Header Ads

बेल्जियममा सुरक्षा कारवाहीमा १६ जना गिरफ्तार

बेल्जियमका संघीय अभियोजनकर्ताले भनेका छन्, ब्रसेल्समा प्रतिआतंकवादसम्बन्धी कारवाहीका क्रममा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा प्यारिस आक्रमणका संदिग्ध सलाह अब्देसलाम चाहिँ नरेहको अभियोजनकर्ताले बताएका छन। उनका अनुसार कारवाहीका क्रममा हातहतियार वा विष्फोट पदार्थ फेला पारिएको छैन। अभियोजनकर्ता फ्रेडरिक डे लेयुले भने, "न वस्तुहरु फेला पारिएको विषयमा थप केही बताउन सकिन्छ न त पक्राउ गरिएका व्यक्तिहरुको पहिचान खुलाउन, अहिलेसम्म हातहतियार वा विष्फोटक पदार्थ फेला पारिएको छैन, खोजीका क्रममा पक्राउ परेकामा सलाह अब्दसलाम छैनन्।" 

सतर्कता 
प्रधानमन्त्री शार्ल मिशेलले आतंकवादसम्बन्धी खतरालाई लिएर ब्रसेल्समा उच्च सुरक्षा सतर्कता अपनाइने बताएका छन्। उनले ब्रसेल्समा विद्यालय, विश्वविद्यालय र मेट्रो सेवा सोमबार बन्द रहने जनाए। प्यारिस आक्रमणका संदिग्ध सलाह अब्देसलामको खोजी गर्ने क्रममा सप्ताहन्तभरि ब्रसेल्समा बन्दको जस्तै अवस्था रह्यो। सुरक्षा फौजले आइतबार राति ब्रसेल्समा थुप्रै कारवाहीहरु पूरा गरेको समाचार संस्था एएफपीले जनाएको छ। प्रहरीले आफ्नो कारवाहीबारे सामाजिक सञ्जालमा जानकारी नराख्न मानिसहरुलाई आग्रह गरेको थियो।

आत्मघाती
यसैबीच फ्रान्सेली प्रहरीले तस्वीर सार्वजनिक गरेको प्यारिसमा आत्मघाती विष्फोट गराउने व्यक्ति अहमद अल-महमुद नाममा ग्रीस पुगेको बताइएको छ। ती व्यक्ति अक्टोबर ३ तारिखमा ग्रीसको लीरोस्स टापु पुगेका थिए। उनी सिरियाली शरणार्थीहरुको एउटा समूहसँगै त्यहाँ पुगेका थिए। फ्रान्सेली प्रहरीले ती व्यक्तिबारे थप जानकारी माग गरेको छ। प्रहरीका अनुसार नोभेम्बर ३ तारिखमा फ्रान्सको एउटा रंगशालामा आत्मघाती विष्फोट गराउने उनी तेस्रो आक्रमणकारी थिए।

Powered by Blogger.