असम : भारतीय गोर्खा परिसंघले मुख्यमन्त्रीसँग भेट गरी बाढीपीडित राहतका लागि ₹२,३४,५६७ को चेक हस्तान्तरण
गुवाहाटी, ५ नोभेम्बर २०२६ : भारतीय गोर्खा परिसंघ (भागोप), असम राज्य समितिको एक प्रतिनिधिमण्डलले समितिका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष श्रीअमर अधिकारीको नेतृत्वमा आज असमका माननीय मुख्यमन्त्रीसँग लोकसेवा भवनस्थित मुख्यमन्त्री कार्यालय, असम सचिवालय, गुवाहाटीमा शिष्टाचार भेटघाट गरेको छ। प्रतिनिधिमण्डलमा भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष श्री नित्यानन्द उपाध्याय तथा राष्ट्रिय मूलसचिव ( प्रसाशन) एवं भागोप असम राज्य समितिका निवर्तमान मूलसचिव श्री नन्द किराती देवान पनि सहभागी हुनुहुन्थ्यो।
भेटका क्रममा प्रतिनिधिमण्डलले असमका माननीय मुख्यमन्त्रीलाई मुख्यमन्त्री राहत कोष (CMRF) मा योगदानस्वरूप ₹२,३४,५६७ (रुपैयाँ दुई लाख चौँतीस हजार पाँच सय सतसट्ठी मात्र) को चेक हस्तान्तरण गरेको छ। असमका गोर्खाहरूको तर्फबाट भारतीय गोर्खा परिसंघ, असम राज्य समितिमार्फत प्रदान गरिएको उक्त आर्थिक सहयोग शिवसागर जिल्लाको बिहुबर क्षेत्रका बाढीपीडित परिवारहरूलाई राहत प्रदान गर्न तथा असम सरकारको जारी राहत एवं पुनर्वास कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको हो।
प्रतिनिधिमण्डलले यस अवसरमा भारतीय गोर्खा परिसंघद्वारा प्रस्तुत असमका गोर्खा समुदायलाई वन अधिकार ऐन, २००६ अन्तर्गत अन्य परम्परागत वनवासी (Other Traditional Forest Dwellers -OTFD) का रूपमा मान्यता प्रदान गर्नुपर्ने मागसहितको ज्ञापनपत्रका विषयमा पनि माननीय मुख्यमन्त्रीसँग विस्तृत छलफल गरेको थियो।
माननीय मुख्यमन्त्रीले प्रतिनिधिमण्डलका माग तथा विषयवस्तुहरूलाई धैर्यपूर्वक सुन्नुभयो। उहाँले भारतीय गोर्खा परिसंघबाट इमेलमार्फत ज्ञापनपत्र प्राप्त भएपछि असम सरकारले आफ्नो अधिकार क्षेत्रभित्र आवश्यक प्रक्रिया तथा पहलहरू सम्पन्न गरिसकेको जानकारी गराउनुभयो। उहाँले यस विषयमा अब भारत सरकारको स्तरमा उचित नामकरण तथा गोर्खा समुदायलाई अन्य परम्परागत वनवासीको श्रेणीमा समावेश गर्ने अथवा वनमा आश्रित समुदाय का रूपमा मान्यता प्रदान गर्ने विषयमा विचार-विमर्श हुनुपर्ने बताउनुभयो। साथै, भारत सरकारबाट प्राप्त हुने सम्बन्धित निर्देशन तथा कानुनी प्रावधानहरूका आधारमा राज्य सरकारले यस विषयमा थप विचार गर्न सक्ने पनि उहाँले स्पष्ट पार्नुभयो। यस विषय मा मुख्य मन्त्रीज्यूले भा गो प ले केन्द्रिय सरकार संग पहल गर्न सल्लाह प्रदान गर्नु भो।
भेट घाट क्रममा भा गो प प्रतिनिधिमण्डल ले मुख्य मन्त्रीज्यू लाई गोर्खाली निङ्खुक ( बुनेको जनजातीय खाँदा), सिलाम साकमा, गोर्खेँ खुखुरी, गोर्खाको फुलबुट्टे टोपी, भा गो प रजत जयन्ती खाँदा साथै नन्द किराती देवान द्वारा सम्पादित र गोर्खा उन्नयन परिषद असम सरकार द्वारा प्रकाशित भा गो प असम राज्य समिति को रजत जयन्ती विशेषाङ्क मुखपत्र ' रैथाने ' अर्पण गरे।
यस भेटघाटले बाढीपीडित समुदायहरूलाई मानवीय सहयोग प्रदान गर्ने तथा असमका गोर्खा समुदायको वैधानिक अधिकार, पहिचान र संरक्षणका लागि सरकारसँग निरन्तर र रचनात्मक संवाद एवं पहल गर्दै आएको भारतीय गोर्खा परिसंघ, असम राज्य समितिको प्रतिबद्धतालाई पुनः प्रतिबिम्बित गरेको छ।

Post a Comment