भारतीय लिम्बुलाई पनि चाहियो लिम्बुवान
अनलाइनखबर
दार्जीलिङ : भारतको दार्जीलिङ र कालेबोङलगायतका इलाकामा लिम्बुजातीको छुट्टै जातीय विकास परिषद् माग गर्दै भारतीय लिम्बुहरुद्वारा पर्चाबाजी सुरु भएको छ । छुट्टै गोरखाल्याण्डको माग भइरहेको दार्जीलिङमा यसअघि सबै गोरखालीहरु एकजुट हुँदै आएकोमा अब जातैपिच्छे माग उठ्न थालेको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार हालै दार्जीलिङ र कालेबुङमा पश्चिम बंगाल सरकारसँग लिम्बु टि्रबल विकास परिषद्को माग गर्दै हस्तलिखित पर्चाबाजी भएको छ । उक्त पर्चाबाजीमा भनिएको छ-’आदिवासी लिम्बु समुदायलाई पनि लिम्बु ट्राइबल डेभलपमेन्ट काउन्सिल बंगाल सरकारे दिनैपर्छ । लिम्बु समुदायको आफ्नो उत्थान एलटीडीसी मार्फत् चाहन्छौं ।’
हस्तलिखित पोष्टरमा ‘अल इण्डिया लिम्बु ट्राइबल एशोसिएसन दार्जिलिङ याक्थुङ सुङ चुम्भो कालेबुङ’ लेखिएको छ । भारतको दार्जीलिङ, कालेबुङ, सिक्किम लगायतका स्थानमा लिम्बुजातिको उल्लेख्य बसोबास रहँदै आएको छ । भारतमा रहेका लिम्बुहरु पनि नेपालका लिम्बुजस्तै आफ्नै मातृभाषा र नेपाली भाषामा लेख्ने, बोल्ने गर्छन् ।
पूर्वी नेपालका ९ जिल्लामा यसअघिदेखि नै लिम्बुजातिले लिम्बुवान प्रदेशको माग गर्दै विभिन्न आन्दोलनसमेत गर्दै आइरहेका छन् ।
दार्जीलिङबासीले भने जातैपिच्छेका राज्य माग्ने अभियानले गोर्खाल्याण्ड आन्दोलनलाई कमजोर पार्ने टिप्पणी गरेका छन् । ‘लिम्बुपछि अब कुन जातिले छुट्टै जातीइ विकास परिषद् बोर्ड गठनको माग गर्ने हुन्’, लिम्बुको मागबारे टिप्पणी गर्दै भारतको हिमालय दर्पण पत्रिकाले लेखेको छ, ‘एकातिर गोरखाल्याण्डको मुद्दा दबिएर जाँदैछ भने अर्कातिर विस्तारै जातीय राज्य परिषद् गठनको माग हाइलाइटमा आउन थालेको देखिएको छ ।’
दार्जीलिङको गोरखाल्याण्ड आन्दोलन विस्तारै विभिन्न जातीय नारातिर अग्रसरहुनमा दार्जीलिङबासीहरुको दुईवटा तर्क छ, एउटा, नेपालको जातीय राजनीतिको प्रभाव र दोस्रो गोरखाल्याण्ड आन्दोलनलाई फुटाउन भारतीय सत्तापक्षले गरेको षड्यन्त्र ।



Post a Comment