Header Ads

कालेबुङको डम्बरचोकमा सड्क कविता र गीतका कार्यक्रम

प्रदीप लोहगुण 
कालेबुङ : पहिलो बैशाख, नेपाली नयाँ बर्ष। भारतमा अङ्ग्रेजी नयाँ बर्षलाई जस्तो नेपाली नयाँ बर्षलाई रमझमसँग स्वागत गर्ने चलन छैन। भारतका नेपालीहरू आफैले पनि नेपाली नयाँ बर्षलाई उत्सव र उत्साहसँग मनाउने परम्परा छैन। केही जातीय अनि संस्कृतिसचेत संघसंस्थाहरूले यस दिन सांस्कृतिक शोभायात्रा र लोकसांस्कृतिक कार्यक्रमको आयोजना गरेर नेपाली नयाँ बर्षलाई स्वागत गर्ने गरेका छन। कालेबुङमा यो बर्ष ठूलो रूपमा त्यो पनि भएन। तर कालेबुङमा युवाकविहरूले यो दिनलाई त्यसै सामसुममा बित्न दिएनन्। कला र सिर्जनालाई आममानिसको पहुँचसम्म पुर्‍याउने सांस्कृतिक अभियानमा लागेका युवाकविहरूले नेपाली नयाँ बर्षको अवसर पारेर आयोजना गरेका थिए सडककविता उत्सव। 

कविताकर्म मार्फत वैचारिक अभियानलाई निरन्तरता दिँदै आएको सड्क कविता समूहसित सम्बद्ध युवाकविहरूले नेपाली नयाँ बर्षमा दौरासुरूवाल लगाएर समला र मारूनीको तालमा कम्मर त मर्काएनन्, तर उनीहरूले आफ्ना कवितामार्फत आममान्छेको समवेदना, पिडा र सपनालाई सम्बोधन गरिरहेका थिए। आफ्ना कविताको शक्तिमाथि विश्बास राख्ने युवाकविहरूले यो देशको सत्ता र शासकले आममान्छेको सपना तुहाउने चलाइराखेका चलखेलहरूको पोल खोलिरहेका थिए। युवा साहित्य अकादमी पुरस्कार विजेता कवि मनोज बोगटी, लेखनाथ छेत्री, बिशाल राई, आशिषदीप राई, प्रदीप लोहागुण, भीमा राई ‘तोलाछा’, आकाश पिठाकोटेजस्ता युवाकविहरूको हाँचलाई उत्साह र उर्जा प्रदान गर्न सामेल भएका थिए कवि एवं नाट्यकर्मी सीके श्रेष्ठ। उमेरले पाको भए पनि विचारले अझै युवा छु भन्दै सीके श्रेष्ठ युवाजमातका कविहरूसँग मिसिएर कविता सुनाउन पाउँदा आनन्द अनुभव गरिरहेका थिए। 

आफ्नो छोटो सम्बोधनसितै एउटा कविता र गीत सुनाएका श्रेष्ठले कालेबुङको डम्बरचोक राम्रै गरी तताएका थिए। राजनीति, नाटक, सिनेमा, संगीत अर्थात कलामार्फत समाजसरोकारको हरेक मोर्चामा युवाजोश लिएर देखा पर्ने सीके श्रेष्ठले कविता सुन्न डम्बरचोकमा उभिएका श्रोताहरूलाई पनि निराश पारेनन। आफ्ना दर्शक र श्रोतहरूसँग सँधै रसिक र रोचनशैलीमा सम्वाद गर्ने श्रेष्ठले कविता सुनाउन डायसमा आउन साथ आफ्नो रसिक स्वभाव उजागर गरिहाले। “म कविता सुनाउन यता आउँदै गर्दा एकजनाले अपुइ बूढो पो रैछ भनेको सुनिहालेँ। मलाई बूढो भनेको सुनेँ झनक्क रिस उठछ” श्रेष्ठले भने। उनले आफूलाई बूढोभन्दा किन रिस उठ्छ भन्ने कुरा पनि खुलाए।मान्छेलाई उसको उमेरले भन्दा पनि विचार र चेतनाको स्तरले उसको बुढ्यौलीपनको मापन गरिनुपर्ने उनको तर्क थियो। “म आफ्नो किशोरकालदेखि यो उमेरसम्म पनि समाजको हरेक मोर्चामा पूर्ण जोश र उत्साहसँग खटिरहेको छ। 

समाजको चेतनाको स्तर उकास्न आफ्ना आधी जीवन व्यतित गर्ने म बूढो कि ती निकम्म युवाहरू बूढो जो गेडागोटी खाएर आफ्ना आमाबाबुलाई हैरान पारिरहेका छन” सीके श्रेष्ठले यति भन्दा ताली पिट्ने युवाहरू नै थिए। उनले यस दिन युवाशक्ति र युवाजोशको खूब पैरवी पनि गरे। युवाकविहरू आफ्ना सृजनाधर्मलाई पालन गर्दै कवितामार्फत आममान्छेसँग सम्वाद गर्न सडकमा ओर्लेको घटनालाई समाजपरिवर्तनको लक्षणको रूपमा ग्रहण गर्नु पर्ने बताए। “युवा भनेको राजनैतिक दलको झण्डा र पोष्टर टाल्ने जनशक्ति भनेर मात्र बुझ्नु हुँदैन। युवा भनेको यी कविहरू पनि जसले सुन्दर समाजको निर्माणको सपना बोकेर यसरी विचारको यात्रामा हिँडिरहेका छन्” उनले भने। उनले बनमारा शीर्षकको कविता सुनाएर श्रोताहरूलाई उचाले। बनमारालाई किनारीकरणमा परेको गोर्खाजातिको बिम्ब बनाएर उनले सुनाएको यो कविताले गोर्खाजातिको पौरखी र संघर्षशील चरित्रलाई प्रस्तुत गरेको थियो। 

आँधीका सन्तान भन्ने गीत सुनाएर उनले आजका राष्ट्र, समाज र जातिको निम्ति केही नयाँ काम गर्ने सपना पालेका युवापुस्तालाई समाजका जडसत्ताले अब बाटो छोडिदिनु पर्ने समय आएको संकेत गरेका थिए। डम्बरचोकजस्तो कालेबुङको व्यस्त ठाउँमा उभेर कविहरूले पालैपालो आफ्ना जोशपूर्ण कविताहरू सुनाइरहँदा श्रोताहरूलाई न छेवैबाट गुडिरहेको यात्रुवाहनहरूको कर्कश आवाजको पत्तो थियो न तिनका चर्को हर्नको वास्ता थियो। कवि मनोज बोगटी अनि प्रदीप लोहागुणले सडककविताको आयोजनाको उद्देश्यबारे खुलाएका थिए। ‘कला सबैका लागि” भन्ने सार राखेर आयोजित कार्यक्रमको उद्देश्य कलासाहित्यलाई आममानिसको पहुँचसम्म पुर्‍याउने आफ्नो समूहको अभिष्ट रहेको दुवै कविहरूको भनाइ थियो। “कविहरू सडकमा ओर्लिएको अनुभव कम सुखद रहेन। कलालाई आम मान्छेको पहुँचसम्म पुर्याउने युवा कविहरूको उत्साह,उर्जा र प्रतिबद्धताले निश्चय पनि नयाँ क्षितिज उघारेको छ भन्ने आत्मविश्वास बोध भइराखेको छ यतिबेला।

कविता लेखेर खान पुगेको इतिहास छैन हामीसित। न कविता सुनाएर रातारात समाज परिवर्तन गरेको कुनै अभिलेख छ तर कविहरूको सडक अवतरणले अब कविता साह्रै निरिह छ भन्ने धारणालाई पनि तोड्ने विश्वास भने पलाएको छ” कवि मनोज बोगटीले भने।उनले आफ्नालगायत नेपालका कविहरू आहुति, विनोदबिक्रम केसी, राजा पुनियानीका शक्तिशाली कविताहरू वाचन गरेका थिए। प्रदीप लोहागुणले यो देशको निर्माता को? र जादूगर सरकार शीर्षकका कविताहरू सुनाएर माहोल तताएका थिए। कविहरू लेखनाथ छेत्रीले सोनू निगम र छोटा रंगीतको बगर, आकाश पिठाकोठेले म्यानेर साहेब, गगन राईले जाति हराएको सूचना, छेवाङ योञ्जनले खदूवा कविता सुनाएर सडककविताको अभिष्टलाई सघाएका थिए। 

कविहरू श्याम गुरुङ, उमेश दर्जी, प्रनेश पाखरिन, राकेश क्रान्तिकारी, पुकार पारदर्शी आदिले पनि आफ्ना शक्तिशाली कविताहरूमार्फत श्रोताहरूसँग काव्यिकसम्वाद गरेका थिए। दृश्य नाटक समूह( लालीगुराँस साँस्कृतिक मञ्च)-ले प्रस्तुत गरेको 'मशिन' र 'आधा आकाश' सडक नाटक कार्यक्रमको थप आकर्षण थियो। मजदूर उत्पिडन र महिला शोषण अनि भेदभावलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको सडकनाटकलाई दर्शकहरू ताली पिटेर प्रतिक्रिया दिएका थिए।

Powered by Blogger.