यू-१९ एशिया कपमा नेपाल १३२ रनले पराजित
यूएई। शनिबारबाट सुरु भएको एसिसी यू-१९ एशिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग १ सय ३२ रनले पराजित भएको छ ।
पाकिस्तानले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि अमित श्रेष्ठले ६० र सुनिल धमलाले ३९ रन बनाए । आरिफ शेख २५ र विभत्सु थापा २२ रनमा आउट भए भने कप्तान भुवन कार्की १९ र रामनरेश गिरी ५ रनमा रनमा अविजित रहे । प्रेम तामाङ र सुसन भारी समान १ रन बनाएर पभेलियन फर्किए भने राजु रिजालले खाता नै खोल्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा कमरन गुलाम एक्लैले ४ विकेट लिए भने करामत अलीले २ विकेट हात पारे ।
यसअघि पहिले व्याटिङ गरेको पाकिस्तानले सामि अस्लम र हसन राजाले सतकको मदतमा ५० ओभरमा विकेट गुमाएर ३११ रन बनाएको थियो । नेपाली बलरहरुलाई निरिह बनाएका सामीले १०८ रन बनाउन सफल भए । त्यसैगरी अर्का ब्याट्सम्यान हसनले सय रन बनाए भने जफर गोहरले अविजित ५० रन बनाएका थिए ।
नेपालका लागि ललित भण्डारी र रामनरेश गिरीले दुई-दुई विकेट लिन सफल भए । त्यसैगरी यज्ञमान कुमालले एक विकेट लिएका थिए ।
मलेशियामा भएको पहिलो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।


Post a Comment