Header Ads

न्युयोर्कमा घन्किँदै सांगीतिक ब्यान्ड नेपथ्यका पहिलो सांगीतिक प्रस्तुतिको भदौ १२ मा

न्युयोर्क  : सांगीतिक ब्यान्ड नेपथ्यले न्युयोर्कमा लाइभ कन्र्सट गर्ने भएको छ। अमेरिकामै आफ्नो पहिलो सांगीतिक प्रस्तुतिको रूपमा भदौ १२ मा नेपथ्य म्यानहाटनको हयामरस्टाइन बलरुममा गुन्जिनेछ। तीन हजार ५ सय दर्शक क्षमता रहेको हयामरस्टाइन बलरुम अमेरिकाको मध्यमस्तरको सांगीतिक सेन्टर हो। अमेरिकामा यति ठूलो सांगीतिक हलमा नेपाली गीत संगीत गुन्जिन लागेको चाहिँ सम्भवत: यो पहिलो हो। ‘एकताका लागि संगीत’ कन्सर्ट नेपथ्यले न्युयोर्कका अतिरिक्त टेक्सासको डालासमा पनि गर्ने आयोजक लुम्बिनी इन्टरनेसनलले जनाएको छ। न्युयोर्कको सोको एक महिनापछि डालासमा कन्सर्ट हुनेछ। 

‘न्युयोर्क र डालासका अतिरिक्त नेपाली डायस्पोराको घनत्व रहेका अन्य सहरमा पनि कार्यक्रम गर्ने तयारी तीव्र छ,’ लुम्बिनी इन्टरनेसनलका विश्व शाहले भने, ‘नेपथ्य ब्यान्डसँगको सम्झौताअनुसार कम्तीमा पाँँचवटा कार्यक्रम गर्ने योजना छ।’ पूर्णरूपमा व्यावसायिक रहेको नेपथ्यको यो टुरलाई ओडिसी इन्टरटेनमेन्ट एसोसिएनले प्रमुख रूपमा सघाएको छ। सोमबारको पत्रकार सम्मेलनमा ओडिसीका सिमोन गुरुङले कन्सर्ट खर्चिलो रहे पनि यो नयाँ प्रयोग भएको उल्लेख गरे। ‘केही समयदेखि नै नेपथ्यलाई विदेश भूमिमा प्रस्तुत गर्ने प्रयास गरिरहेका थियौं, अहिले कुरा मिल्यो,’ गुरुङले भने। आयोजकले एउटा स्टेज सोका लागि नेपथ्यलाई १५ हजार अमेरिकी डलर पारिश्रमिक उपलब्ध गराउनेछ। आयोजना स्थलको नियम मुताबिक ३५ देखि एक सय डलरसम्मको टिकट दर्शकश्रोताले अनलाइनमार्फत किन्नुपर्नेछ।

कान्तिपुर बाट

Powered by Blogger.