Header Ads

नेपाली यु-१९ क्रिकेट टोली विश्वकपमा छनोट

काठमांडू : १९ वर्ष उमेर मुनिको राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा भएको आइसीसी 'अन्डर नाइन्टीन' विश्वकप छनोटको फाइनलमा आयरल्याण्डलाई ३ विकेटले हराउँदै आगामी वर्ष हुने ' अन्डर नाइन्टीन' विश्व कपमा नेपालले आफ्नो सहभागिता निश्चित गरेको छ। १९ वर्ष मुननिको नेपाली टोली विश्वकपको लागि छनोट भएको यो सातौं पटक हो। सन् २००० को दशकमा नेपाली युवा क्रिकेट टोलीले एसियाली क्रिकेटमा एक छत्र राज गर्दै आएकोमा केही वर्ष यता उपाधीविहीन बन्दै आएको थियो।

दशैंको उपलक्ष्यमा जीतको खुशी उपहार
नेपालको यो लामो समयपछिको उपाधि र विजया दशमीकै दिन पाएको जीतलाई नेपाली टोलीका व्यवस्थापक धिरेन्द्र साउद नेपालीहरुलाई उपहार भन्न रुचाउँछन्। उनले भने, "आजको यो क्षण भनेको निकै खुशीको क्षण हो। सवै खेलाडीहरुले शुरु देखि नै निकै राम्रो खेल्दै आएका थिए। र आज केटाहरुले दशैंको उपलक्ष्यमा जीतको खुशी उपहारको रुपमा दिएका छन्। मलाई के लाग्छ भने भविष्यमा यी खेलाडीहरुले नेपालको राष्ट्रिय टोलीमा वैकल्पिक खेलाडीहरुको अभाव छ भनी हुने गरेको आलोचनालाई पुर्ने काम गर्नेछन्।" मलेसियाको क्वालालम्पुरमा भइरहेको प्रतियोगितामा नेपाली युवा टोलीले राउन्ड रोविन लिग र फाइनल गरी सवै ५ खेल जितेको हो। अर्को वर्ष जनवरीको २२ तारिख देखि बंगलादेशमा हुने विश्वकपमा विजेता टोली मात्र छनोट हुने प्रावधान अनुरुप नेपालले बिहीबार जित्नै पर्ने खेलमा युरोपेली प्रतिद्वन्द्वी आयरल्याण्डलाई ३ विकेटले पराजित गरेकेा थियो।

आरिफ शेख प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल
यो उपाधि नेपाली प्रशिक्षकको नेतृत्वमा जितेको यो दोस्रो पटक मात्र हो। साथै टोलीका प्रशिक्षक जगत टमाटा नेपाललाई २ पटक विश्वकपमा पु-याउने प्रशिक्षक समेत बनेका छन्। प्रतियोगिता भरी हरेक खेलमा प्रभावकारी प्रदर्शन गरेका खेलाडीहरुमा कप्तान राजु रिजालले प्रतियोगितामा एक मात्र शतक प्रहार गरेका थिए। बिहीबारको फाइनलमा स्पिनर ललित राजवंशी 'म्यान अफ द म्याच' भए भने अलराउन्डर आरिफ शेख प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल भए।

- बीबीसी रिपोर्ट
Powered by Blogger.