Header Ads

आइफल टिपिरहेकी युवती : नेपाली कविताहरु

 
आइफल टिपिरहेकी युवती
धेरै वर्ष अघिको कुरा हो
जोबाट भारी झारेर
आँगनमा सुज्या* पिउँदै गर्दा


ग्योङखाङ* हिमालको हावा सिरिरि बग्दै थियो।
ग्योखाङको काखको
सानो हेमलेटमा
मैले त्यही


तिमीलाई कक्सी* टिप्दै गरेको भेटेंको हुँ
त्यत्तिबेला
कुनै खप्पिस चित्रकारले कोरेको चित्र जस्तो
आँगन, सागबारी र कक्सीको फेदभरि 


क्यान्भास बनेको प्रिमुला डेण्टिकुलता* ।
निलो गमबुटको टेकाईले सुन्दर चित्र जोगाउँदै हिँडिरहेकी तिमी
सिष्टिको पहिलो सुन्दरी नाजोङ न्यु* हिँडे जस्तै सालिन थियौं ।
त्यतिबेला मैले सोच्नै सकिन 


प्रिय नाजोङ न्यू तिमी मेरै एउटा करङबाट उत्पन्न सुन्दरी हौं।
न त मैले भन्नै सके एक्लै कति दिन
यसरी आइफल टिप्दै एकाकी जीवन जिउने?
न त मैले तिमीलाई आदिम पुरूष फुदोङथिङ* को सम्झना गराउन सकें
तिमी एक्लै कुनै पुरानो लोकगीत गाउँदै 


कक्सी टिपिरह्यों, टिपीरह्यौं।
रातो कक्सी र तिम्रो मुहार दिदी बहिनी जस्तै लाग्थ्यो।
धेरै वर्षपछि तिम्रो याद आयो
एउटा सम्झना लेख्दैछु 


मेरो कवितामा तिमी खोज्दैछु
साँच्ची अचेल कस्तो छ नी तिम्रो गाउँ
हिमालको फेदमा आइफल पाक्यो होला ?
गुम्पामा तिमी चौरीको घ्युको छिमी बाल्छौं कि बाल्दैनौ


मेरो सम्झाना छ कि छैन
घरमा सुज्या* पाक्छ कि पाक्दैन
अँ आपाले ची* खानु छोड्यो रे
तिम्रो मौलिक गाउँमा पनि डाइबिटिज पुगेछ
सबै भन्दा दुःखको कुरा 


तिम्रो र मेरो कथाको पार्श्व दृष्य
तिम्रो गाउँमा आइफल फल्नै छोडेछ।
साँच्ची सुन त !
तिम्ले कक्सी टिप्दै गरेको त्यो सुन्दर फोटो अझै म सितै छ त।

जोः भारी बोक्ने गाइ र चौरीको ठेम्मर
ग्योङखाङ* लाचेनपाहरूको पुज्य हिमाल
नाजोङ न्युः पहिलो स्वास्नीमान्छे लेप्चा मिथ
फुदोङथिङः पहिलो लोग्नेमान्छे लेप्चा मिथ
कक्सीः लाचेन लाचुङमा फल्ने आइफलको नाम
सुज्याः चिया
चीः जाँड लेप्चा भाषा
प्रिमुला डेन्टिकुलताः प्रिमुलाको वैज्ञानिक नाम

Title : Apple Picking
By Daniel F. Gerhartz
Powered by Blogger.