‘मे हुँ ना’ र ‘बर्फी’को महंगो लोकेशनमा नेपाली चलचित्र ‘बितेका पल’
भारतकै महंगो लोकेशनमा छायांकन गरिएको चलचित्र ‘बितेका पल’ यतिबेला चर्चामा छ । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्माण यूनिटले सिनेमाको बारेमा जानकारी दिएको हो । चलचित्रको प्रतिस्पर्धा अन्य सिनेमासँग नभई दर्शकसँग भएको बताए । आफ्नो सिनेमासँग प्रदर्शनमा आउन लागेका अन्य सिनेमाले पनि व्यापार गरुन् भन्ने चाहना सुब्बाको थियो ।
यो चलचित्रको छायांकन भारतमा ९५ र नेपालमा ५ प्रतिशत गरिएको छ । बलिउडका सफल चलचित्रहरु ‘मे हुँ ना’ र ‘बर्फी’ छायांकन गरिएको लोकेशनमा ‘बितेका पल’को ९५ प्रतिशत दृश्य कैद गरिएको छ । यसैले पनि सिनेमाको बजेटमा कुनै कञ्जुस्याई नगरिएको वुझिएको छ । खवास, ईन्दु सुब्बा कलाकारको रुपमा रहेको यो सिनेमालाई राजेश घतानी र कृष रिजाल मिलेर बनाएका हुन् ।
चलचित्रमा हरि लामाको छायांकन, विपिन मल्लको सम्पादन, मोहित मुनालको पाश्र्व संगीत, बाबु बोगटी, डम्बर नेपाली, मोहित मुनाल, रोशन लामाको संगीत छ । चलचित्रको प्रिमियर काठमाण्डौको बीग सिनेमामा पौष १४ गते गरिने निर्माणपक्षले जानकारी दिएको छ ।
कार्यक्रममा चलचित्रको अडियो एल्बम पनि बिमोचन गरिएको थियो । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीको साथमा चलचित्रको निर्माण यूनिटले सिनेमाको एल्बम बिमोचन गरेका हुन् ।
यो चलचित्रका गीतसंगीतले अहिले बजारमा निक्कै चर्चा पाइरहेका छन् । चलचित्रमा बाबु बोगटी, शिव परियार, दिपक लिम्बु, सनुप पौडेल, प्रकृति गिरी, बानिका प्रधान, जिना रसाइलीको आवाज समावेश छ । नेपाली सिनेमाको सुस्ताएको बजार ‘बितेका पल’ले उठाउने विश्वास धेरै चलचित्रकर्मीको छ ।
- Onlinekhabar


Post a Comment