विश्वका सबैभन्दा पाका दम्पतिले मनाए जन्मदिन
१ सय ९ वर्षका करम चन्द र उनकी श्रीमती १ सय २ वर्षकी कर्तरीको उमेर जोड्दा २ सय ११ वर्ष हुन्छ । श्रीमान श्रीमतीको उमेर जोड्दा यो दम्पती विश्वको सबैभन्दा बढि उमेरको दम्पती हो । भारतीय मूलका बेलायती नागरिक करम र कर्तरीबीच ८८ वर्षअघि सन् १९२५ को डिसेम्बर ११ मा बिहे भएको हो, भारतमा । यो दम्पतीले बिहे गरेकै वर्ष मार्गरेट थ्याचरको जन्म भएको थियो। यो किर्तिमानी जोडीको आयु जसरी जुराइएको रहेछ, उसैगरी यिनीहरुको जन्म पनि एकै महिनामा भएको रहेछ।
दुबैजना नोभेम्बर महिनामा जन्मिएका हुन्। र उनीहरुले आइतबार आफ्नो जन्मदिन साझा रुपमा मनाएका छन् । ब्राडफोर्डमा यो वृद्धजोडीको जन्मदिन समारोहमा उनका परिवारका चौथो पुस्तासम्मका सदस्यहरु भेला भए। कर्तरीका अनुसार ती दीर्घजिवी दम्पतीले सधै स्वस्थ प्राकृतिक खानेकुरा खाने गरेका छन्। दुध, नौनी तथा मोही उनीहरुको निकै मनपर्ने खानेकुरा हो। आफुहरु दुबैजना सँगै दुखसुख गर्दैआएको र परिवारलाई केन्द्रविन्दुमा राखेको उनी बताउँछिन्। उनका आठजना छोराछोरी मध्ये एक छोरा पाउल पनि आफ्ना बुवाआमाको दीर्घजिवनका बारेमा सबैले अनौठो मानेर सोध्ने गरेको बताउँछन्।


Post a Comment