चौरास्ता दुर्गा पूजा प्राङ्गणमा गोरामुमो अध्यक्ष मन घिसिङद्वारा पूजा-अर्चना
दार्जीलिङ : गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङले ऐतिहासिक तथा प्रसिद्ध चौरास्तास्थित दुर्गा पूजा प्राङ्गणमा उपस्थित भई जगज्जननी माता दुर्गा भवानीको भक्तिभावका साथ दर्शन तथा पूजा-अर्चना गर्नुभयो। पूजा कमिटीको निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै पूजा प्राङ्गणमा पुग्नुभएका अध्यक्ष घिसिङले माता दुर्गाको पवित्र चरणमा शीश नमन गर्दै समस्त गोर्खा समाजको सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गर्नुभयो।
यस अवसरमा अध्यक्ष घिसिङको गरिमामय उपस्थितिले पूजा प्राङ्गणमा उत्साह र आत्मीयताको वातावरण सिर्जना गरेको थियो। पूजा-अर्चनापछि उहाँले पूजा कमिटीका पदाधिकारीहरू, स्थानीय अग्रजहरू तथा उपस्थित जनसाधारणसँग आत्मीयतापूर्वक भेटघाट गर्दै कुशल-मङ्गलको जानकारी लिनुभयो। उहाँको सरल व्यवहार, आत्मीयता तथा सबैप्रतिको आदरभावले उपस्थित व्यक्तिहरूमाझ सौहार्दपूर्ण वातावरण थप सुदृढ बनेको थियो। यस अवसरमा माता दुर्गा भवानीको आशीर्वादले समाजमा आपसी सद्भाव, एकता, भ्रातृत्व र शान्ति कायम रहनुका साथै सम्पूर्ण गोर्खा समाजको उज्ज्वल भविष्य तथा समृद्धिको मार्ग प्रशस्त होस् भन्ने कामना व्यक्त गरिएको छ।

Post a Comment