Header Ads

टर्कीः संसदीय निर्वाचनमा सत्तारुढ दलको बहुमत


अंकारा। टर्कीको सत्तारुढ जस्टिस एण्ड डेभेलपमेन्ट दल-एकेपी महत्वपूर्ण ठानिएको त्यहाँको संसदीय निर्वाचनमा विजयी भएको छ। योसँगै गत जुन महिनामा गुमाएको बहुमत उसले पुनः हासिल गरेको छ। टर्कीको सरकार नियन्त्रित समाचार संस्था आनाडोलुका अनुसार लगभग सबै मत गणना भइसक्दा एकेपीले ४९ दशमलव ४ प्रतिशत मत प्राप्त गरेको छ। प्रमुख प्रतिपक्षी सीएचपीको पोल्टामा २५ दशमलव ४ प्रतिशत मत परेको छ।

बहुमत
प्रधानमन्त्री अहमेत दावूतव्लुले निर्वाचन परिणामलाई ‘लोकतन्त्र र जनताको जीत’ भएको बताएका छन्। तर उनका एकजना आलोचकले भने, “म एकदमै निराश छु, उनी राम्रा मान्छे होइनन्, खासमा म नराम्रो महसुस गरिरहेको छु।” कुर्दिश समर्थक एचडीपी पार्टीले संसदमा सीट दाबीका निम्ति निर्धारण गरिएको न्यूनतम १० प्रतिशतको सीमालाई पार गरेको छ। राष्ट्रवादी एमएचपी पार्टीले पनि अंकारास्थित संसदमा स्थान पाउने भएको छ।

संशोधन
निर्वाचनअघि गरिएको मत सर्वेक्षणहरुले सत्तारुढ एकेपीले ४० देखि ४३ प्रतिशतसम्म मात्र मत प्राप्त गर्ने देखाएका थिए। गत जुन महिनामा भएको मतदानमा एकेपीले १३ वर्षयता पहिलो पटक संसदमा बहुमत गुमाएको थियो। जुन महिनाको निर्वाचनपछि गठबन्धन सरकार बनाउने प्रयासहरु विफल भएका थिए। लगभग सबै नतिजा आइसक्दा एकेपीले दुई सय ७६ भन्दा बढी सीट हासिल गरेको छ, जुन एक्लै सरकार गठनका निम्ति पर्याप्त हुनेछ। यद्यपि राष्ट्रपति रिजेप ताय्यीप एर्डोआनको अधिकार बढाउने विषयमा जनमत संग्रहको आह्वान गर्नका निम्ति आवश्यक बहुमत पुर्याउन चाहिने थप १४ सीट ल्याउन उक्त पार्टी विफल भएको छ। थप ६० सीट ल्याएको भए भने जनतम संग्रह बिना नै एकेपीले संविधानमा आवश्यक संशोधन गर्न सक्थ्यो।

Powered by Blogger.