उद्दारकार्य असम्भव रहेको निश्कर्ष
अफगानिस्तानमा पहिरोमा पुरिएको अशंका गरिएका झन्डै २५ सय मानिसहरुको शवलाई माटो मुनिबाट निकाल्न असम्भव रहेको अधिकारीहरुले बताएका छन्। अफगानिस्तानका दुइमध्ये एक उप राष्ट्रपतिले उक्त क्षेत्रको भ्रमण गरेका छन् र उनले अब अरु शबहरु निकाल्न संभव नरहेको बताएका छन्। मरेकाहरुको स्मृति कार्यक्रम तय गरिएको छ र आइतबारलाई राष्ट्रिय शोक दिन घोषणा गरिएको छ।
चिहानघारी
पहिरोमा परेका कुनै पनि गाउँको संकेत अब देख्न सकिदैँन र ति गाउँहरु धेरै मिटर गहिरो माटोले पुरेको ठानिएको छ।
पहिरोले पुरिएको स्थान अहिले अब बारीक गाउँको आम चिहानघारी बनेको छ।
ज्यान जोगाउन सफल भएकाहरुलाई टेन्ट, खाना, पानी र अन्य सहायताहरु बाँड्ने क्रम सुरु भएको छ।
पहिरो पिडितहरुले शुक्रबार चिसो पहाडी क्षेत्रमा खुल्ला आकाशमुनी कठ्याङग्रिदै रात कटाएका थिए।
घटनास्थल पुगेका बीबीसीका डेविड लोयन भन्छन्, “बाँचेका मानिसहरुले अस्थायी टहरा बनाउने कोशिस गरिरहँदा पहिरोमा पुरिएका गाउँ उजाड र चिन्तित देखिन्छन्।”
शुक्रबार एक दमै ठूलो बर्षा भएपछि सो क्षेत्रमा दुई वटा पहिरोहरु खसेको विश्वास गरिएको छ।
पहाडको एउटा हिस्सा खस्दा सयौं घरहरु पुरिएका थिए भने त्यसपछिको पहिरोमा सहायतामा जुटेका उद्दारकर्मीहरुले ज्यान गुमाएका थिए।
बन्द
शनिबार बेल्चा र खाली हातको प्रयोग गरेर माटोको थुप्रोमा पुरिएका मनिसहरुलाई खोजि गर्ने प्रयास गरिएको थियो ।
तर आफ्नो प्रयास निरर्थक हुने महसुस गर्दै उनीहरुले खोजी कार्य सकिएको घोषणा गरेका थिए।
सो प्रान्तका गभर्नर शाह वालिउल्लाह अदिवले भने, “हामी थप खोजीकार्य अब अघि बढाउन सक्दैनौं किनभने घरहरु कयौं मिटर माटो मुनि पुरिएका छन्।”
जिवितै बाँचेका मानिसहरुका लागि उक्त उपत्यकाको माथिल्लो भागमा झन्डै सय वटा टेन्टहरु खडा गरिएका छन्।
महिला र केटाकेटी पहाडमुनी बसिरहँदा पुरुष सदस्यहरु सहयताका लागि लाम लागेका छन् र बस्ने ठाउँ निर्माण गर्ने कोशिस गरिरहेका छन्।
संयुक्त राष्ट्रसंघले अहिलेसम्म पहिरो प्रभावित क्षेत्रबाट साढे तिन सय शवहरु मात्र निकालिएको जनाएको छ।
पहिरोमा ३ सय ७० घरहरु पुरिएको र ती घरहरुमा करिव २५ सय मानिसहरु बस्ने गरेको जनाइएको छ।
- BBC Nepali
Post a Comment