बङ्गला भाषा अनिवार्य बनाउने निर्णयको विरोध सिक्किममा पनि शुरू
गान्तोक। पश्चिम बङ्गाल सरकारद्वारा दार्जीलिङ पहाड़लगायत तराई डुवर्सक्षेत्रका शैक्षिक संस्थानहरूमा प्रथम कक्षादेखि दशौं कक्षासम्म बाध्यतामूलक बङ्गला भाषा शुरू गर्ने घोषणाको विरोध सिक्किममा पनि शुरु भएको छ। पछिल्लो तीन वर्षदेखि नेपाली साहित्यमाथि काम गर्दै आएको मासिक कार्यक्रम चिया कविता समूहले बङ्गाल सरकारले तोकेको हैकमे निर्णयको विरोध गरेको छ। चिया कविताका संस्थापक प्रवीण खालिङले प्रेस बयान जारी गर्दै बङ्गाल सरकारले भाषिक अल्पसंख्यक समुदायमाथि अन्याय गरिरहेको बताएका छन्। उनले अहिले घरि बङ्गालमा भाषिक र धार्मिक अल्पसंख्यकमा रहेको नेपाली भाषी समुदायको एउटै मात्र रहेको एकताको प्रतिक भाषालाई मास्ने प्रयास गरेको आरोप लगाउँदै यसलाई सरकारले कुनै हालतमा कार्यान्वयन गर्नु नहुने मांग गरेका छन्। उनले भनेका छन्, सिक्किमकै नेतृत्वमा संविधानको आठौं अनुसूचिमा नेपाली भाषाले मान्यता पाएको हो र यो भाषा प्रति सारा भारतीय नेपालीहरूको जुन प्रेम र आस्था छ त्यसलाई मास्ने प्रयास नितान्त नश्लीय भेदभावको पराकाष्ठ हो।
दार्जीलिङ क्षेत्र र डुवर्स जस्तो बङ्गाल शासित क्षेत्रमा बङ्गला भाषाको अनिवार्यताले यो क्षेत्रमा बोलिने नेपाली भाषा मात्र नभएर अन्य अल्पसंख्यकहरूको भाषाको अस्तित्व पनि संकटमा पर्ने भएकोले यो निर्णयलाई बङ्गाल सरकारले तुरन्तै फिर्ता लिनुपर्ने उनको टेक रहेको छ। उनले बङ्गाल सराकरले ऐच्छिक विषयको रूपमा बङ्गाल भाषा पठन पाठनको रूपमा पाठ्यक्रममा हाल्नसक्ने विकल्प हुँदा हुँदै यस्तो निर्यण लिनु सरासर एउटा अल्पसंख्यक समुदायलाई समाप्त पार्ने पूर्वनियोजित कार्यक्रम हो भनेका छन्। यद्यपी बङ्गला भाषा ऐच्छिक भाषाको रूपमा पाठ्यक्रममा हालिन्छ नै भने पनि बङ्गालको दोस्रो मुख्य भाषा नेपालीलाई पनि बङ्गालभरि ऐच्छिक भाषाको रूपमा पाठ्यक्रममा लगाइनुपर्ने उनले बताएकाछन्।
बङ्गालका मुख्यमन्त्री ममता ब्यानर्जीले बङ्गालमा बस्नेले बङ्गाली भाषा पढ्नै पर्छ भन्ने जुन मन्तव्य जाहेर गरेको छ त्यस बयानलाई पनि उनले गम्भीरतासित लिँदै भनेका छन्, मुख्यमन्त्री ब्यानर्जीले पहिले उनले बङ्गला भाषा थोप्न खोजिरहेको डुवर्स र दार्जीलिङ क्षेत्रको तथ्य बुझ्नुपर्छ। यो ठाउँ कहाँ र कसको पर्छ पहिले बुझ्नु अनि यहाँका जनतामाथि बङ्गाली हेजिमोनी थोप्नुसक्छ।
यस अतिरिक्त अब भाषा संग्राम कालदेखि आजको वर्तमान अवस्थामा नेपाली भाषाको निम्ति कार्य गर्दै आएको सिक्किमका सबै नेपाली भाषा प्रेमी वौद्धिक जमाता, नेता, संघ, संस्था र नेपाली भाषी समुदायले आफ्नो भाषालाई निमट्यान्न पार्न भइरहेको षड्यन्त्रको विरोध गरेर भाषा बचाउँ जाति बचाऊँ भन्ने उद्देश्य बोकेर प्रतिवादमा अघि आउनुपर्ने आह्वान गरेको छ। यस विषयमा चिया कविता समूहले अब उसो पहल थाल्ने निर्णय गरेको पनि उनले आफ्नो प्रेस बयानमा जानकारी गराएको छ।
Post a Comment