खदा बोकेर आफ्नो बुतामा उभिएको कालेबुङ
प्रज्ज्वल छेत्री
कालेबुङ।
कालेबुङले आफ्नो बुतामा उभिएर राष्ट्रलाई फिङ खुवाइरहेको छ। हिन्दु होस्, वा बौद्ध धर्मावलम्बीहरूको हातहातमा भोटे धुप पनि थमाइरहेको छ। मसिना नानीहरूदेखि वृद्धासम्मलाई ललिपप पनि खुवाइरहेको छ। भोक लागेेको बेला झटपट खानलाई थुक्पा पनि तयार राखिदिएको छ। लेख्नलाई पहाडे कागज पनि दिइरहेको छ। यसबाहेक पनि सधैँ सानाठूला सबैलाई समान आदर गर्दै, ईश्वर, भगवानदेखि लिएर मन्दिर गुम्पासम्म, बेहुला बेहुलीदेखि लिएर मृतकसम्म, जन्मदिवस बनाइरहेका नानी हुन् वा बिहेको वार्षिकोत्सव बनाइरहेका जोडा हुन्, लेखक, कवि हुन् वा उकिल, समाजसेवी हुन् वा कलाकार सबैलाई सत्कार गर्न कालेबुङ खदा बोकेर उहिल्यैदेखि उभिरहेको छ।
वास्तवमा कालेबुङ आफ्नो खुट्टामा उभिरहेको छ। कोही पहुना हुन् वा पर्यटक, सोध्छन्, ‘कालेबुङको आफ्नो उत्पादन, अथवा कालेबुङको भन्न लायक के पाइन्छ?’ उनीहरूले यति विघ्न जवाब पाउँछन् कि उनीहरू कुन रोजू रोजू बन्छन्। कालेबुङबाट फर्किएका कुनै पर्यटकलाई घरमा निश्चित रूपमा सोध्छन् नै, ‘खै के ल्यायौँ कलेबुङको उपहार?’ त्यतिखेर गर्वसाथ उनीहरूले झोलाबाट कि त फिङ निकाल्छन्, कि त ललिपप निकल्छन्, कि त रूमाल निकाल्छन्, कि त थुक्पा निकाल्छन्। फिङ, ललिपप, रूमाल, धूप, थुक्पा, पहाडे कागज कालेबुङको घरेलु उद्योग हो।
1962 मा चीनले आक्रमण गरेर तिब्बत कब्जा गर्न अघि तिब्बतले कालेबुङभएर अन्तराष्ट्रिय व्यापार गर्थ्यो। कालेबुङले तिब्बत भएर। तिब्बतीय सॉंस्कृतिक समानहरू पाइने केन्द्र कालेबुङ बनेको थियो। ऊनको व्यापार होस् वा घडी, जडिबुडी होस् वा अरू घरासयी सामान त्यसको व्यापारको केन्द्र थियो कालेबुङ। व्यापार मार्ग बन्दभएपछि व्यापार पनि सकियो। तर त्यसले कालेबुङमा धेरै लघु उद्योगको बीज भने गाडिराख्यो।
ती मध्ये एउटा उद्योग हो, खदा। जो मालाकोरूपमा प्रयोग गरिन्छ। तिब्बतीय वा बौद्ध धर्मसित वा संस्कृतिसित सम्बन्धित खदाले त्यो सॉंस्कृतिक धेरा तोडेर ग्लोबल बजार पक्रिएको छ। अहिले जम्मै समुदायले यसको प्रयोग गर्नेगर्छ। खदालाई नाटककार सीके श्रेष्ठले एउटा नाम दिएको छ, श्रद्धा। कसैलाई श्रद्धा गर्न प्रयोग गरिने श्रद्दाले मूलरूपले नेपाली भाषी गोर्खाहरूको सॉंस्कृतिक महत्व पनि बोकेको छ। श्रद्धा वास्तवमा खदा कै प्रजाति हो। कालेबुङमा यो उद्योग सम्हालेर बस्नेहरू अधिकांश मारवाडीहरू छन्।
‘लगभग यो 30 प्रकारका छन्,’ यसको व्यापारी बज्रङ अग्रवाल भन्छन्, ‘साधारण, रङ्गीन, बुट्टा भरेको, नाम्जो, ढाका, खदा, सार्टन, सादा यसको अनेक थरी छन्।’ अग्रवाल कालेबुङलाई टिबेटन गुड्सको हब मान्छन्। यो लघु उद्योग लगभग व्यक्तिगतरूपले हजार परिवारले सञ्चालन गरिरहेका छन्। ‘यसको उत्पादन केन्द्र कालेबुङ नै हो। कालेबुङबाहेक अन्यत्र खदा पाइन्न,’ बज्रङ अग्रवाललेे भने, ‘अहिले खदा बनाउन जान्नेहरूलाई विभिन्न ठाउमा काम गर्न नित्याउँछन्। विस्तारै नेपाल, लद्दाख, अरुणाचलहरूतिर पनि बनिन थालेको छ।’ अन्यत्र बनिए पनि त्यसको कालिगड वा त्यस ठाउँलाई काम सिकाउने चॉंही कालेबुङ नै रहेको तिनको ठहर छ।
10 भन्दा अधिक खदा प्रिन्टिङ हाउस कालेबुङमा छ। हजारौँ परिवार यो उद्योगसित जोडिएका छन्। मुख्यगरी महिलाहरू यो उद्योगमा लागेका छन्। खदासितै उनीहरूले लुङ्दर, धजा पनि बनाउँछन्। यहॉं बनिएको खदा लद्दाख, भूटान, नेपाल, अरुणाचल अथवा जहॉं जहॉं बौद्ध धर्मावलम्बीहरू छन्, त्यहॉं त्यहॉं यसको व्यापार गरिन्छ।
यसको इतिहास उति प्रष्ट छैन। किंवदन्ती के छ भने, कालेबुङको भुटान हाउस छेउमा केही तिब्बती परिवार बस्थे, जसले यो उद्योग गर्थे। उनीहरूसित नै कालेबुङका वेरोजगारहरूले काम सिकेका हुन् अनि खदा कात्ने उद्योग शुरु भएको हो। ‘चारवटा खदाको एक वाक्चा हुन्छ,’ व्यापारी बिजय डाल्यिाले भने, ‘हामी 10 दिनको अन्तरालमा 300 वाक्चा बाहिर पठाउँछौं।’ खदाको व्यापार विशाल छ तर यहॉंका काम जान्नेहरू बाहिर गएर बाहिर पनि काम सिकाएकोले गर्दा विस्तारै यसको व्यापार सॉंघुरो बनिरहेको डालमियालाई लागेको छ।
‘कालेबुङमा जुन गुणस्तरको खदा पॉंउछ, त्यो कतैबाट पनि पाइँदैन,’ बेङ्गोलरका सेरामे गुम्पाका लामा निग वाङ भन्छन्, ‘यसकारण हामी कालेबुङबाट नै खदा लान्छौं।’ तिनले 10 वर्षदेखि कालेबुङबाट बेङ्गलोर खदा लगिरहेका छन्।
डालमिया यसको व्यापार अन्तराष्ट्रियस्तरमा रहेको मान्छन्।
‘तिब्बतसित कालेबुङको व्यापार हुँदा नै कालेबुङमा खदाको उद्योग शुरु भएको हो,’ व्यापारी कमलेश अग्रवाल भन्छन्, ‘केवल बुद्धिष्टले मात्र होइन सबै जातिले यसको प्रयोग गर्ने भएकोले पनि यसको व्यापार फराकिलो भएको हो।’
धेरैवर्षदेखि खदाको धागो तानेर पाकिट खर्च बनाइरहेकी ठाकुरवाडीको निर्मला तामङ यो उद्योगलाई सुरुबुरु मान्छिन्। ‘घरै चलाउन त पुग्दैन तर भान्साघर चॉंही थेग्छ,’ भन्छिन्, ‘हामी खदाको धागो तान्छौं, धेरै परिवारका महिलाहरू यही काम गर्छिन्।’ 10 माइलमा खदा प्रिन्ट गर्दै आइरहेकी सुषमा शिलालले 10 वर्षदेखि यो काम गरिरहेकी छन्। ‘व्यापारीहरूले सुरतबाट कपडा मगाउँछन्,’ तिनले भनिन्, ‘हामी त्यसमा डिजाउन दिन्छौं।’
Post a Comment