नेपाली सरकारद्वारा अन्तर्राष्ट्रिय सहयोगकालागि आव्हान
काठमाण्डौं : शनिबार दिउँसो गएको शक्तिशाली भूकम्पका कारण देशभरी ज्यान गुमाउनेको संख्या झण्डै १५ सय पुगेको हुन सक्ने नेपाली सेनाले अनुमान गरेको छ।
काठमाण्डौं उपत्यकामा १५ सय बढीको ज्यान गएको बताइएको छ।
क्षतिको विवरण संकलन र उद्धार कार्य जारी रहँदा सरकारले भूकम्प प्रभावित इलाकाहरुलाई संकटग्रस्त क्षेत्रको घोषणा गरेको छ।
सरकारले अन्तर्राष्ट्रिय सहयोगका निम्ति समेत अपील गरेको छ।
प्रयास
अमेरिकी भूगर्भ विभागले ७ दशमलब ८ रेक्टर स्केल मापन गरेको गोर्खाको बार्पाक केन्द्रविन्दु भएको उक्त शक्तिशाली भूकम्पको धक्का मध्यान्हमा महसुस गर्दा धेरैले भगवानको नाम पुकारेका थिए। लगभग देशभर उक्त ठूलो भुकम्पको झट्का रोकिने बेला सम्म राजधानी काठमाण्डुका धरहरा सहितका कतिपय ऐतिहासिक धरोहर भग्नावशेषमा परिणत भैसेकेका थिए।
अधिकारीहरुले अबेर साँझ सम्म क्षतिको विवरण संकलन र उद्धारको काम जारी राखेका छन्।
नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले भने, “काठमाण्डुका पुराना भवनहरु भत्किएर मान्छेहरु पुरिएको अवस्था छ। सबै निकाल्न सकिएको छैन तर प्रयास भइरहेको छ। क्षतिको विवरण विस्तारै आउदै जान्छ। पहिले चाहिं हताहत भएका मान्छेहरुको लागि हाम्रो काम केन्द्रित हुन्छ।”
निर्णय
भूकम्पबाट काठमाण्डुपछि सबैभन्दा बढी क्षति काभ्रे, धादिङ्ग नुवाकोट लगायत आसपासका जिल्लामा भएको अधिकारीहरुले बताएका छन्।
काठमाण्डूका विभिन्न अस्पतालमा कम्तीमा १७ सय जना घाइतेहरुको उपचार भैरहेको प्रहरीले बताएको छ।
मध्यान्हको शक्तिशाली भूकम्पपछि पनि निरन्तर झटकाहरु महसुस गरिएपछि तत्काल उद्धार कार्य अघी बढाउन कठिनाइ भएको थियो।
शनिबार दिउँसो देखी नै गृहमन्त्रालयमा स्थापित राष्ट्रिय आपतकालिन उद्धार केन्द्रमा जम्मा भएर सरकारका वरिष्ठ मन्त्रीहरु सुरक्षा निकायका प्रमुखहरु र गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरुले उद्धार कार्यको समन्वय गरेका थिए।
दिउँसो कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले भूकम्पबाट प्रभावित जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै राहत र उद्धारका लागि तत्कालै ५० करोड रुपियाँ बराबरको कोष खडा गर्ने निर्णय गरेको छ।
आव्हान
उक्त बैठकले भूकम्पका कारण निक्कै ठूलो जनधनको क्षति भएकाले सहयोगका लागि अन्तर्राष्ट्रिय निकाय र छिमेकी राष्ट्रहरुलाई आग्रह गरेको सरकारका प्रवक्ता मिनेन्द्र रिजालले बताए।
उनले भने, “प्रारम्भिक लेखाजोखाबाट ठूलो क्षति भएको र शीघ्र प्रतिकार्यमा राष्ट्रिय क्षमता अपुग हुने देखिएकोले अन्तर्राष्ट्रिय मानवीय सहायताका लागि आव्हान गर्ने नेपाल सरकारले निर्णय गरेको छ।”
विज्ञहरुले धेरै पहिले देखि नै काठमाण्डुमा भूकम्पको उच्च जोखिम रहेको बताउँदै आएका थिए।
उक्त राष्ट्रिय विपत्तीपछि एफ्रो एसियाली देशहरुको सम्मेलनमा भाग लिन इन्डनेसिया पुगेका प्रधानमन्त्री सुशील कोइराला आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्कन लागेका छन्।
बीबीसी नेपाली सेवासंग कुरा गर्दै प्रधानमन्त्रीसंगै रहेका उनका निजी चिकित्सक प्रा. डा. करवीरनाथ योगीले शनिबार बेलुकासम्म कुनै विमान नपाइएकाले आइतबार बिहान प्रधानमन्त्री कोइराला काठमाण्डौ फर्कने जानकारी दिए।
जकार्ताबाट कोइराला स्वास्थ्य परीक्षणकालागि बैङ्कक पुगेका थिए।
केही बेर अघिसम्म पनि झट्काहरु महसुस भैरहेकाले दिउँसो देखि नै घरबाहिर बसिरहेका राजधानीवासी अझै पनि खुल्ला स्थानमा बसिरहेका छन्।
Post a Comment