ओम र सौम्याको नेपालका अनुभव
मधु शाही
तिमीहरूलाई थाहा छ, सौम्या राई र ओम क्षेत्री को हुन् ? उनीहरू भारतीय टेलिभिजन जीटीभीको रियालिटी शो डान्स इन्डिया डान्स (डीआईडी) मा राम्रो प्रशंसा बटुलेका स्टार हुन् । नेपालीभाषी भारतीय यी दुई बालबालिका अघिल्लो हप्ता नेपाल आएका थिए । त्यस मौकामा उनीहरूले नृत्य देखाए । उनीहरूको नृत्य बाहेकको अरू दिनचर्या, आनीबानी र व्यवहार के कस्तो रहेछ ? त्यो पनि थाहा भयो । भारतीय भए पनि उनीहरू नेपालीमै कुराकानी गर्छन् ।सौम्या १३ वर्ष पुगिन् । उनी कक्षा ७ मा पढ्दै छिन् । उनलाई धेरैले चिनियाँ भनेर जिस्काउने गर्दा रहेछन् । किनभने उनको आँखा चिम्सो छ । मुख्य भारतमा त्यस्तो आँखा भएका मानिस उतिसारो छैनन् । कसैले चिनियाँ हो भनेर सोध्यो भने उनी मुसुक्क हाँसेर टार्छिन् ।
सौम्याले सानै छँदा टीभी हेरेर नाच्न सिकेकी हुन् । उनी टीभीमा हिरोहिरोइनले जेजस्ता स्टेप गर्छन्, त्यस्तै अनुशरण गर्थिन् । नृत्यप्रति उनको रुचि देखेर एकजना काकाले स्कुलमा डान्स कम्पिटिसनमा सहभागी गराएछन् । त्यहीँ सौम्या दोस्रो भइछन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।सौम्याको नृत्यप्रतिको लगाव देखेर उनकी आमाले नृत्य सिक्न प्रेरणा दिएकी रहिछन् । सौम्या अहिले कत्थक नृत्य सिक्दै छिन् । उनको विचारमा कत्थक नृत्यले हरेक प्रकारको नृत्य गर्न सघाउ पुर्याउँछ । उनले भनिन्, 'जसरी वाक्य लेख्न पहिला क, ख, ग... सिक्नुपर्छ । त्यस्तै राम्रो नृत्य गर्न कत्थक सिक्नु पर्दोरहेछ ।
भविष्यमा नृत्यांगना मात्रै होइन उनी त मिस युनिभर्स बन्न चाहन्छिन् । त्यसका लागि उनले अहिलेदेखि नै खानामा ध्यान दिन थालेकी छन् । उनी जंक फुड सकेसम्म खाँदिनन् । मान्छे राम्रो बन्नका लागि शिक्षा, सुन्दरता र प्रतिभा तीनवटै पक्ष महत्त्वपूर्ण हुने सौम्याको तर्क छ । मिस युनिभर्स बनेर उनले यी सबै विषयमा सक्षम भएको सावित गर्ने बताइन् । सौम्याले नृत्यमा जस्तै पढाइमा पनि उत्तिकै ध्यान दिने पनि बताइन् ।पुर्खौली घर नेपाल भएकाले उनलाई नेपाल अत्यन्त मन पर्छ । 'मनकामना घुमेकी छु,' उनले भनिन्, 'बाजेबजै यहीँ हुनुहन्छ, त्यसैले आफ्नै घर हो नि यहाँ ।'
१० वर्षे ओमचाहिँ कक्षा ५ मा पढ्दै छन् । उनी भविष्यमा डान्स कोरियोग्राफर बन्न चाहन्छन् । उनी नेपालमा तेस्रो पटक आएका हुन् । ६ वर्षअघि नेपाल आउँदा मनकामना केबुलकार चढेको उनी अझै सम्झन्छन् ।
'केबुलकार चढ्दा डरले आँखा चिम्लिएको थिएँ,' उनले भने, 'पछि चाहिँ रमाइलो लागेको थियो ।'
ओम पढाइमा पनि अब्बल छन्, नृत्यमा जस्तै । स्कुलमा सधैं उनको 'ए' ग्रेड आउँछ । बिहानै उठ्नु, स्कुल जानु र एकैचोटि बेलुका १० बजे घर आउनु ओमको दिनचर्या हो । डीआईडी डान्समा चर्चा कमाउन थालेपछि ओमलाई स्कुलमा पनि सबैले महत्त्व दिन्छन् ।
कक्षामा हल्ला हुने हुँदा साथीहरूले बाथरुममा गएको बेला अटोग्राफ र फोटो खिच्न अनुरोध गर्ने उनले सुनाए । 'सबैले माया गर्ने भएपछि म्यामले क्याप्टेन बनाइदिनुभा'छ,' उनले भने, 'साथीहरूले सुपरस्टार भन्दै काखमा राख्छन् ।' दिक्क लाग्यो भने डान्स गरेर खुसी बन्न सकिने ओमको सल्लाह छ । उनको विचारमा डान्सले शरीरलाई स्फुर्त बनाउँछ । आफू सानो छँदा मामाको बिहेमा रातभरि नाचेको सम्झँदै भने, 'नाच्न थालेपछि समय बितेको पत्तै हुँदैन ।' ओम अहिले पढाइसँगै, हिपहप, पम्पिङ, कन्टेम्प्ररी, कत्थक, मोडर्न, फ्रिस्टाइल लगायत थुप्रै प्रकारका नृत्य सिक्दै छन् । मान्छेले आफ्नो खुबीको पहिचान गरी त्यसमा निरन्तरता दिए उत्कृष्ट भइने उनलाई लाग्छ ।
- E Kantipur


Post a Comment