Header Ads

इन्धन अभावका कारण बजार अनुगमन ‘प्रभावित’

काठमांडू। चाडपर्वका बेला कालोबजारी झन् बढेको गुनासोमाझ स्वयम् सरकारी अधिकारीहरुले इन्धन अभावका कारण बजार अनुगमन प्रभावकारी ढंगले गर्न नसकिएको स्वीकारेका छन्। इन्धन अभावका कारण बजार अनुगमन फितलो भएसँगै त्यसको प्रत्यक्ष मारमा आफूहरु परेको उपभोक्ताहरुको गुनासो छ। भारतसँगका सीमा नाकामा भएका अवरोधका कारण इन्धन आपूर्तिमा देखिएको समस्या र त्योसँगै ढुवानी सेवा महंगो भएपछि बजार भाउ बढेको व्यापारीहरु बताउँछन्। बजार अनुगमन गर्ने निकाय वाणिज्य मन्त्रालयले भने बजारको स्थिति सोचेजस्तै भयावह नभएको भन्दै दशैं र तिहारका बीचमा कालोबजारी गर्ने झण्डै दुई दर्जन व्यापारीहरुलाई पक्राउ गरिसकिको बताएको छ।

अनुगमन चुस्त हुन नसकेको
यद्यपि बजार अनुगमन चुस्त हुन नसकेको वाणिज्य विभाग अनुगमन शाखाका प्रमुख हरिनारायण बेलबासेले स्वीकारे। उनले भने, “विगतमा हामी जसरी आक्रामक रुपमा अनुगमन गर्थ्यौं, अहिले व्यापारीहरुले पनि व्यापक रुपमा समस्या भोगेको हुँदा गम्भीर प्रकृतिको मुद्दा नहुञ्जेलसम्म कारवाही गरिहाल्ने स्थितिमा हामी छैनौँ।” यतिनै बेला कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी सामान सञ्चय गरेको र व्यापारीहरुले बढी नाफा खानका लागि कृत्रिम अभाव सृर्जना गर्दै महंगो मूल्यमा सामान विक्री गरिरहेको गुनासो उपभोक्ताको हक हितमा काम गरिरहेको एक संस्था राष्ट्रिय उपभोक्ता मञ्चले बताएको छ। बजारमा सरकारको उपस्थिति छैन्, बजार यति अराजक ढंगले अगाडि बढेको छ कि उपभोक्तालाई जताततैबाट ठगिने बाहेक केही भएको छैन्।  प्रेमलाल महर्जन, अध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्च मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निकै सजग हुनुपर्ने बेला सरकार भने प्रभावहीन बन्न पुगेको बताए।

यति अराजक ढंगले अगाडि बढेको बजार
उनी भन्छन्, “बजारमा सरकारको उपस्थिति छैन्, बजार यति अराजक ढंगले अगाडि बढेको छ कि उपभोक्तालाई जताततैबाट ठगिने बाहेक केही भएको छैन्।” उपभोक्ता मञ्चका अनुसार मिठाई र मसलाजन्य सामाग्री बढी विक्री हुने यो समयमा ती वस्तुहरुमा हुने कालो बजारीप्रति ध्यान जानुपर्नेमा तेल चामल जस्ता आधारभूत आवश्यकताका सामान पूर्ति गर्नेतर्फ नै ध्यान केन्द्रित रहेको छ। उनी थप्छन्, “आमउपभोक्ता बढी मूल्य तिर्न मात्र बाध्य भएका छैनन्, म्याद नाघेका सामान, तथा मूल्य सूची नराखिएका सामान समेत किन्नुपर्ने बाध्यता छ।”
Powered by Blogger.