Header Ads

विनयहरू सुपर फ्लपः जनता आफैले जारी राख्यो बन्दः विभिन्न ठाउँमा विनय विरोधी नारा


खबरम्यागजिन प्रतिनिधि

कालेबुङ : नवान्नमा मुख्यमन्त्री ममता व्यानर्जीसित बैठक गरेर फर्किएपछि खरसाङमा जनसभा गरेर १२ दिन बन्द स्थगित गर्ने विनय तामाङको घोषणा कसैले पालन गरेनन्। हिजो विनय तामाङलाई बङ्गाल पुलिसको व्यापक सुरक्षा प्रदान गरिको थियो।

नवान्नको बैठकमा के के भयो, त्यसबारे विनय तामाङले विमल गुरूङलाई कुनै कुरा पनि बताएनन्। तामाङ आफ्ना समर्थकहरूको सैयौं गाडी स्वागतको निम्ति बाघडगरामा उतारेर खरसाङ गए। त्यहाँ उनका पक्षका विधायक रोहित शर्मालगायत अन्य नेताहरूसित बैठक गरे।

जनसभमामा विनय तामाङले मुख्यमन्त्रीलाई सर्काए। कमसेकम मुख्यमन्त्रीलाई ‘तिमीहरूको माग गणतान्त्रिक हो’-सम्म भन्न बाध्य पारेको बताए। खरसाङको जनसभामा मानिसहरूको पनि ओइरो लागेको थियो।

जनसभाबाट विनय तामाङले बन्द स्थगित गर्ने घोषणा गरेनन्। किनभने उनलाई डर थियो, जनसभामा नै विरोधको नारा लाग्न सक्ने सम्भावना थियो। उनले केन्द्रिय समितिका केही नेता र विधायक रोहित शर्मासित बैठक गरे। त्यसपछि पत्रकार सम्मेलन डाकेर १२ दिन बन्द स्थगित गरेको घोषणा गरे।

उनले बन्द स्थगित गरेको घोषणा गर्ने वित्तिकै दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक, बिजनबारीलगायत गाउँबस्तीसम्म मानिसहरू विनय तामाङ विरुद्ध नाराबाजी गर्दै सडक उत्रिए। खरसाङ र दार्जीलिङमा सडक उत्रिएको आक्रोशित भीडलाई खेदाउन पुलिसले लाठीचार्ज पनि गऱ्यो। दार्जीलिङमा लाठीचार्जमा घाइते एक मोर्चा समर्थकको मृत्यु समेत भयो।

आज बिहानदेखि मानिसहरू सडक उत्रिएका छन्। मिरिकबाट खबरम्यागजिन प्रतिनिधि मनोहर शर्माले बताएअनुसार मिरिकमा बन्द जारी राख्न कहिल्यै सडक नउत्रिएका मानिसहरू पनि सडक उत्रिएका छन्। ‘मिरिकमा त घरलौरी निस्किएका छन्, कहिल्यै सडक नउत्रेकाहरू पनि सडक उत्रिएका छन्,’ शर्माले भने, ‘अस्ती त धेरै अनिवार्य कुरामा छुट थियो, तर सडक उत्रिएका जनताले बिहानदेखि कुनै कुरामा छुट दिएका छैनन्।’

दार्जीलिङ प्रतिनिधि मोहन लामाले दार्जीलिङमा हिजैदेखि माहौल अशान्त रहेको जनाएका छन्। ‘हिजो लाठीचार्जमा एक मोर्चा समर्थकको मृत्युपछि स्थिति अझ बिग्रिएको छ,’ लामाले भने, ‘बिहानदेखि नै दार्जीलिङ सुनसान छ। केवल विनय तामाङको विरोधमा नाराबाजी गर्ने सैयौं मानिसहरू सडकमा छन्। गाडीघोडा, कार्यालय, स्कूल सबै बन्द छ। दार्जीलिङमा विनय तामाङको घोषणाको कुनै असर छैन।’

खरसाङ प्रतिनिधि हनोक थापाले खरसाङमा पनि बन्द जारी रहेको बताएका छन्। ‘हिजोराती विनय तामाङको विरोधमा उत्रिएका जनतालाई रोक्न पुलिससमेत सडक उत्रिएको थियो,’ हनोकले भने, ‘बिहानदेखि नै खरसाङ सँधैजस्तो बन्द छ। सडकमा बन्द जारी राख्न मानिसहरू भेला भएका छन्।’

बिजनबारी प्रतिनिधि सञ्जय निरौलाले बिजनबारीमा पनि बन्द जारी रहेको बताएका छन्। ‘हिजोसम्म त हिमुलको गाडीलाई छुट थियो, आज त त्यसलाईसमेत छुट दिइएको छैन,’ निरौलाले भने, ‘हिजोसम्म त पिकेटिङ थिएन तर आज बन्द जारी राख्न मानिसहरू आफै सडकमा आएका छन्।’

कालेबुङमा पनि मानिसहरू आफै सडक उत्रिएर बन्द जारी राखेका छन्।

विनय तामाङहरूलाई लागेको थियो, ८० दिनको बन्दले मानिसहरू थाकेका छन्, यसकारण ८० दिनको राहतलाई उनीहरूले स्वीकार्नेछन्। तर जनताले उनको कार्यक्रमलाई स्वीकारेनन्। विनय तामाङ र अनित थापा पूर्णरूपले फ्लप बनेका छन्।

‘यति दिन बन्द भयो र त ममतासित विनय तामाङले वार्ता गर्न सक्यो,’ कालेबुङमा सडक उत्रिएका एक आन्दोलनकारीले भने, ‘यो बन्द ममतासित मिलेर करोडौंमा मुद्दा बेच्न विनय तामाङहरूको लागि जनताले गरेको होइन। ममताले गोर्खाल्याण्ड दिन सक्दिन भनिसकेकी छन्। १२ सेप्टेम्बरको वार्ताको औचित्य नै छैन। बरू त्रिपक्षीय वार्ता पो हुनुपर्ने, नेताहरूले यसबारे पो काम गर्नुपर्ने तर सबै उल्टो भइरहेको छ। बन्द जारी रहनेछ। जबसम्म गोर्खाल्याण्डको निम्ति सकरात्मक परिस्थिति बन्दैन विमल गुरूङले नै बन्द खोले पनि हामी मान्ने छैनौँ।’

सौजन्य : http://khabarmagazine.com/archives/7678
Powered by Blogger.