Header Ads

आइएसविरुद्धको रणनीतिमा परिवर्तन हुने संकेत


अमेरिकी रक्षामन्त्री एश कार्टरले अमेरिकी नेतृत्वको गठबन्धनले आउने दिनमा इराक र सिरियामा इस्लामिक स्टेट समुहविरुद्ध हवाई हमलाहरु तीव्र बनाउने बताएका छन्। सिनेटको सशस्त्र सेवा समितिमा बोल्दै कार्टरले भने, त्यहाँ स्थल सेनाले पनि थप बल प्रयोग गर्न सक्छ। उनले थपे, “हामी केही समयदेखि रक्का क्षेत्रमा दबाब बढाउँदै लानुपर्छ भन्ने कुरामा स्पष्ट छौं, त्यस क्रममा सिरियाका नरमपन्थी समूहलाई समर्थन गर्नुपर्ने हुन्छ।” उनका अनुसार ती समूहले रक्का नजिकै आफ्नो पकड जमाइरहेका छन्। गत साता अमेरिकी फौजहरुले कुर्दिश फौजसँग मिलेर उत्तरी इराकको एक आइएस बन्दीगृहबाट बन्दीहरुलाई मुक्त गरेका थिए।

अपेक्षा
यसैबीच सिरियामा जारी द्वन्द्वबारे हुने अन्तर्राष्ट्रिय वार्तामा पहिलो पटक इरानलाई निम्त्याउन सकिने अमेरिकाले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जन कर्बीले भियनामा हुने वार्तामा इरानी नेताहरु सहभागी हुने वा नहुनेबारे स्पष्ट चाहिँ नभएको बताए। अमेरिकी, रुसी, अरब र युरोपेली मुलुकका उच्च अधिकारीहरु वार्तामा सहभागी हुँदैछन्। पश्चिमा समर्थित सिरियाली विपक्षीहरु र अमेरिकाको साझेदारका रुपमा रहेका खाडी मुलुकहरुले सिरियाली युद्धमा इरानी भूमिकाको विरोध गर्दै आएका छन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जन कर्बीले भियना वार्तामा सहभागी हुनका निम्ति इरानलाई निम्तो दिइने आफूले अपेक्षा गरेको बिहिबार पत्रकारहरुलाई बताए।

साझेदार
उनले भने, “आउने वा नआउने कुरा इरानी नेताहरुमा निर्भर गर्दछ, महत्वपूर्ण साझेदारहरु छलफलमा सहभागी हुँदैछन्, जुन हाम्रो लागि महत्वपूर्ण हुन्छ, इरान पनि एउटा महत्वपूर्ण साझेदार हुन सक्छ तर अहिले छैन्।” इरान सिरियाली राष्ट्रपति बशर अल असादको नजिकको साझेदारको रुपमा रहिआएको छ। असादको सरकारलाई टिकाइराख्न विगत चार वर्षमा इरानले अर्बौ डलर खर्च गरेको बताइन्छ। उसले सिरियाली सरकारलाई सैन्य सल्लाहकार उपलब्ध गराउनुका साथै अनुदानमा हतियार, तेल र ऋण दिएको पनि बताइन्छ। असादका सेनालाई युद्धमा सघाउन लेबननको हिज्बुल्लाह समूहका लडाकुहरुलाई सिरिया पठाउने निर्णयमा पनि इरानले भूमिका खेलेको विश्वास छ। इरानले शान्तिपूर्ण ढंगले सबै पार्टीहरु सहभागी हुने गरी सिरियाली द्वन्द्वको समाधान खोज्नुपर्ने प्रस्ताव गरेको छ। यद्यपि बहुपक्षीय शान्ति वार्तमा उसले सहभागिता जनाउने गरेको छैन्।

Powered by Blogger.