'यसकारण आम आदमी विफल'
प्रशान्त झा।
दिल्ली विधानसभामा आम आदमी पार्टीले जसरी सफलता पाएको थियो, त्यसपछि अहिलेको लोकसभामा पनि उसले ल्याउने नतिजालाई लिएर सञ्चारमाध्यमले चित्रण गरे अनुसार नतिजा भने आउन सकेन।
उसलाई जन्माएको दिल्लीका सातवटै सीटमा उसले हार व्यहोरेको छ।
पार्टी शीर्ष नेता अरविन्द केजरिवाल, योगेन्द्र यादव र आनन्दकुमारसहित राजनीतिक समितिका शीर्ष नेताहरु हारेका छन्।
यसले उसको राजनीतिक असफलता देखाएको छ।
यसका केही प्रमुख कारणहरु छन्।
जनादेश
पहिलो, आम आदमी पार्टीलाई हामीले अहिलेको राजनीतिक परिप्रेक्ष्यमा हेर्नुपर्छ।
पहिलो चोटि ३० वर्षमा भारतका मतदाताहरुले एउटा पार्टीलाई, अझ एक नेतालाई निर्णायक जनादेश दिएका छन्।
लालु यादव र नीतिशकुमारका स्थापित क्षेत्रीय पार्टीले पनि राम्रो गरेका छैनन्।
एक डेढ वर्षयता देखा परेको पार्टीलाई गाह्रो हुने नै भयो।
यो नरेन्द्र मोदीको चुनाव थियो।
त्यस्तो लहरको चुनावमा आम आदमी जस्तो सानो पार्टीले धेरै राम्रो गर्न गाह्रै हुन्छ।
संगठन
दोस्रो, दिल्लीको विधानसभामा आम आदमी पार्टीले राम्रो गरेको थियो।
विधानसभा र लोकसभामा धेरै फरक हुन्छ।
विधानसभाको निर्वाचन क्षेत्रको आकार करिब दुई लाख मतदाता बराबरको हुन्छ।
जबकि एउटा लोकसभा क्षेत्रको आकार १५ लाख देखि २० लाख मतदाता हाराहारीको हुन्छ।
लोकसभामा सफलता प्राप्त गर्न कुनै पनि राजनीतिक दलसँग संगठन चाहिन्छ।
त्यो आम आदमी पार्टीसँग त्यति थिएन।
विश्वसनीयता
तेस्रो, आम आदमी पार्टीले दिल्लीमा जुन सरकार बनायो, त्यो सरकार उसले ५० दिनभन्दा पनि कम समय चलायो।
उनीहरुले अन्तत: निहु खोजेर राजीनामा दिए।
त्यहाँबाटै उनीहरुको विश्वसनीयता खस्किँदै गयो।
चौथो, आम आदमी पार्टीका ४ सयभन्दा बढी उम्मेद्वारले चुनाव लडे।
त्यस्तो सानो पार्टीले आफ्नो गढ मानिएको दिल्ली, पंजाब, हरियाणामा ३० देखि ५० सिटसम्म लडेको भए हुन्थ्यो।
जुन राज्यहरुमा उनीहरुले राम्रो गर्न सक्थे त्यसमा मात्र सीमित भएर नेतृत्वले त्यहाँ केन्द्रित भएर लड्नुपर्थ्यो।
ती ४ सय सीटमा त्यस्तो सानो पार्टी भारत जस्तो देशमा कसरी लड्ने त्यसमा उनीहरुले ध्यान दिन सक्नुपर्थ्यो।
तर यसो भनिरहँदा उसलाई पूर्णरुपमा असफल भन्न मिल्दैन।
झट्का
एउटा सानो र नयाँ पार्टीको लागि यो चुनाव ठीकै सुरुवात भन्न सकिन्छ।
हामीले के सम्झिनुपर्छ भने मायावतीको बहुजन समाज पार्टीसँग पनि सुरुको बेला दुईटा सीट मात्र थियो।
अहिले २७२ वटाभन्दा बढी सीट जितेको भारतीय जनता पार्टीसँग सन् १९८४ मा २ सीट मात्र थियो।
अन्तिम कुरा के भने, अहिले पनि दिल्लीको लोकसभा चुनावलाई हेर्ने हो भने त्यो सातवटै क्षेत्रमा आम आदमी पार्टी दोस्रो स्थानमा आएको छ र कंग्रेस पार्टी तेस्रो भएको छ।
डिसेम्बरमा भएको विधानसभामा चुनावको तुलानामा आमआदमीको मत बढेको देखिन्छ।
तथापि समग्रमा भन्नुपर्दा यो आम आदमी पार्टीलाई ठूलै झट्का चाहिँ हो।
तर एउटा नयाँ र सानो शक्तिको रुपमा यो पार्टीलाई अहिले पनि नजरअन्दाज गर्न सकिँदैन।
हिन्दीमा एउटा कथन छ, ‘’यह लम्बा रेसका घोडा है।‘’ अर्थात यो लामो दौडको घोडा हो।
आम आदमी पार्टी त्यस्तै हो।
Post a Comment