Header Ads

सोची ओलम्पिक्स अहिलेसम्मकै खर्चिलो

रुसको ब्ल्याक सि को तटमा अवस्थित पर्यटकीय शहर सोचीमा शुरु भएको हिउँदे ओलम्पिक्सलाई अहिलेसम्मकै सबैभन्दा महंगो खेल मानिएको छ। यो ओलम्पिक्सका लागि रुसले करीब पचास अर्ब डलर खर्च गर्न लागेको बताइएको छ। सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको उक्त प्रतियोगिताका दौरान ४० हजार सुरक्षाकर्मी खटिने छन्। कार्यक्रमको शुरुवात कसरी हुन्छ भन्ने विषयलाई गोप्य राखिएको भएपनि आयोजकहरुका अनुसार रंगशालाको मध्यभागमा प्रकाशद्वारा निर्मित आ आफ्ना देशका नक्शाबाट खेलाडीहरु मैदानमा प्रवेश गर्न छन्। प्रतियोगितामा १५ विभिन्न विधाका खेलमा संसारभरका २९ सय खेलाडीले भाग लिँदैछन्।

'नेपालको सहभागिता'
यसअघि सुरक्षा चासो, मानवअधिकार र निर्माणकार्यको ढिलाइ सम्बन्धी सन्दर्भहरुले यो खेललाई छायाँमा पारेको थियो। उक्त खेलमा सहभागिता जनाउन नेपालबाट पनि दा छिरि शेर्पा त्यहाँ पुगिसकेका छन्। उनले आगामी १४ तारिखमा हुने ट्राफिक क्रस कन्ट्रि स्कीमा आफ्नो सहभागिता जनाउने छन्। सोची खेलमा क्यानडा, नर्वे र अमेरिकाले सबैभन्दा धेरै पदक जित्ने सम्भावना रहेको बताइएको छ। ब्रिटेनले कम्तीमा तीनवटा पदक पाउने लक्ष्य राखेको छ। सन् १९८० मा मस्कोमा आयोजित खेल बहिष्कार गरिएपछि रुसमा पहिलोपटक यो खेल हुन लागेको हो। 

'रौनक'
अघिल्लोपटक भ्यान्कुभरमा भएको हिउँदे ओलम्पिक्समा ११ औं स्थानमा आएको रुस आफ्नो स्थिति सुधार्ने चर्को दबाबमा छ। यो ओलम्पिक्स खेललाई खलबलाउनका लागि नजिकैको भोल्गोग्राद शहरमा आत्मघाती बम बिस्फोट गराउने लगायत थुप्रै धम्की दिइएको थियो। हालै अमेरिकाले पनि मन्जनको बट्टामार्फत हवाइजहाजबाट बम लगेर बिस्फोट गराउने आतंकवादीहरु योजना रहेकोबारे ध्यानाकर्षण गराएको थियो। रुसका विपक्षी राजनीतिक दल र विश्लेषकहरुले ओलम्पिक्सका निर्माण कार्यहरुमा भ्रष्टाचारका कारण ढिलाई भएको बताएका छन्। लन्डनमा सन् २०१२ मा भएको ग्रीष्मकालीन ओलम्पिक खेल भन्दा सोची खेलका लागि ३ गुणा बढी खर्च लागेको उनीहरुको भनाइ छ। खेल अघि रुसी सरकारले समलिंगीहरु विरुद्ध पूर्वाग्रही निर्णय गरेको भन्दै सोची प्रतियोगिताप्रति विश्वव्यापी चर्चा चलेका थिए। बिहीबार संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पनि सोही मुद्दा सम्बोधन गर्दै समलिंगीहरुविरुद्ध गरिने कुनै पनि पूर्वाग्रह वा हमलाको प्रतिरोध गर्नुपर्ने बताएका थिए।

Powered by Blogger.