नेपाली विद्यार्थीलाई २ लाखभन्दा धेरैको नगद पाकिस्तानी पुरस्कार
काठमाडौं। नेपालका लागि पाकिस्तानी राजदूतावासले विभिन्न प्रतियोगिताको आयोजना गरी विद्यार्थीलाई रू. २ लाखभन्दा धेरैको नगद प्रोत्साहन वितरण गरेको छ। दूतावासले मङ्गलवार काठमाडौंमा आयोजना गरेको एक औपचारिक कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले विद्यार्थीलाई सो परिमाणको नगद वितरण गरेका हुन्। दूतावासले केही दिनअघि मात्र १० जोड २ का विद्यार्थीबीचमा ‘पाँचौं पाकिस्तानी राजदूत निबन्ध प्रतियोगिता र पहिलो वक्तृत्वकला प्रतियोगिता’ सञ्चालन गरेको थियो। प्रतियोगितामा २ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा दुवै प्रतियोगिताको पहिलो विजेताले स्वर्ण पदक, प्रमाणपत्रसहित नगद रू. ३५ हजार, दोस्रोलाई रजत पदक, प्रमाणपत्रसहित ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई कांस्यपदक, प्रमाणपत्रसहित नगद रू. २५ हजार प्राप्त गरेका छन्। त्यसबाहेक निबन्ध प्रतियोगितामा सहभागीमध्येका उत्कृष्ट १० विद्यार्थी प्रत्येकले प्रमाणपत्र र नगद रू. ५ हजार, पहिलो वक्तृत्वकला प्रतियोगिताको सान्त्वना पुरस्कार पाउनेले पनि नगद रू. १५ हजार र प्रमाणपत्र तथा सहभागीमध्येका उत्कृष्ट अन्य १२ विद्यार्थी प्रत्येकले नगद रू. ५ हजार र प्रमाणपत्र प्रोत्साहनस्वरूप प्राप्त गरेका छन्।
Post a Comment