Header Ads

कालेबुङमा जापले पालन गर्‍यो स्व मदन तामाङको पुण्यतिथी


डी.के.वाइबा
कालेबुङ, 21 मई।
राजनीतिमा नयाँ संस्कार सुरु गर्ने जन आन्दोलन पार्टीले गोर्खालिग अध्यक्ष स्व. मदन तामाङको पुण्यतिथी पालन गरेको छ। यहाँको थाना डाँडा स्थित त्रिकोण पार्कमा जन आन्दोलन पार्टीले स्व. मदन तामाङको छैटौँ पुण्यतीथि पालन गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो। यहाँको थानाडाँडास्थित त्रिकोण पार्कमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दै जाप केन्दिय नेतृत्व एवं कार्यकर्ताहरूले स्व. तामङको तस्वीरअघि दीप प्रज्ज्वल अनि खदा अर्पण गर्दै स्व. तामाङलाई स्मरण गरेका थिए।

दार्जीलिङ पहाडको चर्चित मदन तामाङ हत्याकाण्ड सन् 2010, 21 मईका दिन घटेको थियो। त्यसदिन दार्जीलिङको क्लबसाइडमा जनसभाको तयारी भइरहेको समय दिउँसै तामाङको हत्या गरिएको थियो। उक्त राजनैतिक हत्याको मामिला सीबीआईले छानबीन गरेर न्यायालयमा विचाराधिन अवस्थामा रहेको भएपनि अहिलेसम्म हत्याकाण्डको छिनाफाना हुन सकेको छैन। यसैले एकजना कुशल राजनीतिज्ञको रूपमा स्व. तामाङलाई स्मरण गर्दै जापले तामाङ हत्याकाण्डका दोषीहरूले सजाय पाउनुपर्ने माग गरेको छ। श्रद्धाञ्जली कार्यक्रममा सहभागि बनेका जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै स्व. तामाङले न्याय पाउनुपर्ने बताएका थिए। तामाङ हत्याकाण्ड प्रकरणमा 31 जनामाथि अभियोग लागेको थियो। जसमध्ये एक डा. छेत्री पनि रहेको सन्दर्भमा उनलाई प्रश्न गर्दा उनले यो विचाराधिन मुद्दा रहेको कारण टिप्पणी गर्न नमिल्ने बताए।

‘यो विचाराधिन मुद्दा रहेकोले टिप्पणी गर्न मिल्दैन। तर स्व. तामाङले न्याय पाउनुपर्छ। जसले अन्याय गरेको छ त्यसमाथि कार्यवाही हुनुपर्छ। जतिबेला मलाई सीबीआईले बोलाएको थियो त्यसबेला पनि मैले दोषीले सजाय पाउनैपर्छ भनेको थिएँ’-डा. छेत्रीले भने। सन् 2007 मा आफू दिल्लीमा छँदा लोहापुलमा भएको एउटा झमेलामा समेत आफ्नो नाम आएको उदहारण दिँदै छेत्रीले राजनीतिमा उठ्ने सबै नामहरू दोषी नहुने बताए। ‘मेरो विरूद्ध दर्ता भएको चार्जसिट् पक्का गवाहीको आधारमा छैन। जतिबेला ट्रायल चल्छ त्यहीबेला थाहा पाउँछौँ तर दोषीले सजाय पाउनैपर्छ’-डा.छेत्रीले भने।

आजको श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा छेत्रीले स्व. तामाङलाई एकजना कुशल राजनीतिज्ञको रूपमा व्याखा गर्दै स्व. तामाङले शुरू गरेको राजनैतिक संस्कारलाई लिएर हिँड्नुपर्ने आह्वान गरे। ‘स्व. तामाङलाई हामीले स्मरण गर्न जरूरी छ। उनले शुरू गरेको राजनैतिक संस्कारलाई लिएर हिँड्नु हाम्रो जिम्मेवारी हो। यदि हामीले स्व. तामाङलाई स्मरण गरेनौँ भने हाम्रो इतिहास देशलाई देखाउनलायक हुँदैन’--डा. छेत्रीले भने।

जुनप्रकारले स्व. तामाङको बर्बरतापूर्वक हत्या गरियो त्यसको कारण स्व. तामाङको तस्वीरमा खदा चडाउँदैमा तामाङलाई श्रद्धाञ्जली नपुग्ने डा. छेत्रीको धारणा छ। स्व. तामाङले दार्जीलिङको निम्ति देखेको सपना पूरा गरेमात्र उनलाई साँचो श्रद्धाञ्जली पुग्ने छेत्रीले बताए। आफ्ना कार्यकर्ताहरूलाई सम्बोधन गर्दै डा. छेत्रीले स्व. तामाङलाई एक कुशल राजनीतिज्ञ, साहसी नेता, परिश्रमि व्यक्ति, कुशल ठेकादार, उद्भित विशेषज्ञ एवं दर्शन भएका व्यक्तित्वका रूपमा व्याख्या गरेका थिए।

स्मरण गराइन्छ, आजकै दिन 2010 मा स्व. तामाङको हत्या दार्जीलिङको क्लबसाइडमा भएको थियो। तामाङ हत्याकाण्ड प्रकरणमा 30 जनामाथि अभियोग लागेको थियो। जसमध्ये गोजमुमो अध्यक्ष विमल गरूङ, महासचिव रोशन गिरी, डा. हर्कबहादुर छेत्री विमल गुरूङ जस्ता प्रभावशाली नेताहरूको नाम जोडिएको छ। यस मामिलाका अभियुक्तहरूमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने पुलिस हिरासतबाटै फरार भएका मुख्य अभियुक्त निकोल तामाङ आजसम्म पनि निखोज छन्। यस मामिलामा सीबीआईले चार्जसीट दर्ता गरिसकको छ अनि हाल उच्च न्यायालयमा विचाराधिन अवस्थामा रहेको छ।

Source : kalimpong news.
Powered by Blogger.