नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गर्दै दिल्लीमा सभा
‘हिन्दू राष्ट्र लाओ, नेपाल बचाओ’ नाराका साथ दिल्लीको धर्नास्थल जन्तरमन्तरमा आयोजित सभामा हिन्दूवादी अगुवाहरुले नेपालीको स्वाभिमान र अभिमानका लागि पनि नेपाल हिन्दू राष्ट्र बन्नुपर्नेमा जोड दिएका छन् ।
बाबा कालीदास, चन्द्र स्वामी तथा नेपालबाट आमन्त्रित सनातन धर्म स्थापना समितिका सदस्य कांग्रेस नेता हरिबोल भट्टराईसहितले सभामा ‘नेपालको जनताको राय र सुझावसमेत नलिइ नेपाललाई जबरजस्ती धर्मनिरपेक्ष बनाउन खोज्नु गम्भीर त्रुटी’ रहेको बताए ।
‘हिन्दू धर्म विश्वकै सभ्यतामा उत्कृष्ट परिचयात्मक धरोहर हो,’ नेता भट्टराईले भने– ‘भइरहेको हिन्दू गौरवशाली पहिचानबाट बिुमख गराउन खोज्दा आज विश्वभरका डेढ अरब हिन्दू धर्मावलम्बीको मन दु:खेको छ ।’
नेपाल हिन्दू राष्ट्र भइराखेमा देशभित्र रहेका अरु धर्मावलम्बीले समेत सुरक्षा र स्वतन्त्रता अनुभव गर्ने धारणा राख्दै भट्टराईले धर्मबारे कहिल्यै बहस नगराई पश्चिमा दुनियाको प्रभावमा जबरजस्ती धर्मनिरपेक्ष लाद्न खोजिएको आरोप लगाए ।
शनिबार आयोजित पत्रकार भेटघाटमा बाबा कालीदासले विदेशी शक्ति, पैसा र तागतको भरमा नेपालमा धर्मनिरपेक्ष व्यवस्था संविधानमा लागु गर्न लागिएको आरोप लगाएका थिए । ‘प्रचण्डले पशुपतिनाथको रितीमा खेल्न चाहे, त्यही भएर उनको प्रधानमन्त्री पद गयो । माधव नेपालले क्रियाकर्म राम्ररी गरेनन्, त्यही भएर उनले बेथिती बेहोर्नुपर्यो,’ कालीबाबाले भने । ‘नेपालमा हिन्दूराष्ट्र हटाएकै कारण भूकम्प र महामारी आएको हो,’ उनले भने ।
जन्तमन्तर सभामा देहरादूनको नेपाली समुदायका अगुवा सुर्यविक्रम शाही, मुम्बइका मास्टर थापा, इन्जिनियर बिष्णुप्रसाद बराल, पत्रकार गोविन्द पोखरेललगायतले बोलेका थिए । ठूलो प्रचार गरेर आयोजना भएको ‘हिन्दू राष्ट्र लाओ’ सभामा झण्डै ३ सय स्थानीय भारतीय नेपाली र साधु सन्यासीको उपस्थिति रहेको थियो ।
Post a Comment