मोदीको निम्तो शरीफले स्वीकारे
पाकिस्तानी प्रधानमन्त्री शरीफले सोमबार दिल्लीमा हुने भारतीय नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा भाग लिने निर्णय गरेका छन्।
करीब सात दशक अगाडि यी दुई देश स्वतन्त्र भएयता कुनै एक देशको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा भाग लिन गरिएको निम्तो स्वीकार्दै भ्रमण हुन लागेको यो पहिलो पटक हो।
मोदीको दल भारतीय जनता पार्टि र उसका घटकहरुले गत साता निर्वाचनमा विशाल विजय प्राप्त गरेपछि भारतीय नेताले पाकिस्तानका प्रधानमन्त्रीलाई निम्तो पठाएका थिए।
यी दुई देशले गएको साठी वर्षमा तीन पटक लडाईं लडिसके।
विवादास्पद कश्मीर क्षेत्रलाई लिएर दुई बीच तनाव जारी छ।
सन् २००८ मा मुम्बईमा भएको हमला यता दुई देशको सम्बन्ध थप तिक्ततापूर्ण रहंदै आएको छ।
उक्त घटनाका पछाडि पाकिस्तानमा रहेका विद्रोहीहरुको हात रहेको आरोप भारतले लगाउँदै आएको छ।
कठिन
नरेन्द्र मोदीले निम्तो पठाएको चार दिनपछि शनिबार शरीफले त्यसलाई स्वीकार गर्ने निर्णय गरेका हुन्।
तर सो निर्णयमा पुग्न उनलाई सहज भने भएको थिएन।
इस्लामाबादस्थित सम्वाददाता किम घट्टास भन्छिन्, “पाकिस्तानी प्रधानमन्त्रीका निम्ति यो एक कठिन निर्णय थियो। मोदीले मित्रताको हात अघि सारेको जस्तो देखिने गरी पठाएको निम्तो नमान्दा त्यसले दुई देशबीच थप तनाव चर्कन सक्थ्यो। तर मोदी स्वयंलाई उनको कट्टर हिन्दू राष्ट्रवादी अडानका कारण पाकिस्तानमा सतर्कतापूर्वक हेरिन्छ।”
महत्वपूर्ण विषय के पनि हो भने पाकिस्तानको सेना भारतसंगको सम्बन्ध सुधार्ने शरीफका प्रयासप्रति उत्ति उत्सुक छैन।
दिल्ली जाने शरीफको निर्णयले पाकिस्तानको नागरिक सरकार र शक्तिशाली सेनाबीच तनाव बढ्न सक्ने ठानिएको छ।
मोदीको निम्तो मान्दै अधिकांश दक्षिण एशियाली मुलुकहरुले सरकार वा राष्ट्र प्रमुखलाई दिल्ली पठाउने भएका छन्।
नेपालका तर्फबाट प्रधानमन्त्री सुशील कोइराला सोमबार त्यहां जाँदैछन्।
Post a Comment