Header Ads

अमेरिकामा नेपाली युवाको समुन्द्रमा डुबेर मृत्यु


न्यूयोर्क । समुन्द्रमा पौडी खेल्न गएका एक नेपाली युवाको छालले बगाउँदा डुबेर मृत्यु भएको छ । ओखलढुंगाको रुम्जाटारका राजेश गुरुङका १८ वर्षीय छोरा रूद्रजंग गुरुङको क्विन्सस्थित रकवे बिचमा पौडी खेल्ने क्रममा बुधबार दिउँसो डुबेर मृत्यु भएको हो । उनलाई डुबेको झण्डै दुई घन्टापछि अग्नि नियन्त्रकहरुले समुऽको छालमा घोप्टो परिरहेको अवस्थामा उद्धार गरेका थिए । उद्दारपछि तत्काल स्थानीय सेन्ट जोन अस्पताल पुर्‍याएपनि चिकित्सकले मृत घोषित गरेका छन् । उनी कुइन्सस्थित एल्मस्र्ट न्यूटन हाइस्कुलमा अध्ययनरत थिए । त्यसदिन उनी विद्यालयको पढाइ छाडेर साथीहरुसँग पौडी खेल्न निस्केका थिए। एलमस्र्टदेखि पौडी खेल्न फार रकवे पुगेका उनलाई छालले तानेपछि साथीहरु डराएर कसैलाई खबर गरेनन् ।

तर, केही समयपछि नजिकैका केही ब्यक्तिले देखेर अमेरिकाको आपतकालिन फोन नम्बरमा खबर गरेका थिए। शुरुमा राम्रोसँग पौडी खेल्दै गरेका गुरुङलाई एक्कासी छालले उफारेपछि पानीभित्र हराएको मृतक गुरुङका साथीले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । नेपाली युवालाई रिप टाईड समुन्द्री छालले तानेर डुबाएको न्यूयोर्क डेली न्यूजले उल्लेख गरेको छ । उद्दारकर्मीहरुले हेलिकप्टर र डुङ्गाबाट डुबेका युवाको खोजी गरेका थिए । उनलाई पौडी खेलेको ठाउँदेखि ६९ मिटर पर फेला पारिएको थियो । रकवेको समुन्द्र किनारमा जाडो याममा पौडी खेल्न बन्द हुन्छ । 

गर्मी लागेपछि आधिकारिक रुपमा आगामी शनिबारदेखि मात्र सबैका लागि पौडी खेल्न खुला हुन्छ । त्यतिखेर लाइफ गार्डको समेत ब्यवस्था हुन्छ । गुरुङ डुबेको दिन आधिकारिक रुपमा बिच नखुलेकाले लाइफ गार्ड उपलब्ध थिएनन् । सेनाका पूर्वमेजर राजेश केही वर्षदेखि परिवारसहित न्यूयोर्कको एल्मस्र्टमा बस्दै आएका छन् । रुद्र राजेशका कान्छा छोरा हुन्। राजेशको परिवार अहिले शोकमा डुबेको छ ।
Powered by Blogger.