असमको अभिनव आत्रेयलाई २५ हजार अमेरिकी डलरको प्रतिष्ठित वेन्नर–ग्रेन अनुसन्धान अनुदान
दार्जिलिङ - सिलिगुडी- डुवर्स क्षेत्रमा १८ महिना अनुसन्धान गर्ने; उपलब्धिले गोर्खा जाति गौरवान्वित
गुवाहाटी, असम: भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष अधिवक्ता नित्यानन्द उपाध्याय तथा असम नेपाली साहित्य सभाकी कार्यकारी अध्यक्ष डा. इन्दु प्रभा देवीका सुपुत्र श्री अभिनव आत्रेयलाई प्रतिष्ठित Wenner-Gren Foundation Dissertation Fieldwork Grant प्रदान गरिएको छ। अशोका विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र विभागमा विद्यावारिधि (पीएचडी) गरिरहेका शोधार्थी आत्रेयले यस अनुदानमार्फत आफ्नो अनुसन्धानलाई अगाडि बढाउने अवसर प्राप्त गर्नुभएको छ।
अशोका विश्वविद्यालयको अनुसन्धान तथा विकास कार्यालयले सार्वजनिक गरेको बधाई सन्देशअनुसार, श्री आत्रेयलाई मानवशास्त्रीय अनुसन्धानका लागि प्रदान गरिएको उक्त अनुदानको राशि २५ हजार अमेरिकी डलर (USD 25,000) रहेको छ, जुन उपलब्ध गराइएको विनिमय दरअनुसार भारतीय मुद्रामा करिब रु. २३ लाख ७५ हजार (₹२३.७५ लाख) हुन्छ।
यस अनुदानबाट उहाँले दार्जिलिङ–सिलिगुडी–डुवर्स क्षेत्रमा १८ महिनासम्म क्षेत्रीय अनुसन्धान (Fieldwork) गर्नुहुनेछ। उहाँको अनुसन्धान परियोजनाको शीर्षक “Stone, Paper, Tea: Memory Materialities, Belonging and Labored Endurance in the Eastern Himalayan Borderlands” रहेको छ।
नेपालीमा यसलाई “ढुङ्गा, कागज र चिया: पूर्वी हिमालयका सीमावर्ती क्षेत्रहरूमा स्मृतिका भौतिक स्वरूप, अपनत्व र श्रमसाध्य सङ्घर्ष” भनेर भावानुवाद गर्न सकिन्छ।
यस अनुसन्धानले पूर्वी हिमालयका सीमावर्ती क्षेत्रहरूमा स्मृति, भौतिक संस्कृति, पहिचान, अपनत्व तथा श्रमसँग सम्बन्धित अनुभव र सामाजिक यथार्थको अध्ययन गर्ने विषयवस्तु समेटेको छ। दार्जिलिङ, सिलिगुडी र डुवर्स क्षेत्र ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण भएकाले यस अनुसन्धानले त्यस क्षेत्रका समुदाय र तिनका जीवनानुभवबारे थप शैक्षिक विमर्शमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
वेन्नर–ग्रेन फाउन्डेसन फर एन्थ्रोपोलोजिकल रिसर्च मानवशास्त्रीय अनुसन्धानलाई सहयोग पुर्याउने प्रतिष्ठित संस्थाका रूपमा परिचित छ। यस फाउन्डेसनबाट प्राप्त अनुदान श्री आत्रेयको शैक्षिक तथा अनुसन्धान यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ।
श्री अभिनव आत्रेयको यस उपलब्धिप्रति हर्ष व्यक्त गर्दै भारतीय गोर्खा परिसंघ परिवारले उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। उहाँको सफलता परिवारका साथै समग्र गोर्खा समुदायका लागि गौरवको विषय भएको परिसंघ परिवारले जनाएको छ।
भारतीय गोर्खा परिसंघ परिवारका तर्फबाट राष्ट्रिय मूल सचिव (प्रशासन) नन्द किराती देवानले अभिनव आत्रेयलाई बधाई ज्ञापन गर्दै उहाँको अनुसन्धान यात्रा सफल रहोस् तथा उहाँका अध्ययन र अनुसन्धानले मानवशास्त्रको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सकोस् भन्ने कामना गर्नुभएको छ। परिसंघ परिवारले श्री आत्रेयले आगामी दिनमा पनि शैक्षिक तथा अनुसन्धानका क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्दै समाज र ज्ञानको क्षेत्रमा सार्थक योगदान पुर्याउनुहुने विश्वास व्यक्त गरेको छ।

Post a Comment