चीनमा भने एकजना बच्चाका हातखुट्टामा छन् ३१ औँला
सामान्य रुपमा मानिसको हात र खुट्टामा गरी २० औँला हुन्छन् । तर चीनमा भने एकजना बच्चाका ३१ वटा औँला छन्। हुनान प्रान्तको पिंगजंग्ची काउन्टीमा जन्मिएको हंगकंग नामक उक्त बालकको दुइ हातमा गरी १५ र दुइ खुट्टामा गरी १६ औँला अर्थात् कुल ३१ औँला छन्। गत जनवरीमा जन्मिएको यो बालकमा यसरी धेरै औँला हुनुलाई चिकित्सा भाषामा पोलिडेक्टाइलिज्म भनिन्छ। मानिस, कुकुर तथा बिरालो लगायतमा यो समस्या जन्मजात नै देखिने गरेको छ । जसका कारण हात खुट्टामा अतिरिक्त औँला पलाएका हुन्छन्। वैज्ञानिकहरुका अनुसार विश्वमा प्रतिहजार जन्ममा एकजना बच्चामा यस्तो बढि औँला पलाउने समस्या हुन्छ । प्रायः यस्ता अतिरिक्त औँलाहरुलाई सर्जरी गरेर काटिन्छ ।
३१ औँला भएको यो बच्चाका अतिरिक्त औँलाहरु हटाउने उपचारका लागि उसका आमाबाबुले आर्थिक सहयोगको खोजी गरिरहेका छन्। यो बच्चाकी आमामा पनि यस्तै समस्या छ। उनका खुट्टामा ६।६ वटा औँला छन् । बच्चा गर्भमै छँदा आमालाई छोरामा पनि आफुमा जस्तै समस्या हुनेहो की भन्ने चिन्ता थियो । नभन्दै त्यस्तै भयो। हरेक हातमा एकवटा सम्म अतिरिक्त औँला मात्र पलाएको भए सर्जरी गर्नु सरल हुन्थयो । तर यो बच्चाको हरेक हात खुट्टामा त दुइ तिनवटा सम्म अतिरिक्त औँला पलाएका छन्। सोही कारण सर्जरी गरेर बढि औँला हटाउनु निकै जटिल रहेको डाक्टरहरुको भनाई छ।

Post a Comment