गान्तोकमा क्याफे फिक्सनमा चिया कविता सम्पन्न
गान्तोक । कवितालाई चियासित समायोजन गरेर कुनै औपचारिकता विना साहित्यिक आनन्दको माध्यमको रूपमा फरक ढङ्गमा प्रस्तुत गर्ने प्रयास रूपमा राजधानी गान्तोकबाट थालनी गरिएको चिया कविता कार्यक्रम यहॉंको रचना बुक्सको क्याफे फिक्सनमा सम्पन्न भयो। समकालिन कवितामाथि आफ्नो पर्यवेक्षण राख्दै कवि प्रवीण राई जुमेलीले भाषा र कविताको सम्बन्धलाई विशेष उल्लेख गर्दै कविताले मृत्युलाई हतपत स्वीकार नगर्ने भएकोले भाषामार्फत यो जिउँदो रहने बताए। उनले नवइतिहासवादको कुरा अघि सार्दै इतिहास सधैं माथिबाट लेखिने गरेको तर अहिले आएर तलबाट कवितामार्फत इतिहासले छाडेका प्वॉंलहरूलाई सम्बोधन गर्ने प्रयास भइरहेको अनि इतिहासले उल्लेख नगरेको भ्वाङलाई कविताले घोच्ने गरेको बताए। उनले भने इतिहासको भाङ्व प्वालमा कविताले आघात गर्छ। यसलाई हेर्दा अराजकता देखिए पनि त्यसमा सिर्जनशीलता हुँदा ठूलोले मात्र जितेको इतिहासमा सानाहरूको भूमिकालाई समेत साहित्यले सिर्जनशील प्रकारले समावेश गरेर जितेको इतिहासले छाडेको कुरालाई सम्बोधन गर्ने गरेको बताए। आम मान्छेले गरेको कुरालाई पनि इतिहासले नलेखे पनि कविताले लेख्ने गरेको बताए। उ़नले पाठकको क्षमता र सिर्जनाबारे निर्क्यौल गर्नको निम्ति पाठक कत्ति ठाउँ कवि भन्दा पनि दुरदर्शी हुने गरेको अनि निरन्तर समकथनले कुनै पनि आइडियोलजी अघि आउने गरेको पनि बताए।
यसैगरि समालोचक तथा कथाकार पेम्पा तामाङले आफ्नो प्रस्तुतीमा कविले प्रकृतिले भन्दा राम्रो सिर्जना गर्न सक्ने मन्तव्य व्यक्त गर्दै जर्ज लुई बोर्गेजको कथाको प्रशंग निकाल्दै कविले कथामा सुन्दर महलको भन्दा राम्रो कविता लेख्दा कविताले भोग्नुपरेको मृत्युदण्डको प्रसंग उठान गर्दै कवि प्रकृतिको रचना भन्दा पनि सुन्दर रचना सिर्जना गर्न सक्षम रहेको कुरालाई पुष्ट्याए। यसैगरि उनले भने कुनै झॉंक्री पारो जॉंदा जुन आऩन्द बोधले व्यग्र भएर जोखाना भन्छन् त्यस्तै आनन्द दिने रचनाको सिर्जना गर्ने कविले आफूलाई मात्र नभएर समाज र पाठकलाईसमेत आनन्द दिने उक्त सिर्जना कविताको रूपमा सिर्जित गर्ने बताए। उनले नव इतिहासवादको रूपमा अलिखित प्रसंगहरू लेखनको नयॉं परम्परा अघि आएको बताउँदै यसमा भाषाको महत्व अत्यन्त महत्वपूर्ण रहेको र भाषामा कविता बॉंच्ने कुरा अघि सारे।
नेपालमा गत 15 सालदेखि निरन्तर साहित्य लेखनमा नयॉं अवधारणाको रूपमा स्थापित गराउँदै चिन्हारीको दाबीमा लेखिएका सिर्जनशील अराजकताको बारेमा पनि चिया कवितामा चर्चा उठान गरियो।
यसैगरि सिर्जनशील अराजकताका दुइ सर्जक हाङयुग अज्ञात र उपेन्द्र सुब्बाका कविता संग्रह करङको हिरासत र खोलाको गीत र पुराना कविताहरू कविता संकलनमाथि चर्चा गरियो। सदीप प्रधानले सिर्जनशील अराजकताको परिचय दिँदै उपेन्द्र सुब्बाको कविता संग्रह करङको हिरासतबाट दुइवटा कविता वाचन गरे। उनले भने, "दार्शनिक चिन्तनको गम्भीर अध्येता हाङयुग, किरात सभ्यता र संस्कृतिको गम्भीर अध्येता राजन तथा तिनलाई सिर्जनात्मक अभिव्यक्ति दिन सक्ने उपेन्द्रको प्रतिभाशाली संगम नै सिर्जनशील अराजकताको पहिचान हो ।'
उनले जीवन र जगत्लाई अनुभूत गरेर त्यसको सिर्जनात्मक अभिव्यक्ति गर्ने काममात्रै गरेका छैनन् । त्यसप्रति आलोचना गरेका छन्, त्यसलाई आफ्नो चिन्तनअनुसार परिभाषित गर्ने प्रयत्न पनि गरेका छन् ।' यसैगरि कवि दीपा राईले हाङयुग अज्ञातको करङको हिरासतबाट एउटा कविता पाठ गरिन्।
कार्यक्रमको मध्यस्थता गर्दै कवि प्रवीण खालिङले विश्व साहित्यमा कफिलाई जुन स्थान प्रदान गरिएको छ त्यस्तै महत्वको साथ चियाले पनि कविता साहित्यमा स्थान सुनिश्चित गराउँदै नेपालीभाषी समुदायको सम्वेदनामा जोडिएको चियाको प्रसंगलाई साहित्यमा समावेश गराउन अनिवार्य ठान्दै यस प्रकारको अनौपचारिक कार्यक्रममार्फत चिया र कविताको संगम गराउने प्रयास गरिएको बताए। यसैगरि कार्यक्रममा कवि भीम राउतले प्रखर व्यङ्ग र तितो सत्ययुक्त कविता वाचन गरे। यसैगरिकवि अमर बानियॉं लोहोरो, विणाश्री खरेल, दीपा राई, अम्बर लाछिकाठी, प्रवीण खालिङ, प्रवीण राई जुमेलीले मौलिक कविता वाचन गरेका थिए। कार्यक्रमको व्यवस्थापन रचना बुक्सका स्वामी तथा बुकम्यानले चर्चित रमण श्रेष्ठले गरेका थिए। योपालीको चिया कवितामा कवि र साहित्यिक विचारकहरूबाहेक कविता र चियाप्रेमीहरूको विशेष उपस्थिति रहेको थियो।
Post a Comment