Header Ads

अमेरिकीद्वारा सोमालिया र लिबियामा आक्रमण

वासिङ्टन : अमेरिकी सेनाले शनिबार अफ्रिकाका दुई लडाकु समूहलाई लक्ष्य गरी आक्रमण गरेको छ । अमेरिकी सेनाले त्रिपोलीको सडकबाट लिबियाका अलकायदाका नेता अबु अनस अल–लिबीलाई पक्राउ गरेको जनाएको छ । अमेरिकाले अलकायदाका यी नेतालाई निकै अगाडिदेखि खोजिरहेको थियो । अमेरिकाले लिबीलाई सन् १९९८ मा केन्या तथा तान्जानियाका दूतावासमा आक्रमण गरेको आरोप लगाएको छ । अमेरिकाले सोमालियाको दक्षिण बन्दरगाह बारावेमा भएको आक्रमणमा वरिष्ठ लडाकु नेतालाई पक्राउ गर्न गरिएको प्रयास असफल भएको बताएको छ । सो आक्रमणमा अलकायदासँग सम्बन्धित सेबाबका कैयौँ सदस्यको मृत्यु भएको अमेरिकी अधिकारीले जनाएका छन् ।

पेन्टागनका प्रवक्ता जर्ज लिटिलले एक विज्ञप्ति प्रकाशन गरी आतंकवादविरुद्ध अमेरिकी कारबाहीको पुष्टि गरेका छन् । उनले पक्राउ परेका अल–लिबीलाई लिबियाको बाहिरी भागमा सुरक्षित स्थानमा अमेरिकी सैनिकले राखेको बताएका छन् । लिबीलाई पक्रनेलाई अमेरिकाले ५० लाख अमेरिकी डलर दिने घोषणा गरेको थियो । अमेरिकी स्रोतका अनुसार ४९ वर्षीय लिबीलाई अमेरिकी अदालतमा मुद्दा लगाइनेछ । अमेरिकी एक अधिकारीले लिबियामा भएको आक्रमणबारे लिबिया सरकारलाई दिउँसै जानकारी दिएको बताएका छन् । लिबियाको सरकारले भने अमेरिकी आक्रमणबारे आफू जानकार नरहेकाले सो आक्रमणको विरोध गरेको थियो । उता, सोमालियामा अमेरिकी अधिकारीले सेबाबका उच्च नेतालाई पक्राउ गर्न प्रयास विफल भएको बताएका छन् ।

Powered by Blogger.