ठग करोडपति, ३ हजार बैंक खाता, 150 कार र 700 एक्कड जमिन
ठगी धन्दा गर्ने मानिसहरुले राम्रै सम्पत्ति थुपार्ने कुरामा शंका छैन। तर ठगले यतिधेरै सम्म चिजहरु थुपार्दोरहेछ भन्ने कुरा थाहा पाउँदा झनै अचम्म लाग्छ। भारतमा एकजना यस्तो ठग फेला परेको छ जसले ३ हजार ७८ वटा त बैंक खाता नै खोलेको छ। उसको नाममा जमिन मात्रै ७ सय एक्कड छ भने डेढसय वटा कार छन् ।
यस्तो धनाढ्य ठगको नाम हो गौतम कुन्डु। रोज भ्याली ग्रुप नामको कम्पनीका प्रमुख रहेका गौतमले बैंक खाता तथा सम्पत्ति लगायतका बारेमा जाँचबुझ गर्दा इन्फोर्समेन्ट निर्देशनालयले यस्तो तथ्य पत्ता लगाएको हो । अहिले ठगीका विभिन्न मामिलामा गौतममाथि छानविन भैरहेको छ र उनी जेलमा छन्।
गएको हप्तामात्रै सर्वोच्च अदालतमा आफुलाई जमानतमा रिहा गर्नका लागि उनले दिएको निवेदन भारतको सर्वोच्च अदालतले खारेज गरिदियो।
उनी कुख्यात मुद्रा निर्मलीकरणका अपराधी रहेको र उनको विषय देशको अर्थतन्त्र र राष्ट्रिय स्वार्थ सँग जोडिएको अदालतले जनाएको छ। उनी गएको मार्च महिनामा पक्राउ परेका थिए।
भारतका विभिन्न १२ वटा राज्यमा उनको सम्पत्ति रहेको खुलेको छ। उनका विभिन्न ठाउँमा गरी २३ वटा होटल समेत छन्। उनका डेढसय कारमध्ये कतिपय त विदेशबाट मगाएका लग्जरी महंगा कार छन्। अहिलेसम्मको अनुसन्धानले उनको नाममा ७ सय एक्कड जमिन रहेको कुरा खुलेपनि उनीसँग १ हजार एक्कडसम्म जमिन रहेको अनुमान गरिएको छ।
उनको कम्पनी रोज भ्याली ग्रुपले पछिल्ला केही वर्षमा मात्रै १५ खर्ब ४० अर्ब सम्पत्ति कमाएको थियो।
Post a Comment