Header Ads

लण्डनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध

लण्डन : नेपाल विरुद्ध भारतले अघोषित नाकावन्दी लगाएको भन्दै ब्रिटेनको भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गरिएको छ। लण्डनस्थित ब्रिटिश प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रीट नजीकै भेला भएका सैयौं गैरआवासीय नेपालीहरुले भारत सरकारसंग नाकावन्दी तत्काल हटाउन माग गरेका थिए। भारत सरकारले भने आफुले नेपाल विरुद्ध नाकावन्दी नलगाएको जनाउँदै आएको छ। बिहीबार अपरान्ह लण्डनस्थित संसद भवन तथा प्रधानमन्त्रीको कार्यालय नजीकै भेला भएका केही भारतीय तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरुले ब्रिटेनको तीन दिने भ्रमणमा बिहीबार नै लण्डन आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गरेका थिए।

प्रदर्शन
गत केही साता यता नेपाल विरुद्ध भारतले अघोषित नाकावन्दी लगाएको भन्दै ब्रिटेनस्थित दर्जनौं संघसंस्थाका प्रतिनिधिहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। गैरआवासीय नेपाली संघ युके, नेपाली जनसम्पर्क समिति युके, प्रवासी नेपाली संघ युके लगायत दर्जनौं संघसंस्थाको सहभागितामा आयोजित उक्त प्रदर्शन नेपालको राष्ट्रिय गानबाट शुरु भएको थियो भने गत बैशाखमा नेपालमा गएको विध्वंशकारी भूकम्पमा निधनहुने नेपालीहरुको संझनामा एक मिनट मौन धारण पनि गरिएको थियो। नेपालको झण्डा बोकेका तथा दौरा सुरुवाल लगाएका कतिपय सहभागीहरुले “भारत - नेपालमा आर्थिक नाकावन्दी अन्त्य गर, नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप बन्द गर” जस्ता सन्देश लेखिएका प्लेकार्डहरु पनि बोकेका थिए। यस्तो प्रदर्शनले नेपालले हाल भोगिरहेकेा समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउन मदत पुग्ने गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले बताए। हामी यस्तो विरोधले भारतलाई सजग गराउने अपेक्षा पनि लिएका छौं, उनले भने। नेपालमा दशैं, तिहारजस्ता प्रमुख चाडबाडसंगै जारी रहेको सीमा नाका अवरोधले जनजीवन अस्तव्यस्त हुनुकासाथै इन्धन तथा औषधिलगायतका अत्यावश्यक वस्तुहरुको अभाव देखिएको अधिकारीहरुले जनाएका छन्।

चेतावनी
संयुक्त राष्ट्र संघलगायतका संस्थाहरुले यदि यही स्थिति जारी रहेमा मानवीय संकटको स्थिति आउनसक्ने चेतावनी पनि दिएका छन्। उता भारत सरकारले भने नेपाल भारत सीमामा जारी गतिरोध आफ्नो कारणले नभएको भन्दै सीमामा धर्ना दिइरहेका मधेसी आन्दोलनकारीहरुसंग वार्ता गरी समस्या सुल्झाउन नेपाल सरकारलाई भन्दै आएको छ। यसअघि जिनिभा लगायतका शहरहरुमा पनि प्रवासी नेपाली संगठनहरुले भारतले अघोषित नाकावन्दी लगाएको भन्दै त्यसको विरोध गरेका थिए। यसैबीच ब्रिटेनस्थित प्राज्ञिक संस्था ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलले नेपाल सरकारलाई मधेसी जनताका समस्या संबोधन गर्न अर्थपूर्ण संवाद थाल्न आग्रह गरेको छ। उक्त संस्थाले उउटा भूपरिवेष्ठित मुलुकको रुपमा नेपालको हकको सम्मान गर्न तथा अत्यावश्यक वस्तुहरुको आपूर्ति सुनिश्चित गर्न पनि भारत सरकारलाई आह्वान गरेको छ।

- BBC 
Powered by Blogger.