निकास खोज्दै समस्याले ग्रस्त कालेबुङको नोकडाँडा
प्रज्ज्वल छेत्री
कालेबुङ।
समस्यै समस्याले ग्रस्त नोकडाँडाले अहिले निकासको बाटो खोजिरहेको छ। क्षेत्रको सुन्दरका र विकासका सम्भावानाको बाटो अनेकौँ समस्याहरूले बन्द गरिदिएपछि उनीहरूले निकास खोजेका हुन्। कालेबुङ शहरदेखि लगभग 44 किलोमिटर टाडामा अवस्थित छ नोकडाँडा। 41 नम्बर समष्टि अन्तर्गत पर्ने नोकडाँडा कालेबुङ खण्ड दुई अन्तर्गत लाभा अनि गीतबियोङ ग्राम पञ्चायतमा बाँडिएको छ। लगभग 3 हजार जनसङ्ख्या रहेको यस क्षेत्रले अहिलेसम्म विकासको मुख देखेको छैन।
“सडक नबनिएकोले हामीलाई धेरै समस्या छ। बिरामीहरू आधा बाटोसम्म स्टाचारमा बोक्नुपर्छ अनि त्यसपछि कालेबुङ पुऱ्याउनुपर्छ”-स्थानीय विशाल ठकुरीले भने।
नोकडाँडामा एउटै स्वास्थ्य केन्द्रसमेत छैन। न त क्षेत्रमा कुनै दबाई दोकान नै छ। नोकडाडाँले आजसम्म अलकत्रको सडक देखेको छैन। गुम्बाडाँडादेखि नोकडाँडासम्मको अढाई किलोमिटर सडकको अवस्था सोचनीय छ। सडकको अवस्था नै सोचनीय रहेका कारण नोकडाँडामा विकास एवं नोकडाडाँबासीको आर्थिक अवस्थामा सुधार आउन सकेको छैन।
उनीहरूको उप्बजनीको बजार व्यवस्थापन हुन नसक्नु पनि सडक मुख्य कारण बनेको छ।
“गाउँमा एउटा मात्र प्राथमिक पाठशाला छ। उच्च शिक्षा लिन डेढ किलोमिटर पैदल हिँडेर गीतडाब्लिङ पुग्नुपर्छ-स्थानीय डिके गुरुङले भने।
नोकडाँडाका आधा मानिसहरू आजसम्म अन्धकारमै बसिरहेका छन्। नोकडाडाको माथिल्लो भागमा बिजुली बलेपनि तल्लो गाउँहरू आजपनि अन्धकारमै छ। गाउँमा हाई स्कूलसमेत नभएकाले यहाँका अधिकांश युवक-युवती आधाबीचमै स्कूल छोडेर बस्नुपर्ने अवस्था छ।
“यहाँका धेरजसो युवक-युवती गाउँ छोडेर अन्यत्र काम गर्न गएका छन्। गाउँमा बसेर काम छैन”-स्थानीय रविन राई भन्छन्।
गाउँमा पूर्वाधारहरूको निर्माण हुनसके अनि विभागीय सहायता प्रदान भए नोकडाडामा नै आर्थिक आयको प्रशस्त सम्भावनाहरू छ। तर क्षेत्रमा अहिलेसम्म मूलभूत विकाससमेत नभएपछि मानिसहरूको आर्थिक अवस्थामा सुधार आउन सकेको छैन।
नोकडाँडा विशेष गरी जैविक खेतीको निम्ति पनि प्रसिद्ध हो। उनीहरूले अहिले व्यक्तिगत रूपमा चिया खेतीलाई प्रयोगमा ल्याइरहेका छन्।
अदुवा अलैँची, कुच्चो लगायतका विभिन्न सागसब्जीहरू रोप्ने परिश्रमी यहाँका मानिसहरूका निम्ति बजार व्यवस्थापन नभएका कारण उनीहरूको उब्जनीले सही मोल पाउ सकेको छैन।
नोकडाँडाले आफूसित जोडिएको इतिहास पनि बचाइराखेकै छ। नोकडाँडामा लगभग 2 सय वर्षअघि दयानन्द महाराज आएर कुटी बनाइ बसेका थिए। रुखका फेदमा महाराजले गर्ने गरेको तपस्या स्थल, हवन कुण्ड, महाजारले प्रयोग गरेका विभिन्न पूजास्थल आदि उनीहरूले संरक्षण गरिराखेका छन्। क्षेत्रमा महाराजसित जोडिएको कुराहरूलाई आफ्ना पिता-पुर्खाले पालन गर्ने गरेको कारण अहिले क्षेत्रबासीले गाउँमा हनुमान मन्दिर निर्माण गरेका छन् भने धार्मिक महत्त्व बोकेको चक्रभ्यूको अनमोल पथ पनि निर्माण गरेका छन्। यसको संरक्षण र सम्बर्द्धनका निम्ति जीटीएका प्रमुख विमल गुरुङले विभागीय पहल गरिदिने आव्वासन दिएपनि कुनै पहल नभएको क्षेत्रबासीको गुनासो छ।
कालेबुङ खण्ड दुईका विभिन्न क्षेत्रहरूमा अहिले ग्रामीण पर्यटन राम्ररी फस्टाइरहेको छ। तर नोकडामा पनि पर्टन विकासका प्रशस्त सम्भावना भएपनि नोकडाँडाले भने विभागीय सहायताका अभावमा यस दिशामा काम गर्न सकिरहेको छैन।
नोकडाँडाबाट देक्न सकिन्छ, कञ्जनजङ्गाका फूल रेञ्ज, दार्जीलिङ, खरसाङ, कालेबुङ सिलगढी, सूर्योदय र सूर्यास्त, नेपाल, भूटान चाइना र बङ्लादेशका सिमानाहरू, समतलका अधिकांक्ष ठाउँहरू आदि। यदि क्षेत्रमा पूर्वाधारहरूको निर्माण भए ग्रामीण पर्यटन राम्ररी फस्टाउनसक्ने स्थानीयबासीको सोच छ।
गाउँमा अब बिकास हुनुपर्छ भन्ने क्षेत्रबासीलाई लागेको छ। स्वं. देविभक्त ठकुरीले क्षेत्रमा पर्यटन व्यवसायलाई विकसित गरेर गाउँलाई विकासको मार्गमा लैजाने सपना देखेका थिए। उनले देखेका सपनालाई पूरा गर्न अहिले स्थानीय विशाल ठकुरी, डिके गुरुङ, रविन राई, कमल लेप्चा, कुनाल राई, प्रकाश ठकुरी, धनकुमार लाई लगायतका युवाहरूले नोकडाँडा भिलेज टुरिजम, डेभ्लोप्मेन्ट सोसाइटी गठन गरेर ग्रामीण पर्यटनलाई विकसित गर्ने सोच बनाएका छन्। “क्षेत्रमा पर्यटन विकासका प्रशस्त सम्भावना छ। तर पहिले मूलभूत आवश्कताहरू पूर्ण हुन जरुरी छ। पर्यटन व्यवसायका निम्ति निम्ति हामी अहिले नै तयार छैनौँ। यदि यहाँका पर्यटकीय स्थलकहरूको संरक्षण र सम्बर्द्धन हुनसके, पूर्वाधारहरूका निर्माण हुनसके, दार्जीलिङ पहाडको पर्यटकीय मानचित्रमा नोकडाँडा दह्रोगरी उभिनसक्छ”-स्थानीय स्यामसन गुरुङले भने।
Post a Comment