टर्कीमा प्रदर्शनकारी विरुद्ध प्रहरी कारवाही
खानी दुर्घटनापछि सरकारको राजीनामा माग गर्दै टर्कीका शहरहरु अंकारा र इस्तानबुलमा विरोध प्रदर्शनमा उत्रेका हजारौं प्रदर्शनकारीहरुमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।
सरकारले सुरक्षा मापदण्डको वेवास्ता गरेको प्रदर्शनकारीले आरोप लगाएका छन्।
पश्चिमी शहर सोमामा भएको एउटा घातक खानी दुर्घटना पछि टर्की सरकार विरुद्ध आक्रोश उत्पन्न भएको छ।
प्रधानमन्त्री रेजेप ताइप एर्दोआनले उक्त क्षेत्र भ्रमण गरेका बेला स्थानीयले उनलाई घेराउ गरेका थिए।
खोजी
मंगलबार भएको विस्फोटनका कारण खानीमा ढिस्को खसेपछि कम्तिमा २७४ जना श्रमिकहरुको ज्यान गएको थियो।
उद्दारकर्ताहरु अझ पनि हराइरहेका श्रमिकहरुको खोजिमा लागिरहेका छन् ।
तर उर्जा मन्त्री तानेर यिलडिजले उक्त खानीमा अझ पनि आगो लागिरहेकाले उद्दारकार्यलाई प्रभावित पारेको बताए।
उद्दार
खानी सन्चालकका अनुसार करिब ४५० कामदारहरुको उद्दार गरिएको छ तर सरकारी अधिकारीहरुले त्यो भन्दा कम संख्या ३६३ जना उद्दार गरेको बताएका छन्।
बुधबार विहानबाट कोही पनि जीवित फेला परेको छैन र अझ पनि सयजना जति हराइरहेका छन्।
स्थानीय मीडियाका अनुसार सोमा शहरमा प्रदर्शनकारीहरुले एर्दोआनको कारलाई धक्का दिएका थिए र प्रधानमन्त्रीले दुर्घटनाबारे गरेको पत्रकार सम्मेलन पछि उनको राजीनामा माग्न शुरु भएको थियो।
उनी कारबाट बाहिर निस्कँदा उनीमाथि आक्रोश पोखिएको थियो।
शरण
धक्काधक्की गर्ने केहिलाई गिरफ्तार गरिएको थियो।
फोटोहरुमा देखाइए अनुसार अंगरक्षकहरुले घेरिएका प्रधानमन्त्रीले एउटा पसलमा शरण लिएका थिए।
प्रदर्शनकारीहरुले त्यो नगरको सत्ताधारी एके पार्टी कार्यालयमाथि पनि आक्रमण गरेका थिए।
राजधानी अंकारामा एउटा विश्वविद्यालयबाट उर्जा मन्त्रालयतर्फ गइरहेका करिब आठसय प्रदर्शनकारीहरुमाथि पानीको फोहोरा प्रहार गरिएको थियो।
इस्तानबुलमा पनि खानी सन्चालक कम्पनी सोमा होल्डिङको कार्यालय बाहिर विरोध प्रदर्शन गरिएका छन्।
प्रधानमन्त्रीले आफ्नो बचाउमा १९ औं शताब्दीमा भएको ब्रीटेनको दुर्घटना सहित विश्वभरका अनेकौं खानी दुर्घटना उल्लेख गरेपछि सामाजिक सन्जालमा उनलाई असंवेदशील भन्दै आलोचना गरिएको छ।
Post a Comment