Header Ads

गोरखाल्याण्ड मुद्दा माथि गृहमंत्री राजनाथ सिंह संग गोर्खा नेताहरुको आजको वार्ता को कंप्लीट रिपोर्ट



रूपेश शर्मा
नयाँ दिल्ली : दिल्ली 50 मिनटको वार्ताले अहिलेलाई केवल आ-आफ्ना कुरा सुन्ने र सुनाउने माहौल मात्र बनाएको जानकारी पाइएको छ। बैठकमा सहभागी सूत्रले यद्यपि यसलाई "निराशजनक स्थिति' भन्न अस्वीकार गरेको छ।गृहमन्त्रीसँग आजको वार्ताले भावी वार्ताका लागि माहौल बनाउने काम गर्छ भन्ने विश्वास टोलीले लिएको बताइएको छ।

१. वार्ता ढिलोगरी 6.20 मा शुरु भयो र यो 50 मिनटसम्म जारी रह्यो।

२. वार्तामा जीएमसीसीका सदस्यहरूले पहाड़को वर्तमान स्थिति, राज्य सरकारको दमननीति र सबै अन्यायपूर्ण कार्यको जिकिर गरे, त्यसपछि बन्दले 60 दिन टेकेको अनि अनशनले पनि 24 दिन पूरा गर्दा पनि केन्द्र चुपचाप बसेकोले केन्द्रको हस्तक्षेपको माग नेताहरूले गरे।

३. पहाड-तराई-डुवर्समा जनतालाई आतंकित माहौलमा बस्न परिरहेको स्थितिबारे गृहमन्त्रीलाई अवगत गराइएको छ।

४. जनताका न्यायपूर्ण मागलाई ध्यानमा राखेर केन्द्रले तत्काल हस्तक्षेप गरी गोर्खाल्याण्ड राज्य निर्माणको लागि पहल गर्नुपर्ने टोलीले गृहमन्त्रीसँग आग्रहसहितको माग राख्यो।

५. केन्द्र सरकार संघीय ढाँचागत व्यवस्थालाई मान्नपर्ने कानुनी प्रावधानमा बाँधिएको हुनाले राज्य सरकारलाई बाइपास गरेर केही गर्न नसक्ने आशयको मन्तव्य गृहमन्त्रीले गरेको स्रोतको भनाइ छ।

६. गृहमन्त्रीले बन्द उठाउन, अनशनकारीहरूको अनशन उठाएर उनीहरूको ज्यान बचाउन अनि राज्य सरकारसँगै वार्ता गरेर समस्याको समाधानतर्फ अघि बढ़्न जीएमसीसीका नेताहरूलाई सुझाए।

७. जीएमसीसीका नेताहरूले राज्य सरकारसँग बात गर्न सकिने स्थिति नरहेको र गोर्खाल्याण्डको मुद्दामा राज्य सरकार बात गर्न सहमत पनि नभएकोले केन्द्रले हस्तक्षेप गर्नुपर्ने माग राखे। गृहमन्त्रीले मुख्यमन्त्री ममता ब्यानर्जी वा राज्य सरकारसँग बसेर बात गरी समस्याको हल निकाल्नमा बढ़ी जोड़ दिएको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

८. जीएमसीसीका नेताहरूले राज्यसँगै बात गर्ने हो भने पनि केन्द्र सरकारका प्रतिनिधिको उपस्थितिमा मात्र बार्ता सम्भव हुन्छ भन्ने निष्कर्ष सुनाए। झण्डै 50 मिनट एक-अर्काका तर्क र सुझाउहरूपछि वार्ता टुंगिएको छ।

९. वार्ता अनिर्णित भएर टुंगिएको छ। बन्द उठाउने, अनशनकारीहरूको भोक हड़ताल फिर्ता लिने र राज्य सरकारसँग वार्ता गर्न गृहमन्त्रीले राखेको आग्रहमा जीएमसीसीका नेताहरूले कुनै आश्वासन दिएनन् भने केन्द्रले गोर्खाल्याण्डको निम्ति पहल गर्नुपर्छ भन्ने मागप्रति राजनाथ सिंहले कुनै आश्वासन र भरोसा दिएनन् बरू उनले संघीय ढाँचाले बाँधिएको तर्क दिँदै राज्य सरकारसँगै वार्ता गर्न सुझाए। तर बैठकमा सहभागी एक नेताले संवादहीनताको यो अवस्थामा कमसेकम वार्ताको प्रक्रिया खुलेको भन्दै त्यसप्रति सन्तोष प्रकट गरे।

for more updates join AJNews
Powered by Blogger.