Header Ads

कन्दाहर आक्रमणमा कम्तीमा ४६ को मृत्यु

कन्दाहर: अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहारस्थित एउटा विमानस्थलमा भएको तालेवान हमलामा महिला तथा बालबालिकाहरु सहित ३७ जना गैरसैनिकहरुको ज्यान गएको अधिकारीहरुले बताएका छन्। नौजना हमलाकारीको पनि मृत्यु भएको बताइएको छ। रक्षा मन्त्रालयका अनुसार मंगलबार रातीदेखि शुरु भएको र बीस घण्टाभन्दा बढी समयसम्म चलेको उक्त हमलामा अन्य तीसजना भन्दा बढी घाइते भएका छन्। कन्दाहारमा रहेको उक्त विमानस्थल परिसरमा नेटो र अफगान सेनाको संयुक्त सैनिक मुख्यालय पनि रहेको छ।

तालेवान
अधिकारीहरुका अनुसार ठूलो मात्रामा हातहतियार बोकेका तालेवान लडाकुहरु मंगलबार बेलुकी उक्त कडा सुरक्षा व्यवस्था भएको विमानस्थल परिसरमा प्रवेश गरेका थिए। अरु तालेवान लडाकुहरुले नजीकैको एउटा विद्यालय भवनलाई कब्जामा लिएर त्यहांबाट पनि विमानस्थल क्षेत्रमा भैरहेको आक्रमणलाई सघाउ पुग्ने गरी हमला गरेका थिए। नजीकैको सैनिक अस्पतालका एकजना चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा बीबीसीसंग कुरा गर्दै त्यहां ४१ वटा शव ल्याइएको र ती मध्ये चारवटा सैनिकहरुको शव भएको बताए। सम्वाददाताहरु भन्छन्, उक्त हमला त्यहां सुरक्षा व्यवस्थाको ठूलो कमजोरीको उदाहरण हो किनकि अफगान राष्ट्रिय सुरक्षा सैन्यले कडा सुरक्षा प्रदान गर्नु पर्ने स्थानमा हमलाकारीहरु ठूलो मात्रामा हतियारहरु सहित प्रवेश गर्न सफल भएका थिए। तालेवानले, उनीहरुकै शब्दमा, ‘शहीद हुन लालायित’ लडाकुहरुले कसैलाई सुईंको सम्म नदिइ उक्त हवाइस्थलमा प्रवेश गरी तुफानी हमला गरेका बताएका छन्।

उग्रवाद
तालेवानले जारी गरेको वक्तव्यमा आफूहरुले असी जना सैनिकहरुलाई मारीदिएको दावी गरेका छन्, जुन संख्या स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन। कन्दहारस्थित सैनिक कमाण्डरले पत्रकारहरुसंग कुरा गर्दै ती हमलाकारीहरु मध्ये केहीले उर्दु भाषामा कुराकानी गरेका बताएका छन्, जुन अफगानिस्तानमा भन्दा छिमेकको पाकिस्तानमा बढी बोलिने भाषा हो। अफगान अधिकारीहरुले आफ्नो देशमा भएको असन्तोषका लागि बेलाबखत पाकिस्तानलाई दोष दिने गर्दछन्। कन्दाहार विमानस्थलका निर्देशक अहमदुल्लाह फैजीले एएफपी समाचार संस्थासंग कुरा गर्दै त्यहां भारत तर्फको व्यापारिक उडानका लागि आएका केही यात्रुहरु विमानस्थलको मुख्य टर्मीनल भवनमा फसेका बताएका छन्। अफगान राष्ट्रपति अशरफ गनी तालेवानसंगको शान्तिवार्ताका बारे छलफल हुने अनुमान गरिएको र पाकिस्तान, भारत र अमेरिका सहभागी एउटा क्षेत्रीय सम्मेलनमा भाग लिन पाकिस्तान गएका बेला उक्त हमला गरिएको हो। गत वर्ष नेटो र अमेरिकी सैन्यहरु मध्ये धेरै जसो स्वदेश फर्कीसकेपछि अफगानिस्तानमा उग्रवादी हिंसामा वृद्धि भएको देखिएको छ।

- बीबीसी रिपोर्ट

Powered by Blogger.