Header Ads

नेपालका रसुवामा बस दुर्घटनामा ३५ जनाको मृत्यु


काठमाण्डू : राजधानीबाट रसुवाको चिलिमेतर्फ गइरहेको बस मंगलबार दिउँसो रसुवाको ग्राङमा दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्। दुर्घटनामा परी घाईते भएका ४० जनाभन्दा बढीको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताइएको छ। दुर्घटना स्थलमा उद्धार कार्य सकिएको र मृतकहरुको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये धेरैको मृत्यु घटनास्थलमै भएको बताइएको छ।

मृतकको संख्या धेरै भएको प्रहरीको भनाई
बस भीरबाट खसेकाले मृतकको संख्या धेरै भएको प्रहरीको भनाई छ। नुवाकोट अस्पताल पठाइएका ५ जनाको उपचारका क्रममा मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहले बताए। बस दुर्घटना लगत्तै सदरमुकाम धुन्चेबाट गएका सुरक्षाकर्मीहरुले उद्धारको काम शुरु गरेका थिए। उद्धार गरिएका घाईतेहरुको रसुवा, नुवाकोट र काठमाण्डूका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। उनले भने, “४० जनाभन्दा बढी घाईतेहरुलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइकामध्ये सदरमुकाम धुन्चेका ७ जनालाई र नुवाकोटको त्रिशुली पठाइएकामध्ये १६ जनालाई हेलिकप्टरबाट काठमाण्डू पठाइएको छ।” दुर्घटनास्थल भन्दा १५ किलोमिटर टाढाको प्रहरीचेक पोष्टमा ४५ जना यात्रु रहेको भनेर टिपाएको उक्त बसको छतमा समेत धेरै मानिसहरु रहेको दुर्घटमा घाइते भएका चन्द्रबहादुर तामाङले बताए।

भार धेरै भएको हो जस्तो लाग्छ
उनले भने, “धेरै छतमा थिए, एकैपटक बस पल्टियो, म ढुङगाको तल परेर बाँचेँ, बस त मेरो माथिबाट तल खस्यो।” धेरै यात्रु भएको र उकालोमा चढने क्रममा उक्त बस भीरबाट खसेको घाईतेहरुको भनाई छ। दुर्घटनाको यकिन कारण पत्ता नलागेको भएपनि बसमा क्षमताभन्दा बढी यात्रु हुनु नै दुर्घटनाको कारण हुन सक्ने प्रमुख जिल्ला अधिकारी गेलालले बताए। उनले भने, “दुर्घटनाको अवस्था हेर्दाखेरि ईन्धनको अभावका कारणले गर्दा नियमित गाडीहरुको कमी छ, उक्त बसको छतमा समेत मानिसहरु भएको भनेर प्रत्यक्षदर्शीहरुले बताए अनुसार भार धेरै भएको हो जस्तो लाग्छ।” यो दुर्घटना उक्त सडकमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो भएको बताइएको छ। केही समय अवरोध रहेको उक्त सडकमा हाल सवारी आवागमन नियमित भएको बनाइएको छ।

- बीबीसी रिपोर्ट 


Powered by Blogger.