
उनलाई नेपालमा पनि गृहणीहरु माझ चर्चित बनेको क्यो कि सास भि कभि बहु थी टेलीश्रृँखलामा एक प्रमुख पात्रको भूमिका निर्वाह गरेकी भाजपा उम्मेदवार स्मृति इरानीले पछ्याएकी छन्।
किर्तिमान
मत परिणामले यो बर्षको शुरुदेखी नै हुदैँ आएको सरकार भावी नेतृत्व सम्बन्धि अनेकन अडकलबाजी पनि अन्त्य गर्नेछ।
सात अप्रिलमा शुरु भएर मे १२ सम्म भएको मतदान प्रकियामा ५१ करोड भन्दा बढी भारतीय नागरिकहरुले भोट खसाएका थिए।
भारतको निर्वाचन आयोगका अनुसार यसपटक भएको ६६ दशमलव तिन ८ प्रतिशत मतदाताले भोट खसालेका थिए।
सो मत प्रतिशतले सन् १९८४ मा तात्कालीन प्रधानमन्त्री इन्दिरा गांन्धीको हत्या भए लगतैको चुनावमा खसेको हालसम्मको सबैभन्दा बढी मत प्रतिशतको किर्तीमान तोडेको थियो।
८००० भन्दा उम्मेदवार सहभागी चुनावी अभियानका क्रममा मुख्य उम्मेदवार र दलहरुबीच व्यापक आरोप प्रत्यारोप भएको थियो।
Post a Comment