Header Ads

लेबननः बम विष्फोटमा ४० जनाको मृत्यु

बेरुत : लेबननको राजधानी बेरुतमा बिहिबार साँझ गराइएका दुईवटा आत्मघाती बम विष्फोटमा कम्तीमा ४० जना मानिसहरु मारिएका छन्। घटनामा अन्य धेरै घाइते भएको अधिकारीहरुले बताएका छन्। हिज्बुल्लाह लडाकु समूहका समर्थकहरुको पकड रहेको शिया बहुल जिल्लामा विष्फोट गराइएको थियो। लेबनन रेडक्रसका रोडनी ईदले भने, “दुईवटा श्रृंखलाबद्ध विष्फोट गराइएको रिपोर्ट आयो, र त्यसबेला लेबनन रेडक्रसले उद्धार कार्यमा सघाउन ६ वटा एम्बुलेन्स पठायो, मृतक र घाइतेको संख्या बढी देखिएपछि हामीले थप एम्बुलेन्स पठाउनुपर्यो।”

हिंसात्मक
लेबननमा सन् १९९० मा गृहयुद्ध सकिएयताको सबैभन्दा हिंसात्मक आक्रमण भएको बताइएको छ। इस्लामिक स्टेट समूहले विष्फोटको जिम्मा लिएपनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन्। लेबननका प्रधानमन्त्री तम्माम सलामले आक्रमणलाई कायरतापूर्ण कार्यको संज्ञा दिएका छन्। सिरियाली राष्ट्रपति बशर अल-असादलाई सघाउँदै आएको हिज्बुल्लाह समूहले आतंकवादीहरुविरुद्धको लडाइ जारी राख्ने बताएको छ। 

मस्जिद 
दुईजना आत्मघाती आक्रमणकारीले स्थानीय समय अनुसार साँझ ६ बजे बुर्ज अल बराजनेहको सडकमा एकअर्कादेखि छोटो दूरीमा विष्फोट गराएका थिए। एकजना सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एसोसिएटेड प्रेसलाई बताएअनुसार पहिलो हमलाकारीले एउटा शिया मस्जिद बाहिर विष्फोट गराएका थिए भने अर्काले बेकरी नजिक विष्फोट गराएका थिए। नजिकै तेस्रो आक्रमणकारीको शव भेटिएको थियो। विष्फोट गराउनुअघि दोस्रो विष्फोटमा परी उनको ज्यान गएको जस्तो देखिन्थ्यो। एकजना प्रत्यक्षदर्शीले स्थानीय टेलिभिजनलाई भने, “जब दोस्रो विष्फोट भयो मलाई लाग्यो विश्वनै सकियो।”

- BBC 
 
Powered by Blogger.