Header Ads

मलेसियामा १५ नेपाली मृत्युदण्डको मुखमा!


क्वालालाम्पुर। वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १५ नेपाली कामदारलाई विभिन्न अपराधमा संलग्न रहेको भन्दै यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। मलेसियास्थित नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातका अनुसार मृत्युदण्डका सजाय पाएका अधिकांश नेपाली निर्दोश छन्। ‘यहाँका सजाय पाएका अधिकांश नेपाली निर्दोष छन्, कसैलाई भरिया बनाएर फसाइएको छ भने कसैले झुटो आरोप लगाइएको छ,’ उनले भने। राजदूत बस्न्यातका अनुसार लागुऔषधको कारोबारमा पक्राउ परेका नुवाकोटका हरिबहादुर घलेलाई मलेसियाको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। ५ वर्षअघि नै मृत्युदण्डको फैसला सुनाइए पनि हालसम्म सजाय भएको छैन। यद्यपी घलेलाई बचाउनका लागि दूतावासले कूटनीतिक पहल गरिरहेको राजदूत बस्न्यातले जानकारी दिए।

मृत्युदण्डको सजायमा पुगेका नेपालीलाई त्यसबाट बचाउन सकिन्छ कि भनेर प्रयत्न गरिरहेको उनले बताए। ‘कति नेपालीलाई गलत आरोपमा पनि मृत्युदण्डको सजायमा पुगेको हुनसक्छ, ती मृत्युदण्डको सजायमा पुगेका कतिलाई मान्छे मारेको तथा कतिलाई ड्रग्स बोकेको आरोप लगाइएको छ।’ नेपाली श्रमिकलाई मालिकले झोला बोक्न लगाउने र त्यही झोला बोक्दै गर्दा प्रहरीको चेकिङमा ड्रग्स भेटिएर समातिएको घटना पनि भेटिएको उनले सुनाए। यस्ता व्यक्ति मृत्युदण्डको सजायमा पुगेकोसम्म पाइएको भन्दै त्यस्ता मान्छेलाई न्याय हुनुपर्ने उनको जोड छ। ‘एउटा श्रमिकले मालिकले अह्राएको काम गर्दा उल्टै पक्राउ परेर मृत्युदण्डसम्मको सजाय पाउने अवस्थामा पुग्नु दुःखद हो। यो न्यायसंगत पनि हुँदैन,’ उनले भने, ‘हामीले वकिलमार्फत रिहाइको प्रयासस्वरुप मुद्दा लडिरहेका छौँ ।’

हत्या र लागूऔषधको आरोपमा पक्राउ १४ जनालाई उच्च अदालतले मृत्युदण्डको फैसला गरिसकेको छ। उनीहरूको विषयमा सर्वोच्च अदालतमा फैसला हुन भने बाँकी छ। यसअघि उस्तै प्रकृतिको अपराधमा मृत्युदण्ड दिएको हुनाले जति नै बहस भए पनि वकिलले उनीहरूलाई पनि मृत्युदण्डकै सजाय दिएकाले उनीहरूले माफी पाउने सम्भावना  कम भएको बस्न्यातले जानकारी दिए। अभियुक्तहरूको विषयमा बहस गर्न नेपाली ४ लाखदेखि १० लाख रुपैयाँसम्म अदातलमा धरौटी राख्नुपर्ने भएकाले दूतावासले त्यस विषयमा नेपाल सरकारलाई जानकारी गराइसकेको थियो। नेपाल सरकारबाट केही रकम आएपछि वकिल राखेर मुद्दा अगाडि बढाइएको उनले बताए। ‘यस मध्ये चार जनाको रकम हामीले बुझाइसकेका छौ, उनीहरूका लागि हाम्रो वकिलले मुद्दा लड्दैछन्,’ राजदूत बस्न्यातले भने।

दूतावासले वकिल राखेर जेलमा रहेका नेपाली कामदारको अध्ययन गरेपछि मृत्युदण्ड पाएका र पाउने तयारीमा रहेका कामदारका बारेमा जानकारी भएको बस्न्यातले बताए। ‘हामीले वकिल र एक जना प्रथम सचिवलाई नेपाली कामदार राखेको जेलमा हरेक १५ दिनमा गएर बुझ्न लगाएका छौ,’ उनीहरूको अनुगमनबाट मृत्युदण्ड पाएका नेपालीको बारेमा थाहा भएको हौ।’ ‘मलेसियामा ब्लडमनीको व्यवस्था छैन त्यसैले यहाँको राजाले माफी दिएमा मात्र मृत्युदण्ड रोकिन सक्छ,’ तर अहिलेसम्म मलेसियामा त्यसको अभ्यास भएको छैन,’ बस्न्यातले भने,‘यसका लागि नेपाल सरकारले थप पहल गर्नुपर्छ।’

क्वाललाम्पुरस्थित दूतावासमा सीमित सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजदूत बस्न्यातले आफू राजदूत भएर आएपछि उल्लेख्य सुधार गरेको भए पनि त्यो नदेखिएको दाबी गरे। दूतावासले गरेको अध्ययनअनुसार अहिले मलेसियाको जेलमा ५ सय ७० जना नेपाली कामदार छन् । त्यस्तै, २ सय ५८ जना कामदार घर फीर्ति केन्द्रमा छन्। सन् २०१४ जुलाईदेखि २०१६ जुलाईभित्र घर फीर्ति केन्द्रमा रहेका ६ सय १२ जना नेपाली कामदार दूतावासको समन्वयमा विभिन्न संघसंस्थाको सहयोगमा नेपाल फर्केका छन्। ‘म यहाँ राजदूत भएर आउँदा ९ सय ७५ जना जेलमा हुनुहुन्थ्यो, निरन्तरको प्रयासमा ६१२ जनामा घटाएको थिएँ। तर, मैले १० जनालाई निकालेर नेपाल पढाएँ भने मलेसियन प्रहरीले १५ नेपाली समात्छ, सामान्य घटनामा पनि मानिसलाई समातेर जेल हालिदिँदा संख्या घटाउन निकै मुस्किल हुन्छ,’ उनले भने।

मलेसियामा कामका सिलसिलामा मृत्यु भएका ७ जना नेपाली कामदारको शव मलेसियाको विभिन्न अस्पतालमा रहेको दूतावासले जनाएको छ। जसमा ८ जना महिला छन्। सन् २०१४ मा ३६१ जनाको मृत्यु भएको थियो भने सन् २०१५ मा ४६१ र सन् २०१६ मा ३९२ जना नेपालीको मृत्यु मलेसियामा भइसकेको छ। वैदेशिक रोजगार विभागको तथ्याङअनुसार नेपालबाट १० लाख ५६ हजार नेपाली मलेसियामा कार्यरत छन्। तर, फर्किएर जाने नपालीको तथ्याङ्क कतै नभएको राजदूतले बताए। सरकारसँग नै यकिन तथ्याङ्क नभएकाले हाल मलेसियामा ६ देखि ७ लाखको हाराहारीमा नेपाली रहेको हुनसक्ने बस्न्यातले बताए।

अझैं पनि कयौं अवैधानिक कामदार यहाँ रहेको हुनसक्ने उल्लेख गर्दै बस्नेतले अझैं पनि नेपाली दूताबासमा हरेक दिन १०० जनाको दरले फर्किनको लागि कागज बनाइदिन आग्रह गर्दै नेपाली कामदार आउने गरेको बताए। कामदारको चापको दृष्टिले हेर्दा मलेसियास्थित नेपाली दूताबास दिल्ली दूताबासपछिको दोस्रो दूतावास हो। तर, यो दूतावासको लागि नेपाल सरकारले आवश्यक जनशक्ति र बजेटको व्यवस्था नगरिदिएको बस्न्यातले गुनासो गरे। २१ जनाको दरबन्दी रहेको दूतवासमा १७ जना कर्मचारी छन्। ‘२२ जनाको दरबन्दी भएको दूताबासमा ४ जना कर्मचारी समेत सरकारले नपठाउँदा कार्य सम्पादनमा निकै समस्या भएको छ,’ राजदूतले भने। मलेसियामा सेक्युरिटी गार्ड, होटल रेस्टुरेन्ट, फ्याक्टी वर्करलगायतमा काम गर्न नेपालीहरु आउने गरेका छन्।

Powered by Blogger.