नेपाली संगीतमा प्रथम नारि गायिका - मेलवादेवी गुरुङ
नेपाली आधुनिक गीतको श्रृङ्खलामा
मेलवादेवी गुरुङ प्रथम नारी गायिका हुन् । उनले १९८५ सालमा भारतको
कोलकाताको ‘हिज मास्टर भ्वाइस कम्पनी’मा ‘सवारी मेरो रेलैमा’ बोलका गीत
रिकर्डिङ गराएकी थिइन् । उनी आफैँ गीत लेख्तै, धून बनाउँदै गाउने प्रथम
नेपाली गायिका थिइन्। ज्ञानबहादुर लामिछाने गुरुङ र सप्तदेवी
गुरुङकी जेठी छोरीका रूपमा मेलवादेवीको जन्म १९५६ सालमा भएको थियो । उनी
ओखलढुङ्गास्थित रुम्जाटारको काफलबोट गाउँमा जन्मेकी थिइन् । हाल त्यही
ठाउँमा उनको स्मारक रहेको छ । मेलवादेवीले पाँच वर्षदेखि नै गीत गाएर
गाउँलेलाई छक्कै पारेकी थिइन् । त्यसैले उनलाई राणाका दरबारमा गायिकाका
रुपमा भर्ना गर्न उनकी आमा सप्तदेवी गुरुङ र दिदी बलमाया गुरुङ १९६५ सालतिर
काठमाडौँ पसेका थिए । चन्द्रशमशेरका दरबारमा दाखिला भएपछि मेलवादेवीको
औपचारिक साङ्गीतिक इतिहास आरम्भ भएको थियो ।
मेलवादेवीले श्री ३ चन्द्रशमशेरको
दरबारमा गीत गाउन थालिन् । उनी दरबारको रङ्गमञ्च, सभासमारोहका अतिरिक्त
चन्द्रशमशेरसँगै सिकारमा जङ्गल पुगेर समेत गीत गाउँथिन् । चन्द्रशमशेर पनि
मेलवादेवीको स्वरका भक्त थिए । चन्द्रशमशेरले मात्र होइन उनकी रानी
बालकुमारीदेवीबाट पनि सुरुसुरुमा मेलवादेवीले बक्सिस पाइरहिन् । मेलवादेवीको कोकिल स्वरलाई विराट्
स्वरूप प्रदान गर्न चन्द्रशमशेर मग्न थिए । त्यसैले मेलवादेवीलाई
ख्यातिप्राप्त उस्ताद बालाप्रसाद शर्मा, गणपत, खेमचन्द्रआदिबाट शास्त्रीय
सङ्गीतको गायनमा पनि तालिम दिन थालियो । त्यसपछि उनी झन् उत्कृष्ट स्वरकी
कोइलीमा दर्ता हुन थालिन् ।
मेलवादेवीको स्वरले प्रकृतिलाई पनि
पगाल्ने गथ्र्यो । उनको स्वरको विषयमा उनकी छोरी विमला दीक्षतिले भनेकी
थिइन् ”मेरी आमाको स्वरमा महाराज चन्द्रशमशेरका साइँला छोरा हिजहाइनेस
केशरशमशेर पनि भुतुक्कै हुन्थे । त्यसैले एक दिन टन्टलापुर घाम लागेको बेला
केशरशमशेरले आमालाई भने ‘अब यस्तो बेलामा गीत गाएर तिमी पानी पार्न सक्छयौ
-’ त्यस बेला आमाको प्रत्युत्तर थियो ‘पानी कति मात्रामा पर्छ म त्यो भन्न
सक्तिनँ । तर आकाशमा बादल आउँछ र पानी पर्छ म यति भन्न सक्छु ।’ अनि
केशरशमशेरले आमासँग बाजी राख्तै भने ‘लौ तिमीले भनेको कुरा पुग्यो भने म
तिमीलाई पाँच हजार रुपियाँ दिन्छु ।’ आमाले डेढ घण्टा गीत गाएपछि आकाशमा
क्रमशः बादल लाग्यो र पानी पर्न थाल्यो । अनि केशरशमशेरले स्याबास भन्दै
आमालाई पाँच हजार रुपियाँ बक्सिस दिए ।”
चन्द्रशमशेरका पाहुनापासा आउँदा पनि
सिंहदरबार बेलायती बैठकमा झकिझकाउका साथ मेलवादेवीलाई उपस्थित गराइन्थ्यो ।
त्यतिखेर मेलवादेवी अतिथिको रुचिअनुसार शास्त्रीय, आधुनिक, भजन, लोकगीत र
नेवारी गीत समेत गाउने गर्थिन् । उनको स्वर सुनेर चन्द्रशमशेरले बराबर
उनलाई धाप मार्थे । त्यसैले मेलवादेवीको ईर्ष्यागर्नेहरूको ताँतीले पनि
सिंहदरबार बेरिएको थियो । त्यसपछि उनको स्वरलाई विगार्न चन्द्रशमशेरकी रानी
बालकुमारीदेवीका इसारामा मेलावादेवीका शत्रुहरूद्वारा पानमा सिन्दूर राखेर
उनलाई खुवाइएको थियो । त्यसपछि उनको स्वर एक्कासि खच्क्यो । त्यस बेहोराले
चन्द्रशमशेर अति नै दुखित भए ।
चन्द्रशमशेरले मेलवादेवीको स्वरको उपचार
गर्न बेलायतबाट चिकित्सक बोलाए । तर जति नै खर्च गरे तापनि उनको स्वर
पहिलाजस्तै हुन सकेन । तर पनि चन्द्रशमशेरले उनको स्वरको तारिफ गर्न
छाडेनन् । मेलवादेवीको स्वर सुक्न थालेपछि पनि चन्द्रशमशेर भन्ने गर्थे “गा
न गा, मलाई तेरो यही सुकेको आवाज नै मन पर्छ ।” चन्द्रशमशेरकी मन पर्ने गायिका भएका
कारण सिंहदरबारमा मेलवादेवीको औपचारिक सुरक्षाचाहिँ देखिन्थ्यो । त्यस बेला
उनलाई खास गरेर पुरुषवर्गले प्रत्यक्ष सम्पर्क गर्नु, प्रेम गर्नु र स्नेह
देखाउनु भनेको बाघसँग कुस्ती खेल्नुसरह मानिन्थ्यो । यति हुँदाहुँदै पनि
चन्द्रशमशेरका छोरा बबरशमशेरचाहिँ मेलवादेवीप्रति प्रायः आक्रामक देखिन्थे ।
साथै तबलावादक भक्तकृष्ण मानन्धर पनि मेलवादेवीको कला, रूप, यौवन र
धनसम्पत्रि्रति त्यति नै आसक्त थिए ।
मेलवादेवी र चन्द्रशमशेर एकअर्कामा
समर्पित भएको दृश्य हेर्न चन्द्रशमशेरकी रानी बालकुमारीदेवीलाई अति नै सकस
पर्न थालेको थियो । त्यही परिवेशमा दरबारबाट मेलवादेवीको टिकट काटिन गयो ।
त्यसै सर्न्दर्भमा चन्द्रशमशेरले उनलाई काठमाडौँको विजयेश्वरीमा एउटा घर
किनिदिए । त्यसपछि चौबीस वर्षभुक्तान भएको उमेर बोकेर उनी सिंहदरबारबाट
निस्केकी थिइन् । यस घटनाले भक्तकृष्ण मानन्धरलाई ढुङ्गा खोज्दा देउता
मिलेझैँ भएको थियो । त्यसैले त्यतिखेर उनका पछिपछि उस्ताद मानन्धर लागेका
थिए । मानन्धरले कैयौँ सपनाविपना देखाएर मेलवादेवीलाई दक्षिणकालीको
मन्दिरमा लगेर सिन्दूरपोते र चुरा धागोले सजाएका थिए ।
भक्तकृष्णले पहिला पनि दुई जनासँग बिहे
गरेर सन्तान जन्माएका थिए । साथै मेलवादेवीतर्फाट पनि दुईटी छोरी विमला र
शान्ति जन्मेका थिए । मेलवादेवीसँगको बिहेपछि भक्तकृष्णलाई
सिंहदरबार छिर्न बन्देज लगाइयो।साथै गुरुङसँगको बैबाहिक जीवन गाँसेको
कसुरमा त्यस बेला उनी आफ्नो जातीय समाजबाट पनि बहिष्कृत भएका थिए । भक्तकृष्णसँग बिहे गरेको केही वर्षा
मेलवादेवीको दाम्पत्य जीवन भङ्ग भयो । अनि उनले आफ्नो घरबार सस्तैमा बेचिन्
र शुक्रराज शास्त्रीको सल्लाहमा कोलकाता जाने निर्णय गरिन् । सुत्केरी
भएकै महिनादिनपछि उनी आफ्ना दुईनावालक छोरी विमला र शान्ति चेपेर
रेलमार्गद्वारा कोलकाता लागिन् । कोलकाता पुगेपछि यात्राको अनुभव सँगालेर
उनले ‘सवारी मेरो रेलैमा’ बोलको गीत गाइन् । त्यस बेलासम्म नेपालीभाषामा
नेपाली नारीको स्वर रिकर्डिङ भएको थिएन ।
मेलवादेवीको कोलकातामा स्वच्छन्दतावादी
यात्रा थियो । त्यतिखेर उनका खुट्टा रोक्ने न कुनै कल्ली थिए न उनका हात
बाँध्ने नै कुनै बाईं थिए । त्यसैले उनी साङ्गीतिक कार्यक्रमहरूमा प्रवेश
गरिरहन्थिन् । उनी घरी इलाहाबाद सङ्गीत सम्मेलनमा पुगिरहन्थिन् र घरी रामगढ
सङ्गीत सम्मेलनमा भाग लिइरहन्थिन् । उनी जहाँजहाँ गएर आफ्नो गलाको कौशल
देखाउँथिन् त्यहाँत्यहाँबाट उनले सुनका तक्मा पनि प्राप्त गर्थिन् । त्यति
मात्र होइन इलाहाबाद सङ्गीत सम्मेलनले त उनलाई ‘ठुमरीकी रानी’को दर्जा पनि
अर्पित गरेको थियो ।
मेलवादेवीले जीवनको उत्तर्रार्धमा आफ्नो
नाउँ सुलभा राखिन् । खासमा त्यतिखेर आर्थिक रूपमा उनी निम्नस्तरमा नै बामे
र्सर्दै थिइन् । आफ्नो जीविकोपार्जनका साथै छोरीहरूको पालनपोषणका निम्ति
कोलकाताकै मारवाडी बालिका विद्यालयमा उनी सङ्गीतकी गुरुमा बनिन् । साथै
त्यहीं स्कुलमा उनका छोरीहरु पनि भर्ना गरिए । त्यस घडी त्यहाँको मात्र
आयस्ताले उपलब्धि हुन नसक्ता उनले आफ्ना कोठामा सङ्गीतको कक्षा पनि सञ्चालन
गरिन् । आफ्ना शिष्यहरूलाई अध्यापन गराउन नेपाली, हिन्दी र बङ्गाली भाषामा
उनी बराबरी नै गीत गाइरहन्थिन् । दुक्खसुक्ख जीवन भुक्तान गर्दै उनले दुवै
छोरीहरूको विवाह पनि गरिदिइन् ।
छोरीहरुको बिहे गरेपछि मेलवादेवी डेरामा
एक्लै बसिन् । उनले पहिलेझै एउटै कोठामा खाने र सुत्ने गरिन् । त्यतिखेर
उनी विक्षिप्त मानसिक अवस्थामा नै घस्रँदै जीवन चलाउने गर्थिन् । २०१२ साल
मङ्सिर महिनाको कुरा हो- खाना पकाइरहेका बेला स्टोभ पड्केर उनको शरीरमा आगो
लाग्यो । त्यसको भोलिपल्ट छिमेकीले कोठाभित्रै उनको डढेको शरीर फेला पारे ।
अनि कोलकाता मेडिकल कलेजमा उनको लासको पोस्टमार्टम भयो । त्यसको केही
दिनपछि उनका धर्मपुत्र रामचन्द्र गुप्ताले त्यो लास बुझे । यो दुःखद घटनाको
विवरण उनका छोरीहरू विमला दीक्षित र शान्तिरानी आर्यले पनि पछि मात्र थाहा
पाए ।
सवारी मेरो रेलैमा.....
सानु र सानु लैलै कुसुमे रुमाल बरिलै
ज्यान तिमीले पायौ कि बरिलै
झन् पर जान्छु लैलै झन् माया लाग्छ बरिलै
मोहनी लायौ कि बरिलै
सवारी मेरो रेलैमा !..
(स्वर, सङ्गीत र शब्द : मेलवादेवी)
( जानकारी
: कुनैपनि व्यक्तिको बारेमा जिबनी लेख्नु भनेको चानचुने कुरा हैन । एउटा
जिबनी तयार पार्नको निमित्त प्रयाप्त अध्ययनको आबश्यक पर्दछ । नेपाली
संगीतका स्थापनाकाल देखिका कलाकारको जिबनी लेख्ने एक मात्र जिबनीकार हुन् -
नरेन्द्रराज प्रसाई । हाल सम्म उहाँले १०० भन्दा बढी कलाकर्मीको जिबनी
लेख्नु भएको छ । )
(Source - artistnepal.com)
Post a Comment