Header Ads

सीमाको अवरोध केही दिनमा समाधान हुन्छ: ओली


काठमांडू : प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पल्ट बुधबार गृह जिल्ला झापा पुगेका केपी ओलीले केही समय दुःख भोग्नुपरे पनि अब चाँडै भारतीय सीमामा भएको अवरोधबाट उत्पन्न समस्या समाधान हुने बताएका छन्। प्रधानमन्त्री ओलीले, उनकै शब्दमा, स्वाभिमान नगुमाई अहिले सीमा नाकामा भइरहेको अवरोधको समाधान गरिने बताए।

समस्या समाधान हुने विश्वास दिलाए
गृह जिल्ला झापा आएका प्रधानमन्त्री ओलीले केही दिनमै उक्त समस्या समाधान हुने विश्वास दिलाए। उनले भने, “हामी समस्याहरुको समाधान गर्दै जान्छौं। केही समय दुःख परेको छ। ती समस्याहरुको समाधान केही दिनमै हुन्छ। म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु।” तर उनले समस्या समाधानको सूत्र वा समय सीमा भने तोकेनन् । आफ्नो पार्टी नेकपा एमाले जिल्ला कमिटि झापाले आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारमा सबै किसिमका दलहरुको प्रतिनिधित्व रहेकाले नेपाली कांग्रेसलाई समेत सरकारमा ल्याउने बताए। ओलीले भने, “यो सरकार अहिलेसम्म नबनेको संरचनामा बनेको छ। सबैखाले दल सरकारमा छन्। कांग्रेसलाई पनि चाँडै सरकारमा सामेल गराउँछौं।”

महत्वाकांक्षी योजना
सरकारमा पुगेपछि केही नेताहरु भ्रस्टाचारमा मुछिने गरेको प्रसंग कोट्याउँदै प्रधानमन्त्री ओलीले आफ्नो पुरानै ठट्यौली पारामा भने, “तपाईंहरुले मलाई प्रधानमन्त्री बनाइदिनु भएको छ। भगवानका कृपाले मेरा छोरा छोरी छैनन्। मैले कसका लागि कमाउनु छ र? मैले कमाएर अरुले रजाईं गर्ने काम म बाट हुँदैन।” उनले एक वर्षभित्रमा लोडसेडिङ अन्त्य गर्ने, दुई वर्ष भित्रमा शतप्रतिशत जनतालाई शिक्षा दिलाउने, दुई वर्षभित्र सबैलाई बस्ने घरको व्यवस्था गरिदिने लगायतका सरकारका महत्वाकांक्षी योजना सुनाएका थिए। उनले देश विकासका लागि आफ्नो काममा साथ दिन सरकार बाहिर रहेका राजनीतिक दलहरुलाई आग्रह समेत गरेका थिए।

- बीबीसी रिपोर्ट

Powered by Blogger.