प्रयोगशाला पुस्तक अंश : दिल्ली, दरवार र माओवादीको
E-Kantipur
काठमाडौ - जनयुद्ध चर्किसकेको थियो, जसको केन्द्र बनेको थियो राप्ती पहाड। आक्रमण र भिडन्तको चपेटामा परेर त्यहाँका थुप्रै गाउँ राष्ट्रिय चर्चामा छाउँथे। रुकुमको खारा त्यसै गरी चर्चित भएको थियो। त्यहाँ भर्खरै (१० फागुन २०५६) माओवादी खोज्न पसेको प्रहरीको जथाभावी कारबाहीमा १५ निर्दोष मारिएका थिए। मारिने माओवादी थिएनन्, बरू केही त सत्तारूढ कांग्रेसका कार्यकर्ता थिए।
केही दिनपछि म त्यहाँ पुग्दा प्रहरीले विद्रोही लुकाएको आशंकामा जलाएका दर्जनौँ घरटहराका अवशेष देखिन्थे। आफ्ना घरपरिवार, छरछिमेक र नातागोताका मानिस मारिएको पीडा त्यहाँ सबैले सुनाउन चाहन्थे। आतंक मच्चाउने प्रहरीहरू चौकी छाडेर सदरमुकाम पुगिसकेका थिए, अरू कुनै सरकारी निकायको उपस्थिति थिएन त्यहाँ।
तर, एउटा निकायचाहिँ निस्पिक्री घुमिरहेको थियो अर्थात् शाही नेपाली सेना। लेफि्टनेन्ट कर्णेल जगबहादुर गुरुङ खाराबेसीको एउटा चियापसलमा दलबलसहित भेटिए। वरपिरि झुम्मिएका गाउँलेलाई भन्दै थिए, 'खारा काण्ड हुँदा हामी तीन किलोमिटर टाढा थियौँ। अलि नजिक भएको भए पुलिसले तपाईंहरूमाथि त्यस्तो ज्यादती गर्ने आँट गर्दैन थियो होला।'
कर्णेल गुरुङ रुकुम सदरमुकाम मुसिकोटलाई सल्यानसँग जोड्ने मोटरबाटो खन्न खटिएका चार सय सैनिकको नेतृत्व गर्दै त्यहाँ पुगेको १४ महिना भएको रहेछ। तर, माओवादी बोलवाला रहेको क्षेत्रमा बस्दा-घुम्दा पनि विद्रोहीसँग उनीहरूको कहिल्यै टकराव भएन।
कतिसम्म भने सेनाले द्वन्द्व चर्किनुको दोष जनयुद्ध थाल्ने माओवादीलाई होइन, त्यसलाई रोक्न परिचालित प्रहरीलाई दिन्थ्यो। खारामा प्रहरीद्वारा मारिएकाहरूको परिवारलाई त सेनाको स्थानीय ब्यारेकले राहत सामग्रीसमेत दिएको थियो। त्यस्तो व्यवहारबाट प्रहरी अधिकारीचाहिँ रुष्ट थिए। एक जनाले त कर्णेल गुरुङलाई भनेछन्, 'साइनाइड दिनुपर्नेलाई तपाईंहरू औषधी गर्नुहुन्छ।'
Post a Comment